मृत्युपछिको सम्मान

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार ०१:४७


जन्म र मृत्यु साश्वत सत्य हो । मानिस जन्मिन्छ अनि मर्छ । दैनिक करोडौँ मानिस जन्मछन् र मर्छन् पनि । जन्मिनु र मर्नु भनेको जीवनचव्रm हो । जुन निरन्तर चलिहन्छ । यो नियमित हुने कुरा भए पनि केही मानिसको मृत्युले घर–परिवार, आफन्त मात्र नभई देश अनि विश्व नै शोकमग्न हुन्छ । मर्माहत् हुन्छ अनि उसको मृत्युले आफूलाई दुःखी तुल्याएको महसुस गर्छ ।
देश, समाज अनि राष्ट्रको स्वतन्त्रता, स्वाभिमान, विकास र गौरव बढाउन आफ्नो जीवन अर्पित गरेका व्यक्तिको अवसानले शोकाकुल हुनु नौलो होइन । त्यस्ता युग पुरुषको निधनबाट अपूरणीय क्षति हुन्छ । त्यस्ता व्यक्तिका ठाउँमा पूर्ति हुन केही वर्ष मात्र होइन, युग नै लाग्न सक्छ ।
हिरा बहुमूल्य पत्थर हो । तर, कोइलाबाट हिरा बन्छ । हिराको मूल्य र महत्व विशेष प्रकारको छ । त्यही कोइलालाई हिरा बन्न कैयौँ वर्ष लाग्छ । त्यसमा उचित ताप र चाप परेपछि कोइलाले हिराको रुप धारण गर्छ । जुन महत्वपूर्ण हुन्छ । त्यो जोसँग हुन्छ, उसले आफूलाई गौरवशाली ठान्दछ । त्यस्तै, युगौँसम्मको प्रतिक्षा र तपश्यापछि देश भनौँ वा विश्वले नै त्यस्ता युग पुरुषको प्राप्त गर्छन् । विश्व इतिहास त्यस्ता रत्न देख्न सकिन्छ ।
कुनै कुराको पनि महत्व गुमाएपछि मात्र हुँदो रहेछ । रहेसम्म वास्ता नगर्ने र नरहेका बेला त्यसको महत्व बुझ्ने परम्परा विश्व व्याप्त छ । विश्व इतिहास हेर्ने हो त्यस्ता कैयौँ व्यक्ति छन् । जसको मृत्युपछि गुनगान गरियो । वाहवाही गरियो । विभिन्न स्थानमा शालिक बनाइयो ।
हामीले पनि हालै साङ्गीतिक क्षेत्रका एक अनमोल रत्न गुमाएका छौँ । अम्बर गुरुङ साङ्गीतिक क्षेत्रका उज्जवल नक्षत्र जुन भौतिक रुपमा नरहे पनि कहिल्यै विलिन हुने छैन । नेपाली साङ्गीतिक आकाशमा सदैव चम्किरहने छन् । साङ्गीतिक क्षेत्रमा आफ्नो जीवन समर्पित गरेका गुरुङको जीवन सङ्घर्ष कम चुनौतीपूर्ण थिएन । आर्थिक अवस्था उनको कस्तो थियो भन्ने जगजाहेर नै छ । चाकडी नगर्ने स्वभाव र पेशाप्रतिको बफादारिता उनको गहना थियो । त्यही गहनाका साथ उनी बिदा पनि भए सदाका लागि ।
हामीमा मरेपछि गुनगान गाउने कला प्रशस्त छ । बाँचुन्जेलसम्म वास्ता नगर्ने अनि मरेपछि तारा, हिरा भनेर प्रचार गर्नु भन्दा त्यस्ता राष्ट्रिय धरोहरहरू जीवितै अवस्थामा हेचार गर्नु उचित हुन्छ । आर्थिक अवस्था कमजोर भएका अम्बर गुरुङको सहयोगबाट जीवन गुजार चलेको थियो भन्ने सबैलाई थाहा छ ।
अहिले पनि देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गरी देश र देशबासीका लागि लड्ने वीर पुरुष र महिला छन् । जीवन उत्सर्ग गरी हामीलाई स्वतन्त्र बनाउने सहिदका परिवार भोकभोकै बस्नुपर्ने अवस्था छ । अङ्गभङ्ग भई जीवन मरणको दोसाधमा रहेकाहरू पनि धेरै छन् । ती जीउँदा सहिदहरूको सम्मान गर्न ढिला भइसकेको छ । दोसल्ला ओढाएर मात्र होइन, जीवन धान्न सक्नेगरीको गाँस, बास र कपासको पनि व्यवस्था गर्नुपर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय जस्तौसुकै सम्मान दिए पनि मरेपछि मर्नेले के पाउलान्, त्यो सबैलाई थाहा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: