गोमनसरी । मिर्गौला रोगबाट पीडित ज्यामिरगढी–९ गोमनसरीका ३२ वर्षीय मनोज राउत (शेरबहादुर)को उपचारमा सघाउन सोमवार विहान भेला भएका स्थानीयवासीले पहिलो जमर्कोमै ६५ हजार रुपैयाँ जुटाएका छन् ।
वैदेशिक रोजगारीका लागि कतार गएका मनोज मिर्गौला रोग लागेपछि ३ वर्ष अघि घर फर्किएका थिए । उनको दुवै मिर्गौला ड्यामेज भएको डाक्टरहरूले बताएका छन् ।
घरको भएको जेथो अस्पताल धाउँदा र डायलासिसमा सिध्याएका मनोजको मिर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सोमवार उनकै घरमा ज्यामिरगढीका अगुवाहरू भेला भएका थिए ।
भेलाले नेपाली काङ्ग्रेस ज्यामिरगढी गाउँ समितिका सभापति राजन (गुणराज)भट्टराईको संयोजकत्वमा १०१ सदस्यीय ‘मनोज बचाउ अभियान’ गठन गरेको छ ।
भेलामा उपस्थित स्थानीयवासीले स्वेच्छिक सहयोग दिएका थिए । सो पहिलो सङ्कलित रकम ६५ हजार भएको नेपाली काङ्ग्रेस झापाका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।
समितिमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य तारावीर कटुवाल, जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, समाजसेवी अरुण बुढाथोकी, युद्धराज ओली, श्याम दाहाल, पत्रकारहरू मोहन काजी, राजु अधिकारी, देवु बानियाँ लगायत रहेका छन् । हाल भद्रपुरको ओमसाइ पाथिभरा हस्पिटलमा हप्ताको दुइपटक डायलासिस गराइरहेका मनोजको काठमाडौँमा मिर्गौला प्रत्यारोपण गराउन पहल भइरहेको र त्यसका लागि कम्तीमा १५ लाख रुपैयाँ खर्च लाग्ने अभियानका संयोजक भट्टराई बताउँछन् । उनलाई प्रत्यारोपणका लागि फुपाजु अनिल तिम्सिनाले एउटा मिर्गौला दान दिने भएका छन् । मनोजको उपचारमा खर्च जुटाउन वैदेशिक रोजगारीमा दुवइ गएकी उनकी पत्नी पूजा भण्डारी राउत ४ दिन अघि विदेशबाट घर आएकी छन् । उनले पतिको उपचार गराउन विदामा घर आएको बताइन् ।
मनोजको उपचारमा सहयोग गरिदिन उनकी पत्नी पूजा र आमा विष्णुमाया राउतले मनोज अपिल गरेका छन् । अभियानले समेत सबैबाट सहयोग जुटाएर उपचार गराउने लक्ष्यका साथ सोमवारबाटै अर्थ सङ्कलन सुरु गरेको छ ।
अभियानले आर्थिक सहयोग जम्मा गर्नका लागि धुलावारीको ग्लोवल आइएमई बैङ्कमा २३०७०१०००३३८८ नम्वरको खाता खोलेको छ । दाताले सोझै खातामा सहयोग जम्मा गर्न पनि सक्ने छन् ।