धुलाबारी । शिक्षासेवी मुरारीप्रसाद पोखरेलको सवारी दुर्घटनामा परी निधन भएको छ ।
मेचीनगर–१०, लालपानी निवासी पोखरेलको उपचारकै क्रममा भारतमा शुक्रवार राती निधन भएको हो ।
७० वर्षीय पोखेरल माघ २३ गते दक्षिण भारतको धार्मिक क्षेत्र तिरुपती, बालाजीलगायतको मन्दिर दर्शन गर्न गएका थिए ।
एक महिने तीर्थयात्रामा निस्किएका पोखरेल चढेको बस गत बुधबार राती तामिलनाडुको एलेन भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । उक्त सवारी दुर्घटनामा नौ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पोखरेलको उपचारकै क्रममा निधन भएको हो । उनीसँगै गएकी श्रीमती झलकादेवी पोखरेल भने सकुशल रहेको परिवारले जनाएको छ ।
दुर्घटनाको खबर थाहा पाउनासाथ मृतकका छोरा केशव भारत गएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर सम्भवत आइतबार (आज) मृतकको शव घर ल्याई पुर्याइने बताइएको छ ।
मृतक मुरारीप्रसाद पोखरेल लामो समय शिक्षा क्षेत्रमा सक्रिय थिए । धुलाबारीमा माविमा उनले ४० वर्ष सेवा गरेका थिए । उनी लेखापाल हुँदै प्रावि शिक्षककोे रुपमा १० वर्षअघि निवृत्त भएका थिए ।
मृतक पोखरेलकी श्रीमती झलकादेवी, छोरा केशव र बुहारी रेणुका तथा कमल र बुहारी गीता छन् ।
त्यस्तै, छोरी शोभा भट्टराई र शोभना दाहाल रहेका छन् । छोरा केशव धुलाबारी जेसीजका पूर्व अध्यक्ष हुन् । उनी पनि शिक्षा क्षेत्रमा सक्रिय छन् ।