मुक्तियोद्धा भूविक्रम नेम्वाङको निधन

  प्रकाशित मिति
२४ श्रावण २०७३, सोमबार १५:४६


भूविक्रम नेम्वाङ

मेचीनगर । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको ८० वर्षको उमेरमा निधन भएको छ ।

मुटु तथा मिर्गौला सम्बन्धी रोगबाट पीडित नेम्वाङको आइतवार साँझ ६ः४० बजेतिर विर्तामोडको विर्ता सिटी हस्पिटलमा निधन भएको हो ।
नेपाली काङ्ग्रेसका पुराना नेता नेम्वाङ आजीवन कुनै लाभको पदमा बस्न मानेनन् । झापाको कलबलगुडीमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टीको पनि कुनै पदमा बसेनन् ।

२००७ सालको राणाविरोधी र २०१८ सालको पञ्चायतविरोधी आन्दोलनमा सशस्त्र मोर्चाको कमान्ड सम्हालेका नेम्वाङ नेपाली काङ्ग्रेसद्वारा गठित मुक्ति सेनाका कमान्डर थिए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, लौहपुरुष गणेशमान सिंह लगायतका काङ्ग्रेसका ऐतिहासिक नेताहरूको समकालीन उनी पछिल्लो समय काङ्ग्रेसको नीति र नेताको व्यवहारसँग असन्तुष्ट थिए ।

मेचीनगर–३ धुलावारीमा घर भएका नेम्वाङकी पत्नी भूपेन्द्रकुमारी नेम्वाङ, एक छोरा भाइचन नेम्वाङ र ३ छोरी विजय, बबिता र राधिका रहेका छन् । जेठा छोरा वीरेन्द्रविक्रम नेम्वाङको निधन भइसकेको छ ।

विचारमा प्रस्ट, हक्की र स्वाभिमानी विशेषतायुक्त नेता नेम्वाङ पार्टीको सक्रिय गतिविधिबाट टाढा भए पछि घरमै बसेर खेतीपाती सम्हाल्थे । उनी मिडियासँग पनि बोल्न रुचाउँदैनथे ।

२०१७ साल पुसमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि वीपी कोइरालाकै सल्लाहमा उनले पञ्चायतविरुद्ध सशस्त्र आन्दोलनको आवश्यकता औल्याउँदै पूर्वमा त्यसको नेतृत्व गरेका थिए ।

२०१७ साल फागुन १७ गते उनले पाँचथरमा तत्कालीन प्रहरीको बन्दुक खोसेर उनले पञ्चायतविरुद्ध सशस्त्र आन्दोलनको थालनी गरेका थिए । उनी हतियारबाटै पञ्चायतलाई फाल्न सकिने धारणा राख्दथे ।

(२०७३ साउन २४ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: