मुक्तिचोकमै फोहोरको डङ्गुर

  प्रकाशित मिति
१३ भाद्र २०७३, सोमबार १९:०१


tyबिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा शनिबार र आइतबार बिहान फोहोरको डङ्गुर थियो । दुर्गा मन्दिरको पूर्वपट्टिकै मुख्य शहर फोहोरको थुप्रोले भरिएको थियो । सडकको उत्तरतर्फको सुपर मार्केटबाट निकालिएको फोहोर त्यहाँ थपेर दोकानमा सहयोगीको काम गर्ने दुई जना युवा कसैले देख्ला कि भनेझैँ गरेर हतार–हतार फर्किंदै थिए । संयोग पनि यस्तो कि उनीहरुले फ्याकेरको फोहोरको डङ्गुरकै अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ‘यहाँ फोहोर फ्याक्न सक्त मनाई छ ।’

मेची अञ्चलको प्रमुख व्यापारीक केन्द्र बिर्तामोड नगरको फोहोर महिनौंसम्म नउठ्ने पूरानो व्यथा फेरि दोहोरिएको छ । फोहोरमैला व्यवस्थापनको जिम्मेवारी पाएकै संस्थालाई सर्वसाधारणले असहयोग गरेपछि व्यापारिक केन्द्र बिर्तामोड दुर्गन्धित भएको हो । बिर्तामोड मात्रै होइन, झापाका अधिकांश नगरपालिकाको हालत यस्तै छ । बिर्तामोडको मुक्ति चोक आसपासका क्षेत्रमै फोहोर फ्याकिने गरेको छ । हनुमान सेन्ट्रलको अगाडि फोहोरको डङ्गुर महिनौँसम्म रहने गरेको छ । ‘यो त असभ्यताको हद हो’, दुगन्धित सडक छिचोल्दै गरेकी बिर्तामोडकी आश्मा आचार्यले भनिन् – ‘आफै जिम्मेवार हुनु पर्ने, प्रहरीले सचेतना जगाउनका लागि बोर्ड राखेकै स्थानमा फोहोर फ्याक्नु ज्यादै असंवेदनशील कार्य हो ।’ उनका अनुसार व्यापारीले आफ्नो पसलबाट निस्किएको फोहोर यसरी नै मुक्तिचोककै अगाडि थुपार्ने गरेका छन् ।

बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले व्यापारीक प्रतिष्ठानबाट निस्किएको फोहोर मध्यरातमा ल्याएर फ्याँकिएको पाइएको बताएका छन् । ‘हामी गस्ती गर्दै छौँ, फोहोर फ्याँक्ने व्यापारीको पहिचान पत्ता लगाउँदै छौँ’, बाँस्तोलाले भने – ‘फोहोर फ्याँक्दै गरेको भेटिए तत्कालै कारबाही गर्छौ ।’ उनका अनुसार फोहोर फ्याँक्नेलाई फोहोर मैला व्यवस्थापन कार्यविधि–२०७० अनुसार ३० हजार रुपैयाँ जरिवाना गरिन्छ । फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने खर्च पनि सम्बन्धित व्यक्तिबाटै असुल्ने व्यवस्था छ । बिर्तामोडको फोहोर सङ्कलन गर्न अहिले हरेक दिन बिहान ट्रयाक्टर परिचालन गरिँदै आएको छ ।

बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनको समस्या पूरानै हो । अहिले पनि बिर्तामोडको फोहोर सडक आसपासका खाल्डाखुल्डीमा थुपार्ने र खाली ठाउँमा सङ्कलन गरिँदै छ । बिर्तामोड, कनकाई, र शनिअर्जुन नगरको फोहोर व्यवस्थापन गर्नका लागि समिति पनि बनिसकेको छ । ल्याण्डफिल्ड साइड व्यवस्थापन समितिले अध्ययन गरिरहेको बाँस्तोलाले बताए । ‘प्राविधिक समिति पनि बनिसकेको छ’, बाँस्तोलाले थपे – ‘फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानको खोजीमै छौँ हामी ।’

त्यसो त नगरपालिका घोषणा भएको दशकौं भइसक्दा पनि झापाका नगरहरुले फोहोर व्यवस्थापनको चुनौति यथावत छ । झापाका मेचीनगर, भद्रपुर, दमकसँगै बिर्तामोड, कनकाई, शनिअर्जुन, गौरादहलगायतका नयाँ नगरपालिकामा पनि फोहोर व्यवस्थापनको उपाय खोजिएको छैन । सम्भाव्यताको अध्ययनबिना जग्गा छनोट गरिएपछि ल्याण्डफिल्ड साइड बनाउन नगरपालिकाहरुले खरीद गरेका जमीन उपयोगहीन बन्न पुगेका छन् । फोहोरको दुर्गन्धका कारण बजार क्षेत्रमा समस्या भएको छ । बिर्तामोडमा सडकको किनार कही खाली छैन । फोहोर व्यवस्थापनमा कसैले चासो दिएको नदिएको बिर्तामोडका संजय अग्रवाल बताउँछन् । ‘गर्मी र वर्षायाममा हिडि नसक्नु हुन्छ’ – उनले भने । फोहोरसँगै फैलिएको दुर्गन्धले बिरामी पर्ने खतरा बढेको उनी बताउँछन् । स्थानीयले जथाभावी फ्याँकेको फोहोर व्यवस्थापन हुन नसक्दा बिर्तामोड कुरुप भएको उनको टिप्पणी छ ।

बिर्तामोडको फोहोरमैला व्यवस्थापनको जिम्मा नगरपालिकाले कुनै पनि जिम्मेवार संस्थालाई दिने गरेको छ । तर, स्थानीयको गैरजिम्मेवारीले सिङ्गै बिर्तामोड कुरुप र दुर्गन्धित हुने गरेको अग्रवालको धारणा छ । कामको अनुगमन गर्नका लागि विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन समिति गठन गरेको छ । फोहोर व्यवस्थापनमा सहयोग गर्दै आएको झापा उद्योग वाणिज्य सङ्घ बिर्तामोडले सहयोग गर्दै आएको छ । संघका अध्यक्ष बलराम कार्की राज्यले आवश्यक भौतिक पूर्वाधारको विकास नगरेकाले फोहोर व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।

बिर्तामोड नगरपालिकाको आफ्नै डम्पिङ साइड छैन । फोहोर संकलन गरेपनि फ्याँक्नलाई नै समस्या छ । त्यसैले शनिअर्जुन नगरपालिका, कनकाई नगरपालिका र बिर्तामोडले ल्याण्डफिल्ड साइड संयुक्त रुपमा किन्ने तयारी गरेपनि योजना अलपत्र छ । अल्पकालीन रुपमा फोहोर व्यवस्थापन गरेर दीर्घकालका लागि पनि फोहोर फ्याँक्ने ठाउँ खोज्न नगरपालिकाको योजना छ ।
मुक्तिचोकको पूर्वतर्फ सडककै छेउमा फोहोरमैला, प्लाष्टिक आदिको थुप्रो छ । भद्रपुररोडमा सडक छेउमै फोहोर थुपारिएको छ । वर्षा लागेपछि सडकमा थुपारिएको फोहोरको सडेर दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ ।

जग्गा भएको ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन नमिल्ने, मिल्ने ठाउँमा जमिन नपाइने भएपछि फोहोर जथाभावी फ्याक्न नगरपालिका विवश छन् । पूर्वकै पूरानो भद्रपुरमा नगरपालिका बनेका सय वर्षमा नयाँ घर थपिए । सहरलाई चाहिने अन्य पूर्वाधार ठडिए । तर, भद्रपुरमा फोहोर व्यवस्थित गर्न ल्याण्डफिल्ड साइड चाहिँ बन्न सकेको छैन । नगरमा दैनिक ठूलो परिमाणमा उत्पादन हुने फोहोरलाई नगरपालिकाले कहिले खोला किनारमा, कहिले खाली ठाउँमा बिसर्जन गर्दै आएको छ । नगरपालिकाका एक कर्मचारीका अनुसार भद्रपुर नगरले धेरैअघि ल्याण्डफिल्ड साइड बनाउन साढे ६ बिघा जग्गा खरीद गरेको थियो ।

स्थापना भएको ३७ वर्ष भइसकेको दमक नगरको हालत पनि उस्तै छ । तर, फोहोर व्यवस्थापनमा अहिले पनि सुधार आउन सकेको छैन । नगरपालिकाले वस्ती नजिकै खोलामा फोहोर फ्याँक्छ, छेउकछाउका मान्छे सधैँ बिरामी हुने गरेको स्थानीयबासीको गुनासो छ ।
२०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकाले पनि ल्याण्डफिल्ड साइड खरीदका लागि भनेर वर्षौँअघि मेचीनगर–२ मा ३ विघाभन्दा बढी जमिन खरीद गरेको छ । तर, बाक्लो बसोबास क्षेत्र नजिकै र खोलानजिकै परेका कारण स्थानीयबासीले त्यहाँ बनाउन दिन मानेनन् । अहिले नगरपालिकाले काँकरभिट्टाको भान्साखोला टोलनजिकै फोहोर फाल्दै आएको छ ।

बिर्तामोड, शनिअर्जुन, कनकाई र शिवसतासी नगरपालिका नयाँ थपिएका छन् । यी ठाउँ पनि फोहोर उत्पादनका लागि अगुवा नै हुन् । कनकाईमा पनि ठूलो परिमाणमा फोहोर उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: