मुस्किलले बचिन् अस्मिता

  प्रकाशित मिति
२८ श्रावण २०७४, शनिबार ०३:०८


btm nali 3
नालीमा डुबेकी २ वर्षीया अस्मिता र उनकी आमा सम्झना (उद्धारको केहीबेरपछि) ।

विर्तामोड । विर्तामोडको जलमग्न एवम् खाल्डाखुल्डी भएको डरलाग्दो सडकमा शुक्रवार अपरान्ह डुबेकी एक बालिकाको शीघ्र उद्धारका कारण ज्यान बचेको छ ।

विर्तामोड–३ विर्ताबजार निवासी २ वर्षीया अस्मिता खातुन विर्तामोड नगरपालिकाबाट एक सय मिटर नजिकै भद्रपुर जाने सडकको नालीमा डुबेकी थिइन् । उनकी आमासँग रहेकी बालिका सडकको भौडी पार गर्ने क्रममा उक्त दुर्घटनामा परेकी हुन् ।

सडक भत्किएर बर्षाको भेल बगेको भाग पार गरिरहेका बेला अपरान्ह २ः३० बजे आमाको हातबाट चिप्लिएर २ वर्षीया अस्मिता उनको उचाईभन्दा गहिरो नालीमा उत्तानो परेर खसेकी थिइन् ।

बालिकाकी आमा सम्झना खातुन बस स्टेन्डबाट घरतर्फ पैदलै जाँदै थिइन् । छिटो उद्धार भएका कारण आफ्नो बच्चाको ज्यान जोगिएको भन्दै सम्झनाले खुशी व्यक्त गरे पनि जलमग्न र जीर्ण सडकको कारण यस्तो दुर्घटना भएको बताइन् ।

सडकमा बगेको भेलको बेगबाट हुत्तिएर अघि बढ्दा ती बालिका आमाको हातबाट चिप्लिएर नालीमा पुगेकी थिइन् । आधा मिनेटसम्म नालीभित्र डुबेर छटपटाइरहेकी अस्मितालाई उनकी आमा सम्झना खातुन र लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजीले उद्धार गरेका थिए ।

btm nali 7
विर्तामोड–३ विर्ताबजार नजिक दिनहुँ दुर्घटना हुने जलमग्न सडक ।

दुर्घटनास्थल नजिकै सडकमा लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक काजी जोखिमपूर्ण यात्रा गरिरहेका सवारी साधन र पैदल यात्रीको तस्वीर खिचिरहेका थिए । सोही बेला बालिका नालीमा परेको देखेपछि काजी उद्धारमा जुटेका थिए ।

विर्तामोडबाट भद्रपुर जाने व्यस्त सडकमा बर्षौदेखिका खाल्डाखुल्डी नपुरिदा र नाली व्यवस्थापन नगरिदा विर्तामोडको वडा नं. ३ स्थित सो स्थान दुर्घटना निम्त्याउने एम्बुससरह भएको छ ।

साइकल र मोटरसाइकलमा चढेर स्कुल जाने विद्यार्थीहरु र सीटी रिक्साहरु सो स्थानमा दिनहुँ दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् ।

सडकमा रहेको सो खाल्डोको बारेमा ध्यानाकर्षण गराउँदा विर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटीले सडक विभागसँगको समन्वयमा आगामी ३ दिनभित्र सो सडकको सबै खाल्डाखुल्डी पुरेर आवागमनमा सहजता ल्याइने बताए ।

‘बर्खाको समय भएकाले हाल पीच गर्न नसकिने तर ढुङ्गा र वालुवा भरेर सम्याउन सकिने’ उनले बताएका छन् ।

विर्तामोड–चन्द्रगढी सडक खण्डलाई फराकिलो (फोरलेन) बनाउने गरी सरकारले ठेक्का लगाए पनि ठेकेदारको लापरवाहीले सो काम अघि बढ्न सकेको छैन ।
नगरका मेयर शिवाकोटीका अनुसार एउटा ठेकेदारले सन्तोषजनक काम नगरेपछि सरकारले उसको ठेक्का सम्झौता रद्द गरी अर्कोलाई काम गर्न दिँदा पुरानो ठेकेदारले पाटन उच्च अदालतमा मुद्दा हालेको छ । हाल सो मुद्दाको फैसला भइसकेको छैन ।

btm nali 5
एम्बुस जस्तै बनेको सडकको भौडी पार गर्न नसक्दा भाँचिएको सीटी रिक्सा ।

सीटी रिक्सा दुई टुक्रा भयो ः
सोही सडकको भौडी पार गर्न खोज्दा शुक्रवार दिउँसो मे१ह १९४७ नम्बरको सीटी रिक्सा दुर्घटनामा परेको छ ।

भौडी पार गर्न नसक्दा दुर्घटनामा परेको सो सीटी रिक्सा दुई टुक्रा भएको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

(सबै तस्वीर मोहन काजी)
……………….

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: