‘मुलुकमा अझै कर्मचारीतन्त्र हाबी छ’

  प्रकाशित मिति
१७ भाद्र २०७५, आईतवार १०:२२


विर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु भाइ श्रेष्ठले मुलुकमा अहिले पनि कर्मचारीतन्त्र हाबी रहेको बताएका छन् ।
शनिबार झापाको विर्तामोडस्थित होटल हेवन ग्राण्डमा निर्माण व्यवसायी संघ झापाको १३ औं साधारणसभालाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि महास.घका केन्द्रीय अध्यक्ष श्रेष्ठले त्यस्तो आरोप लगाएका हुन् ।

संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा आयोजित साधारणसभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले राजनीतिक रुपमा नेपालमा ठूलै परिवर्तन भए पनि निर्माण व्यवसाय क्षेत्रमा त्यसको आभास हुन नसकिइरहेको उल्लेख गरे । ‘देशले नयाँ जनमुखी संविधान पाएको छ, तीन तहको सरकार पनि गठन भएको छ, विकास–निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह जनप्रतिनिधिहरुले सञ्चालन गरिरहेका छन्’, श्रेष्ठले भने– ‘तर ती निकायहरुमा कर्मचारी नै हाबी रहेजस्तो देखिन्छ ।’ उनले जनप्रतिनिधिहरुले नीति निर्माण गरे पनि ऐन–कानूनका विभिन्न उल्झन देखाएर कर्मचारीले नीति कार्यान्वयनमा बाधा पुर्याइरहेको आरोप लगाए । यस्तो अवस्था केन्द्रीय तहदेखि स्थानीय तहसम्म रहेको उनको भनाइ छ ।

महासंघका केन्द्रीय पदाधिकारीहरुको बाक्लै जमघट रहेको समारोहमा अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरु राष्ट्र निर्माण र समृद्धिको प्रमुख वाहक भएकोले निर्माण व्यवसायमैत्री पनर्माण नीति ल्याउनुपर्नेमा जोड दिए । समृद्धिको सपना देखेको वर्तमान सरकारले व्यवसायीलाई धरासायी बनाउने गरी मुलुकी ऐन लागू गरेको भन्दै त्यसलाई सच्याउन पनि आग्रह गरे । ‘यो मुलुकी ऐनको परिधिभित्र रहेर कसैले पनि व्यवसाय गर्नसक्ने अवस्था देखिँदैन’, उनले भने– ‘भूलवश सानो गल्ती भयो भने पनि अपराधीले पाउनेजस्तो सजायको व्यवस्था मुलुकी ऐनमा छ, त्यसैले खासगरी फौजदारी कानून सच्याउनुपर्ने देखिन्छ ।’

संघका महासचिव ओम पौडेलले सञ्चालन र प्रथम उपाध्यक्ष शरद खनालले स्वागत गरेको सो समारोहमा केन्द्रीय अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरु माझ पनि केही समस्या रहेको बताए । ‘हामीमा पनि समस्या छन्, समयमा काम नसक्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने साना व्यवसायीको भाग खोस्ने, बोलपत्रमा अनावश्यक शक्ति प्रयोग गर्ने अवाञ्छित गतिविधि व्यवसायीले गर्ने गरेको पाइन्छ, यसले हामीलाई समाजले, सरकारले, दलहरुले, प्रहरी–प्रशासनले हेर्ने दृष्टिकोण सकारात्मक छैन’, उनले भने– ‘व्यवसायीहरु पनि सच्चिन जरुरी छ ।’

कार्यक्रममा अन्य वक्ताहरुले महासंघले व्यवसायीको हकहितका लागि खासै काम गर्न नसकेको आरोप लगाएका थिए । तर, अध्यक्ष श्रेष्ठले त्यसलाई खण्डन गर्दै छोटो समयको आफ्नो कार्यकालमा महासंघले धेरै सुधारात्मक कार्य गरेको दाबी गरे ।

निर्माण व्ययवसायी संघ झापाका पूर्व अध्यक्षहरु गणेशबहादुर वस्नेत र दीपेन्द्र पोखरेलले झापाली निर्माण व्यवसायीहरुले व्यहोर्नु परिरहेका समस्या बारे उजागर गरेको सो कार्यक्रममा १ नं प्रदेश सदस्य एकराज कार्कीले देश समृद्धिको बाटोमा लम्किएको वर्तमान अवथामा विकास–निर्माणका कार्य प्रशस्तै हुने भएकोले निर्माण व्यवसायीहरुको आवश्यकता अझ बढी हुने उल्लेख गरे । उनले निर्माण व्यवसायीका समस्याहरुका विषयमा जनप्रतिनिधि र व्यवसायीबीछ छलफल गरेर समाधान निकाल्न सकिने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, दीपेन्द्र कार्की, मानार्थ सदस्य सुरेशकुमार श्रेष्ठ, सल्लाहकार अशोककुमार मिश्र, पूर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह, पूर्व उपाध्यक्ष केशवप्रसाद गौतम, वर्तमान कोषाध्यक्ष रोशन दाहाल, पूर्व महासचिव गोपालकुमार कार्की, प्रदेश नं १ का अध्यक्ष मोहनप्रसाद अधिकारी, मोरङका अध्यक्ष सन्तोष ढुगानालगायतले शुभकामना मन्तव्य राखेका थिए । आगामी असोजमा महासंघको महाधिवेशन तय भइसकेकोले उनीहरुले झापाको संघको साधारणसभाको सो मञ्चलाई चुनावी प्रचारका लागि उपयोग गरेका थिए । वक्ताहरु धेरैले सो मञ्चबाट आफ्नो उम्मेद्वारी घोषणा गर्दै आफू नेतृत्वमा आए साना व्यवसायीको हितमा काम गर्ने बताएका थिए ।

झापाली निर्माण व्यवसायीहरुले भने ठूला व्यवसायीका कारण साना व्यवसायी मारमा परेको, सघन शहरी विकास कार्यक्रम र सडक डिभिजन, शहरी्र विकास डिभिजनअन्तर्गत गरिएका निर्माण कार्यहरुको भुक्तानी रोकिएको भन्दै समस्या समाधानमा पहल गर्न सबैसँग आग्रह गरेका थिए । व्यवसायीहरुले सार्वजनिक खरिद ऐन र जिल्ला दररेट पुनरावलोकनका लागि पनि पहल गर्न नेतृत्वसँग आग्रह गरे ।

स्वस्तिवाचन र मेचे समुदायको स्वागत नृत्यसहित स्वागत गरिएको सो साधारणसभामा झापाका सबै स्थानीय तहका प्रमुख, प्रशासनिक क्षेत्रका प्रमुखहरुलाई आमन्त्रण गरिए पनि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी र झापाका प्रही उपरीक्षकबाहेक अन्य स्थानीय तह र प्रशासनिक निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थिएन । उपस्थित भएकाहरु पनि कार्यक्रमको बीचैमा अर्को कार्यक्रममा जानुपर्ने भन्दै बाहिरिएका थिए । ‘हामीले जसलाई हाम्रा समस्या, पीडा सुनाउनुपर्ने थियो उहाँहरु नै उपस्थित हुनुहुन्न’, आफ्नो प्रतिवेदन प्रस्तुतिका क्रममा अध्यक्ष वस्नेतले भने– ‘हामी–हामीले भनेको र सुनेको कुराको के अर्थ रहन्छ ?’

संघका सचिव योगेन्द्र खड्काले धन्यवाद ज्ञापन गरेको उद्घाटन समारोहमा चारजना निर्माण व्यवसायीलाई सम्मान पनि गरिएको थियो । निर्माण व्यवसायमा सक्रिय रहेकै समयमा जनप्रतिनिधि बनेका ३ जना र एकजना अग्रज निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिका वडा नं ११ को वडाध्यक्षमा निर्वाचित निर्माण व्यवसायी सन्तोष मेचे, शिवसताक्षी वडा नं ११ को वडाध्यक्षमा निर्वाचित भैरव श्रेष्ठ र इलामको रोङ गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा निर्वाचित मणिकुमार स्याङ्वो (सुवास तामाङ) र अग्रज निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष गोपालबहादुर थापालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि श्रेष्ठले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: