मुख्यमन्त्री राईविरूद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

  प्रकाशित मिति
१० पुष २०७७, शुक्रबार १७:५५


झापा, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड–नेपाल समूहले प्रदेश–१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड–नेपाल समूहका एक प्रदेश सांसदले बताए ।

‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौं । त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो । किनकी बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतराछ,’ ती सांसदले भने, ‘हाम्रा साथीहरू अहिले बाहिर–बाहिर हुनुहुन्छ । साथीहरू भेला हुनसाथ अविश्वासको प्रस्ताव गइहाल्छ ।’

प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड–नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्व एमालेका ५२ र पूर्व माओवादीका १६ जना छन् ।

२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए ।

उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपाल निकटका आचार्यले २४ मत पाएका थिए । एकमत बदर भएको थियो । बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।

‘अहिले हाम्रो पक्षमा पूर्व एमालेका २८ जना सांसद खुल्नु भएको छ । ४ जना कतै खुल्नु भएको छैन । उहाँहरू पनि यतै आउनुहुन्छ,’ प्रचण्ड–नेपाल पक्षधर ती नेताले भने, ‘पूर्व माओवादीको १६ समेत जोडेपछि हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ । हामी त्यसकै तयारीमा छौं ।’

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: