मित्तल परिवारमा अंश विवाद

  प्रकाशित मिति
१५ भाद्र २०७३, बुधबार २०:३५


Mahesh Agrawal2भद्रपुर । झापाको पुरानो औद्योगिक घराना मित्तल परिवारमा अंशबण्डा विवादले उग्र रुप लिएको छ ।

मित्तल टी इस्टेट, मित्तल सिमेन्ट उद्योग, मोहन टी इस्टेट, कुवाडीदेवी टी इस्टेट, मुना चिया प्याकेजिङ, मित्तल वायर इन्डस्ट्रिज सञ्चालन गरेको मित्तल परिवारमा उद्योगपति मोहनलाल अग्रवालको निधनपछि छोराहरूविच अंशबण्डामा विवाद भएको हो ।

मोहनलाल अग्रवालको जेठो छोरा महेश कुमार अग्रवाल र माइलो छोरा सुरेश कुमार मित्तलविच पहिल्यैदेखि अंश विवाद भएको थियो । अमेरिकामा रहेका कान्छो छोरा हरिस विवादमा प्रत्यक्ष रुपमा तानिएका छैनन् ।

मोहनलालको एक वर्ष अघि निधन भए पछि यो विवाद परिवारबाट वाहिर सडकमा आएको छ । त्यस अघि दाजुभाइविचको अंश विवाद परिवारमा मात्र सीमित रहँदै आएको थियो ।

महेशकुमार अग्रवालले पिताले पूरा अंश नदिएको र माइलो भाइ सुरेशबाट उद्योग धन्धामा सगोलमा गरिएको लगानी एकलौटी पारिएको आरोप लगाएका छन् ।

बुधवार भद्रपुरस्थित झापा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा महेशले पिता र भाइले आफुमाथि अंशबण्डामा अन्याय गरेको दावी गरे ।

उनले आफ्नो हक खोज्न अदालतको ढोकामा पुग्नु परेको र आफ्नै स्वामित्वमा रहेको मोहन टी इस्टेटको हरहिसाव समेत भाइ सुरेशले वेहिसाव खाइरहेको जिकीर गरेका छन् ।

झापाका पुराना जिमिनदार सत्यलाल अग्रवालले स्वामित्व कायम गरेको अथाह जग्गा र सम्पत्तिको संरक्षण उनको शेषपछि मोहनलाल अग्रवालले गर्दै आएका थिए । तर मोहनलालको समेत निधन भइसकेपछि हाल सम्पत्ति बाँडफाँटमा विवाद देखिएको छ ।

हाल भाइ सुरेशसँग अंश खोजिरहेका महेश कुमार अग्रवालको माग सर्वोच्च अदालतमा विचाराधीन छ । काठमाडौ जिल्ला र पाटन पुनरावेदन अदालतमा भने महेशले मुद्दा जितिसकेका छन् ।

‘मेरा हजुरवुवा सत्यलाल र वुवा मोहनलाल अग्रवालले आर्जेको पैतृक अंश भएकाले मैले आफ्नो हक पाउनु पर्छ’, पत्रकार सम्मेलनमा महेशले भने–‘अब सामाजिक रुपमा पनि मलाई न्याय दिलाइदिनु पर्यो ।’

मित्तल परिवारसँग हाल २ सय करोडभन्दा ज्यादा नै चल अचल सम्पत्ति रहेको जानिफकारहरू बताउँछन् । त्यसमध्ये करीव ३० करोड विभिन्न खालका ऋण रहेको हुनसक्ने बताइएको छ ।

उनीहरूले चलाइरहेको उद्योगमध्ये मित्तल वायर बन्द रहेको छ । यस विषयमा बुझ्न खोज्दा महेशका माइला भाइ सुरेशसँग फोन सम्पर्क हुन सकेन ।

बैङ्कबाट लिएको ऋण मित्तल वायर उदयोगको असफलतापछि तिर्न नसक्दा परिवारका तीनै जना (मोहनलाल, महेश कुमार र सुरेश कुमार)लाई कालो सूचीमा राखिएको थियो । त्यही ऋणको डर देखाएर महेशलाई उनको पिता मोहनलाल (जीवित छँदा) र भाइ सुरेशले मिलिभगतमा भारत निर्वासित गराएका थिए ।

१२ वर्षको भारत निर्वासनपछि हालै भद्रपुर आइपुगेका महेशले भाइसँग अंश पाउनका लागि समाज गुहारेका हुन् ।

मोहनलाल अग्रवालका समकालीन उद्योगपति विश्वनाथ श्रेष्ठले अंश सम्बन्धी कानूनले नै स्पस्ट पारेको जनाउँदै कसैले कसैलाई अन्याय गर्न नहुने बताएका छन् । उनले दुबै पक्षलाई सहमतिमा ल्याएर विवाद टुङ्ग्याउन सुझाव दिएका छन् ।

महेश अग्रवालले सामाजिक न्याय माग्दै झापा उद्योग वाणिज्य सङ्घमा निवेदन दिएको सङ्घका कार्यवाहक अध्यक्ष कालीचरण बस्नेतले पत्रकार सम्मेलनमा बताएका छन् ।

पत्रकार सम्मेलनमा उद्यमीहरू यामबहादुर श्रेष्ठ, राजेन्द्र घिमिरे, तोयानाथ गड्तौला, एकराज कार्की, डिल्लीराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

(२०७३ भदौ १६ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: