विर्तामोड । राजनीतिक दलको भ्रातृ सङ्गठन नहुने प्रतिबद्धताका साथ झापामा मिडिया नेपाल नामक पत्रकारहरूको नयाँ संस्था गठन भएको छ ।
आँगन एफएमका समाचार संयोजक रन्जीत प्रसाइँको अध्यक्षतामा मिडिया नेपालको झापा जिल्ला तदर्थ समिति आइतवार घोषणा गरिएको छ ।
होटल हेवनमा आकर्षक समारोहवीच मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले ८ सदस्यीय जिल्ला समितिको नाम घोषणा गरेका हुन् ।
समितिको सदस्यमा अर्जुन राजबंशी (इन्द्रेणी एफएम), बिजय बराल (स्पेशलिङ्क टीभी), सञ्जु शिवाकोटी (सनराइज एपएम), रवि ओझा (फ्रीलान्सर), सचिन सुब्बा (रेडियो अन), शारदा खवास र यमुना आचार्य रहेका छन् ।
मिडिया नेपालका पूर्वाञ्चल संयोजक इन्द्रसिंह राजबंशीको सभापतित्वमा भएको घोषणा सभामा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, महासङ्घका झापा अध्यक्ष भीम नेम्वाङ, मिडिया नेपालका केन्द्रीय सदस्य मोहन ढुङ्गेल, बानका उपाध्यक्ष कुमार भट्टराई, विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाइँ, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, फोनिज केन्द्रीय सदस्य इन्द्रजित मुखिया, झापा वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष बलराम कार्की, नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य मोहन काजीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यव्रmमका प्रमुख अतिथि राजेन्द्र लिङ्देनले मिडिया नेपालालाई दलमा नलागी देशको सेवा गर्ने पत्रकारहरूको संस्था बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
विशेष अतिथि गोपाल पौडेलले मिडिया नेपालको सदस्य बन्न कुनै राप्रपा नेपालको सदस्य बन्न नपर्ने स्पष्ट पारेका थिए ।
राष्ट्रिय प्रजातन्त्र नेपालसँग वैचारिक निकटता राख्ने पत्रकारहरूको सङ्गठन भए पनि मिडिया नेपालका नेताहरूले यसलाई पार्टीको भ्रातृ संस्था नबनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
गत चैत १ गते काठमाडौँमा स्थापना भएको मिडिया नेपालले झापामा तेस्रो शाखा गठन गरेको हो । एक महिनाभित्र २० जिल्लामा शाखा विस्तार गरिसक्ने मिडिया नेपालका केन्द्रीय अध्यक्ष पौडेल बताउँछन् ।