मास्टर र नेता उस्तै हुन् त ?

  प्रकाशित मिति
५ श्रावण २०७४, बिहीबार १४:५६


Untitled-1

दैलेख चामुन्डा वृन्दासिनी नगरपालिकाकी तुलसा शाहले मास्टर पनि उस्तै हुन्, नेता पनि उस्तै हुन् भन्छिन् ।गुरुपूर्णिमाका दिन बेलुका आठ बजे प्रशारण भएको नेपाल दर्पणमा दैलेख चामुन्डा वृन्दासिनी नगरपालिका वडा नं–६ मा बस्ने वर्ष १९ की तुलसा शाहीको त्यही ठाउँमा रहेको छाउगोठमा सर्पले टोकेर मृत्यु भयो भन्ने समाचार प्रसारण भयो । त्यसको पीडामा तुलसा शाहीले आफू केही नजान्ने, छोराछोरी स्कुल पठाएको तर मास्टर अर्थात् शिक्षकले केही नसिकाएको र समाज बदल्ने भूमिकामा रहेका नेताले समेत केही परिवर्तन नगरेको आक्रोश व्यक्त गरिन् । जसका कारण आजका मितिसम्म पनि महिनावारी हुँदा घर छोड्नु पर्ने बाध्यता आधा आकाश ओगटेका महिलामाथि थोपरिएको छ । महिला आज पनि सर्पको डसाईबाट मृत्युवरण गर्न बाध्य छन् । केहीको जङ्गली जनावरको आक्रमणमा मृत्यु हुने गरेको छ ।

कतिपय स्थानमा शिक्षकलाई मास्टर भन्ने गरिन्छ । शिक्षक अथवा मास्टर या गुरु जे नाम दिए पनि यी पात्रहरुले ज्ञान दिने नै हुन् । यो पात्रले नेतालाई पनि ज्ञान दिने नै हो । किन चुक्यो यो पात्र ? आचार्य चाणक्यले अखण्ड भारतका लागि चन्द्रगुप्तलाई दिक्षित गराए । चाणक्य नै नीति अनुरुप चन्द्रगुप्त लगायतका प्रयासबाट सिकन्दर भारत छोड्नका लागि बाध्य भयो । नेपालमा राणा शासनको अन्त्यका लागि शुक्रराज शास्त्री लगायतले भूमिका खेले । तर, आज त्यही मास्टर अर्थात गुरु किन नेताका पछि यसरी लुरुलुरु हिँडेको छ कि लाग्दछ नेता मार्गदर्शक हो र गुरु चाहिँ आज्ञापालक ।
शिक्षक अर्थात् नेताको गुण उस्तै हुन सक्दैन । तर, पनि उन्नत समाज निर्माणका लागि भने यी दुवै पात्र एक अर्काका लागि परिपूरक हुन सक्ने भए पनि हाम्रो समाजमा यी दुवै पात्रलाई विश्वास गर्न सकिने अवस्था रहेन । यो आलेखको उद्देश्य कुनै पात्रको पात्रताको खिल्ली उडाउने हुँदै होइन, अपितु देखिएका कमी कमजोरीको उजागर गर्न सकियोस् र सामाजिक आन्दोलनमार्फत् सार्थक परिणामतिर जोड्न सकियोस् भन्ने मात्र हो ।

शिक्षकलाई नेतासँग जोडेकोमा गर्व र पीडाबोध दुवै भएको हुन सक्ला । जो शिक्षक आफ्नो पेशागत धर्म निर्वाह गरेका छन्, तिनका लागि पीडाबोध भएकै हुनु पर्दछ । किनकि आफू नियमित रुपमा सक्रिय भएपनि न त शिक्षा नै गुणस्तरको भएको छ न त समाज नै रुपान्तरणको दिशामा उन्मुख छ । यी शिक्षक अपवादका रुपमा रहेका छन् । जसलाई यस्ता समाचारले झनै पीडा थपेको हुनुपर्दछ । केही आन्तरिक तथा बाह्य वातावरणमा जकडिएर यी शिक्षकहरु पाठ्यपुस्तकवाट बाहिर निस्कन सकेका छैनन्, अर्थात समाज रुपान्तरका लागि उनीहरुको योगदान समेत सम्झन नसकेको परिस्थिति छ ।
नेताका आडमा रहेका शिक्षकहरुको ध्यान शिक्षण भन्दा पनि कसरी सुविधा लिने भन्ने मात्र छ । नेता र दलै पिच्छेका शिक्षक सङ्गठनका आडमा जागिर टिकाउने पहिलो प्राथमिकता छ भने अध्यापन गर्ने, खोज अनुसन्धान र सामाजिक योगदान त दोस्रो तेस्रोमा शिक्षा नियमावलीलाई समेत धज्जी उडाउँदै दलकै कार्यकर्ताको रुपमा प्रस्तुत हुनु यस्ता शिक्षकहरुका लागि अति सामान्य भइसकेको छ । स्थानीय निर्वाचनमा उम्मेद्वारको प्रचार प्रसारमा ५ फिट लामो झन्डा मोटरसाइकलमा बाँधेर हिँडेको पनि देखियो । मतदान अधिकृतको भूमिका निर्वाह गरेको शिक्षक मतदान सक्ने बित्तिकै दलकै अभिन्न अङ्गको रुपमा अभिव्यक्ति दिएको पनि प्रशस्तै देखियो । यी र यस्ता क्रियाकलापहरुले आम मानिसमा कस्तो प्रभाव पार्दछ भन्ने हेक्का राख्नु पर्ने थियो तर हुन सकेन । कतै यिनै व्यावहारिक अभिव्यक्तिका कारण नेतासँग जोडिएको त हैन शिक्षकलाई ? विमर्श आवश्यक भइसकेको लाग्दछ । सिङ्गो समाजलाई ज्ञानले प्रज्वलित गर्ने क्षमता बोकेको शिक्षकको भूमिका साँघुरिएको छ । गुरु पुर्णिमाका दिन शिक्षक तथा गुरुहरुका लागि एकातिर शिष्यहरु कामना गरिरहेका थिए साँझमा समाचार नेता र शिक्षक उस्तै हुन् भन्ने प्रशारित हुँदै थियो । आफ्ना विरुद्धका आवाजहरु पृष्ठपोषण हुनु विरोध होइन । यो कटाक्ष हैन पीडाको अभिव्यक्ति हो । हुन त शिक्षक मात्र हैन उच्च पदस्थ कर्मचारीहरु समेत यस्तै चरित्रका देखिए । मुख्य सचिव जस्तो महत्वपूर्ण ओहोदामा बसेको व्यक्ति राजीनामा नै नदिई आइएनजीओमा जागिर खान जाने समाचारहरु आए तर आखिर समुदायका लागि शिक्षक मुख्य सचिव भन्दा पनि माथि नै हुन्छ ।

शिक्षकसँगै जोडिएको नेताको भूमिका कस्तो रहेको छ विगत चर्चा गर्नु परेन, सबैका सामु छर्लङ्ग छ । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भाग लिइरहँदा नागरिकलाई स्मार्ट सिटी, रिङ्गरोड, सपिङ कम्प्लेक्स जस्ता पूर्वाधकार निर्माण गर्ने वाचा गरेका छन् । राजधानीका सडकमा भएका खाल्डोको बयान गर्नै परेन । तलबाट पिच गर्दै माथि पुग्दा तलको पिच किन भत्किएको हो भन्ने प्रश्न नै निर्वाचित प्रतिनिधिले राख्न थालेका छन् । गत साल जेठ १५ मा बजेट आए पनि यसपालि त श्रावण महिनासम्ममा पनि गत सालको बजेटको कार्य भइरहेको छ । विश्वास नलागे बाहुनडाँगी–काँकरभिट्टा सडकखण्डमा एक महिनादेखि पिच गर्न थालेको ३ सय मिटर समेत पिच हुन सकेको छैन । दिनमा १० मिटरभन्दा बढी पिच गर्न नसक्ने बाहुवलीलाई किन कामको जिम्मा दिइन्छ ? के स्वार्थ छ त्यसमा, त्यसको लेखाजोखा गर्न नसक्ने जनप्रतिनिधिप्रति किन गर्व गर्ने ?

यो यात्रा कहीँ नपुगिने खालको देखिन्छ । भनिन्छ, सिंहदरवार अव जनताको दैलोमा पुग्यो । स्थानीय तहलाई सरकारकै रुपमा लिइएको छ । के स्थानीय सरकारले सरकारको दर्जा पाएपनि भूमिका निर्वाह गर्न सक्दछ त ? हिजो यिनलाई जिताउनका लागि दिलो ज्यानले सहयोग गर्ने शिक्षक÷कर्मचारीलाई अब यिनको आदेश मान्य होला ? यतिसम्म यिनलाई हेक्का भएको भए कुनै शिक्षक या कर्मचारीलाई आफ्नो प्रचारमा नलागी पेशागत धर्म निर्वाह गर्न भनेका हुने थिए । त्यसो गर्नु जोखिम हुने महसुस गरे र लाचारी प्रदर्शन गरे जुन आगामी दिनमा यिनका लागि भालुको कन्चट हुने पक्का छ ।
समाज रुपान्तरणका लागि मास्टर नेता उस्तै हुनु पर्ने हो तर दैलेखकी तुलसा शाहीले भने जस्तो समाज परिवर्तनका लागि नभई यथास्थितिका लागि भने यिनको भूमिका समान देखिएको छ । यसोभन्दा आक्रोश उत्पन्न हुन सक्दछ । तर, यथार्थ नै यस्तै छ । जोखिम मोल्न नसक्नेले यथास्थितिमा नै बस्नु पर्दछ । आम मानिसको आशा र भरोसा बन्ने हो भने जोखिम उठाउन तयार हुनु आवश्यक छ । त्यसपछि मात्र समाज रुपान्तरणको आशा गर्न सकिन्छ । नत्र तुलसा शाहीले भनेजस्तो मास्टर पढाउँदै जाने, नेता बाटो बिजुली, अस्पताल बनाउन लाग्ने अनि केही युवतीहरु छाउपडीमा ज्यान फ्याल्ने, केही बलात्कृत हुँदै नारकीय जीवन बाँच्ने । युवायुवती खाडीमा जल्ने र तिनले पठाएको रेमिट्यान्समा तलब भत्ता खाने आखिर कति दिनसम्म ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: