मिर्गौला प्रत्यारोपण ‘फागुन २१’ मै

  प्रकाशित मिति
१९ फाल्गुन २०७६, सोमबार १५:०३


मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण फागुन २१ गते स्वदेशमै हुने भएको छ । संयोगले उक्त दिन झापा विद्रोहका पाँच सहिदको स्मृति दिवस परेको छ ।

तेह्र वर्षअघि पहिलोपल्ट भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुको परामर्शमा दोस्रो प्रत्यारोपणको विकल्प रोजेका हुन् ।

उनलाई प्रत्यारोपणको जोखिम नमोल्ने भए हप्तामा दुईपटक नियमित एवम् जीवनभर डाइलासिस गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका थिए ।

देशको कार्यकारी प्रमुख र सत्तारुढ पार्टी नेकपाको अध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिक उतारचढाव झेलिरहेका ओली बलियो आत्मविश्वास भएका व्यक्ति भएको चिकित्सकहरु समेत बताउँछन् ।

उनले स्वदेशमै प्रत्यारोपण गर्ने र केही दिनको अस्पताल बसाइपछि नियमित राजकीय कामकाजमा नयाँ जोशका साथ फर्किने बताइसकेका छन् ।

ओली फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भएका छन् । जहाँ उनले केही महिना अघि एपेन्डिसाइटिसको समेत शल्यक्रिया सफलतापूर्वक गराएका थिए । त्यसअघि उनको जटिल उपचार भारत र सिङ्गापुरमा हुने गरेको थियो ।

उनलाई यसपटक नातिनीले एउटा मिर्गौला दान दिने भएकी छन् । नातिनीको नाम गोप्य राखिएको छ । पहिलोपटकको प्रत्यारोपणमा बुहारी अञ्जनाले मिर्गौला दान दिएकी थिइन् । नेपालको कानून अनुसार मिर्गौलादाता नातेदार नै हुनुपर्नेछ । अन्य व्यक्ति दाता भए थप कानूनी झन्झट लाग्नेछ ।

ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउने निर्णय गरेर स्वदेशी अस्पताल र चिकित्सकहरुप्रति भरोसा बढाएका छन् । कम उमेरकी नातिनीले दिएको मिर्गौलाले उनको शरीरको रोगसँग लड्ने क्षमता बढ्ने चिकित्सकहरुको विश्वास छ ।
फागुन २१ मा झापा नआउने

सुखानीका पाँच सहिदको स्मृतिमा झापामा आयोजना हुने श्रद्धाञ्जलि सभामा सकभर आउने गरेका प्रधानमन्त्री ओली यसपाली स्वास्थ्यका कारण नआउने निश्चित भएको छ ।

सचिवालय स्रोतका अनुसार फागुन २१ गते सुखानी सहादतस्थलमा श्रद्धाञ्जलि अर्पणपछि विर्तामोडमा सभाको आयोजना नेकपाले गरेको छ । कार्यक्रममा अब नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि हुनेछन् ।

झापामा फागुन १९ गते प्रदेशस्तरीय पार्टी कमिटीको बैठक र भोलिपल्ट २० गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तय भएको छ । सो कार्यक्रममा ओली र दाहाल दुबै आउने प्रचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: