मुआब्जामा विभेद नगर्ने अर्थमन्त्रीको आश्वासन

  प्रकाशित मिति
११ चैत्र २०७४, आईतवार ११:०४


मेचीनगर । अर्थमन्त्री युवराज खतिवडाले काँकरभिट्टामा निर्माणको तयारी भइरहेको मेची पुलका कारण विस्थापित हुने नेपालीहरुको बारेमा गम्भीर चासो देखाएका छन् ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीको काँकरभिट्टास्थित निवासमा शनिवार साँझ पार्टीका नेताहरुसँगको भेटघाटमा अर्थमन्त्री खतिवडाले त्यस्तो चासो प्रकट गरेका हुन् ।

‘तपाईहरु डकुमेन्ट लिएर माथि (केन्द्र) आउनुस्’, स्थानीय नेतृत्वको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले भने–‘नेपाली नागरिकहरु कसैलाई पनि विना मुआब्जा हटाउँदैनौँ ।’

एसियाली विकास बैङ्कको लगानीमा भारत, नेपाल, बङ्गलादेश, भूटान, म्यान्मार हुँदै बन्ने फोर लेनको एसियन हाइवे निर्माणको क्रममा मेचीमा नयाँ पुलको ठेक्का लागिसकेको छ ।

सो पुलको निर्माण गर्दा मेची डाँडास्थित नेपालतिरका २७ परिवारको घर हटाउनु पर्ने भएकाले हाल उनीहरुलाई उचित क्षतिपूर्ति दिने विषय निकै पेचिलो बनेको छ ।

संविधान सभाका सदस्य रविन कोइरालाले विस्थापित हुन लागेको मेची डाँडाका २७ परिवारलाई सरकारले फास्ट ट्रयाकबाट मुआब्जा दिनु पर्ने अर्थमन्त्रीसँग माग गरे ।

मेचीनगरका नगर प्रमुख विमल आचार्यले सरकारले मुआब्जा दिन विलम्ब गरेको कारण पुल निर्माणमै असर पर्ने अवस्था आएको अर्थमन्त्री खतिवडालाई जानकारी गराएका थिए ।

सभासद कोइराला र नगर प्रमुख आचार्यसँग अर्थमन्त्री खतिवडाले मेची पुलको निर्माण, त्यसबाट विस्थापित हुन लागेका परिवार र तिनलाई दिनु पर्ने मुआब्जाका विषयमा जानकारी लिएका थिए ।

नगरप्रमुख आचार्यले मुआब्जाको जिम्मा नगरपालिकाले लिएको भनेर एसियाली बैङ्क र ठेकेदार कम्पनीलाई ढाँट्दै आएको हुँदा छिटो रकम निकासा नहुँदा नगरपालिका अप्ठेरोमा परेको गुनासो गरेका थिए ।
सो अवसरमा प्रदेशका सांसदद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती, नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय सहकोषाध्यक्ष रोशन अग्रवाल, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराम घिमिरे लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
एनएमसीका अध्यक्ष उप्रेतीले प्रदेश नं. १ मा दुध पाउडर उत्पादन कारखाना स्थापना गर्न सरकारले ध्यान दिनु पर्ने माग गरेका थिए ।
प्रदेश सांसदद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले काँकरभिट्टाबाट स्याङ्लेनटार हुँदै जाने गरी प्रस्तावित मेची करिडोरमा उल्लेख्य बजेट उपलब्ध गराउन माग गरेका थिए ।

सडक पूर्वाधार, दुध पाउडर उद्योग लगायतका विभिन्न विषयमा स्थानीय नेतृत्वले मन्त्रीको ध्यानाकर्षण गराए पनि अर्थमन्त्री खतिवडाले मेची पुलबाट विस्थापित हुन लागेका परिवारको बारेमा अधिक चासो देखाए ।

मन्त्रीले सभासद कोइराला र नगर प्रमुख आचार्यलाई त्यस विषयका सबै कागजात लिएर मन्त्रालयमा डेलिगेसन आउन आग्रह गर्दै समाधानमा सघाउने भरपर्दो आश्वासन दिएका छन् ।

मन्त्रीले धनीपूर्जा भएका र नभएका भनेर कसैलाई पनि विभेद नगरिने बताउँदै सरकारले बसोबासका आधारमा मुआब्जा दिन सक्ने बुढी गण्डकी परियोजनाको उदाहरण सुनाएका थिए ।
…………….

भन्सार निरीक्षण
काँकरभिट्टा । अर्थमन्त्री युवराज खतिवडा मन्त्री बनेपछि पहिलोपल्ट मेची भन्सार आएका छन् ।
शनिवार अपरान्ह भन्सार आएका उनले भन्सार प्रमुखसहित कर्मचारीहरुलाई निर्देशन दिदै लक्ष्य अनुसारको राजस्व सङ्कलनमा कमी आउन नदिन भनेका छन् ।

मन्त्री खतिवडाले भन्सार परिसरको निरीक्षण समेत गरेका थिए । उनले मेची भन्सारलाई सरकारले प्राथमिकतामा राखेर हेर्ने गरेको बताएका थिए ।

आर्थिक वर्ष अन्त्य हुन लाग्दा मुलुकभरका भन्सारहरुमा लक्ष्यभन्दा न्यून मात्रामा राजस्व असुली भइरहेको कारण अर्थमन्त्री निकै तनावमा भएको राजधानीका अखवारहरुले लेखिरहेका छन् ।

यहीबेला भन्सारको भ्रमण राजस्व असुली वृद्धिका लागि कर्मचारीहरुलाई प्रेरित गर्नका लागि भएको सबैले अनुमान गरेका छन् ।

भद्रपुरपछि मेची भन्सार आएका अर्थमन्त्री खतिवडा शनिवार राति भने बुद्धशान्तिमा बास बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: