मितेरी गाँस्न आइपुगिन् फोक्सटन सिटीकी मेयर

  प्रकाशित मिति
२६ माघ २०७६, आईतवार २०:१८


।। मोहन काजी ।।

मेचीनगर । मेचीनगर नगरपालिकाको निम्तोमा बेलायतको फोक्सटन सिटीकी मेयर जेकी माइड चार सदस्यीय टोली लिएर मितेरी सम्बन्ध बनाउन आइपुगेकी छन् ।

मेयर जेकी माइडको नेतृत्वमा आएको बेलायती प्रतिनिधिमण्डलमा गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक जोन रे, बेलायतका प्रथम नेपाली काउन्सिलर धनकिरण गुरुङ लगायत रहेको मेचीनगरका नगरप्रमुख विमल आचार्यले बताए ।

मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच सोमवार नगरपालिकाको सभाहलमा आकर्षक समारोहबीच भगिनी सम्बन्ध स्थापनाको औपचारिक सम्झौता हुने कार्यक्रम छ । सम्झौतामा मेचीनगरका नगरप्रमुख आचार्य र फोक्सटनकी मेयर माइडले हस्ताक्षर गर्नेछन् ।

काँकरभिट्टा निवासी पूर्व गोर्खा सैनिक धनकिरण गुरुङ फोक्सटन सिटीको काउन्सिलर निर्वाचित भएपछि उनकै पहलमा बेलायती सरकारबाट गोर्खा फाउन्डेसन नेपालमार्फत शिक्षा, खानेपानी, आपतकालीन सेवा लगायतका क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको गोर्खा फाउन्डेसन नेपालका अध्यक्ष नगेन्द्र गुरुङ बताउँछन् ।

बेलायतबाट आएका पाहुनालाई आइतवार चन्द्रगढी विमानस्थल र काँकडभिट्टामा आयोजित एसियाली ग्रामीण पर्यटन महोत्सवमा भब्य स्वागत सम्मान गरिएको थियो ।

धुलावारीमा रात्रिभोज ः
फोक्सटनकी मेयर जेकी माइड लगायत बेलायती टोलीको सम्मानमा मेचीनगर नगरपालिकाले आइतवार साँझ धुलावारीको कृष्ण पार्टी प्यालेसमा रात्रिभोज आयोजना गर्यो ।

रात्रिभोजमा मेचीनगरका नगरप्रमुख बिमल आचार्य, फोक्सटनकी मेयर जेकी माइड, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, गोर्खा फाउन्डेसन युकेका संस्थापक जोन रे, गोर्खा फाउन्डेसन नेपालका अध्यक्ष नगेन्द्र गुरुङ लगायत विशिष्ट महानुभावहरु उपस्थित थिए ।

रात्रिभोजमा मेचीनगरका नगरप्रमुख आचार्यले मात्र स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा संघीय सांसद् राम कार्की, जिसस प्रमुख सोम पोर्तेल, प्रदेशका सांसद् गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, छिमेकी नगरपालिका र गाउँपालिकाका प्रमुखहरु, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, वडा अध्यक्षहरु, सुरक्षा निकायका स्थानीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

फोक्सटनको टोली आइतवार काँकरभिट्टाको हिकोला हेरिटेज होटलमा बसेको छ भने सोमवार भगिनी सम्बन्धको कागजातमा हस्ताक्षर गरिसकेपछि टोली इलाम भ्रमणमा जाने बुझिएको छ ।

चिटिक्कै सजियो नगरपालिका ः
फोक्सटन सिटीकी मेयर जेकी माइडसहितको बेलायती प्रतिनिधिमण्डल आउने कार्यक्रमलाई भब्य तुल्याउन मेचीनगर नगरपालिकाले कार्यालयलाई चिटिक्कै सिगारेको छ ।

इटाभट्टास्थित नगरपालिका प्रवेश गर्ने मूलबाटोममा आकर्षक गेट निर्माण गरिएको छ भने सम्झौतामा हस्ताक्षर हुने सभाहललाई दुबै देशका राष्ट्रिय झण्डासहित ध्वजापताकाले सजाइएको छ ।

सोमवार विहान ९ बजे सभाहलमा औपचारिक कार्यक्रम सुरु हुने र कार्यक्रमको प्रमुख अतिथि सङ्घीय सांसद् राम कार्की रहने मेचीनगरका सामुदायिक अधिकृत अनन्त वस्तीले जानकारी दिए । वस्तीका अनुसार कार्यक्रममा दुबै देशको राष्ट्रिय धुन बजाइनेछ भने झापाका १४ वटै नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई कार्यक्रममा निम्त्याइएको छ ।

सो समारोहलाई मेचीनगरका नगरप्रमुख विमल आचार्य र फोक्सटन सिटीकी मेयर जेकी माइडले सम्बोधन गर्ने कार्यक्रम रहेको नगरकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: