मेचीनगरका ‘एक्ला अपाङ्ग’ उम्मेद्वार

  प्रकाशित मिति
२ असार २०७४, शुक्रबार ११:२१


kamal 2 (1)

धुलावारी  । मेचीनगर–९ खुट्टीडाँगी निवासी कमल रसाइली माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएका छन् । उनी शारीरिक रुपमा अशक्त छन् । उनको दुवै खुट्टा चल्दैन । तिनै अशक्तहरुको प्रतिनिधित्व गरेर आफूले उम्मेद्वारी प्रस्तुत गरेको कमल बताउँछन् ।

पर्सी हुने उम्मेद्वारी दर्ता गर्न उनी पनि मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टा जानेछन् । कमल भन्छन्–‘अपाङ्गता भएकाहरुको प्रतिनिधित्व गर्दै म वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गर्दैछु ।’ उनले आफ्नो उम्मेद्वारी पार्टीभन्दा पनि शारीरिक अशक्तता भएका समुदायको हितका लागि रहेको बताए ।

५२ वर्षीय कमलको राजनीति सङ्घर्ष सम्झनलायक छ । २०३६ र २०५४ सालको स्थानीय चुनावमा उनले कम्युनिस्ट पार्टीका लागि घर–घरमा गएर भोट माग्ने काम गरे । जनवादी गीत गाएर कम्युनिस्ट पार्टीलाई जिताउन भूमिका खेलेको उनी बताउँछन् ।

सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्कै हुने कमलको त्यो सङ्गीत कलालाई कम्युनिस्ट पार्टीले सही सदुपयोग ग¥यो । २०५४ सालको स्थानीय चुनावमा उनले मेचीनगरमा प्रमुखका उम्मेद्वार रविन कोइराला र उपप्रमुखका उम्मेद्वार चन्द्र भण्डारीलाई जिताउन खुलेर सहयोग गरे । जनवादी गीतमार्फत् एमालेका दुवै उम्मेद्वारका लागि भोट मागेको उनी सम्झन्छन् । उनी भन्छन्– ‘त्यो बेला उहाँहरुका लागि मैले गीत गाएर भोट माग्ने मात्र काम गरिन, जिताएरै छाडे ।’

कम्युनिस्ट राजनीतिमा कमल आउनुका पछाडि चन्द्र भण्डारीको भूमिका रहेको छ । उनकै प्रेरणाले गर्दा आफूले राजनीति बुझ्न सकेको कमल बताउँछन् । उनी भन्छन्– मेरो राजनीतिक गुरु चन्द्र सर हुनुहुन्छ ।’

कमलले आफूले जानेको गीतसङ्गीत अरुलाई पनि बाँड्न भ्याए । उनैले तवला, मादल, गितार बजाउन सिकाएका टीका भण्डारी आज राष्ट्रका चर्चित सङ्गीतकारका रुपका चिनिन्छन् । कलाकार महेश बुढाथोकीलाई सङ्गीतमा हौसला दिने काम गरेको कमल बताउँछन् । टीका र कमल त्यसबेला गीतसङ्गीतमा खुबै रमाउने गर्थे । टीका आफ्नो करियर खोज्दै काठमाडौँ गए । तर, यहीँ बसेर परिवारमा समय दिनुपर्ने बाध्यताले गर्दा गीतसङ्गीतलाई कमलले अगाडि बढाउन सकेनन् ।

उनले त्यो बेला पार्टीबाट धेरै आशा राखेका रहेछन् । तर, समय र परिस्थिति विस्तारै परिवर्तन हुँदै गयो । पार्टीले त्यसबेला कुनै सहयोग नगरेको उनी बताउँछन् । उनी विस्तारै पार्टीबाट अलग हुँदै निष्कृय जीवन बिताउन थाले र आफ्नो परिवारको लालनपालनका निम्ति सङ्घर्षमा जुटे ।
लामो समयपछि माओवादी केन्द्र पार्टीको सदस्यता लिएर कमलले फेरि सव्रिmय राजनीतिलाई निरन्तरता दिएका छन् । माओवादीको सिद्धान्त मन परेपछि उनी २०६० सालदेखि सोही पार्टीको आन्दोलनमा छन् । उनी भन्छन्–‘अरुले आश्वासन मात्र बाँडे, तर माओवादीले मेरो दुःखसुखमा साथ दियो, त्यही भएर यसैलाई रोजेँ ।’

माओवादीले पनि मेचीनगरमा समावेशी ढङ्गले उम्मेद्वार छान्ने व्रmममा कमललाई टिकट दियो र उम्मेद्वार बनाएर चुनावी मैदानमा उतारेको छ । सम्भवत कमल मेचीनगरका एक्ला अपाङ्गता भएका वडा अध्यक्षका उम्मेद्वार हुन् ।

उनी यतिखेर दलित र अपाङ्गता भएका समुदायको एजेण्डा बोकेर घरदैलो अभियानमा सव्रिmय छन् । उनले चुनाव जितेमा छूवाछूतमुक्त समाज निर्माण, वडामा भएका हरेक अपाङ्गलाई रातो कार्डको व्यवस्था तथा सन्तुलित ढङ्गबाट विकासे योजना ल्याउने मतदातासमक्ष प्रतिबद्धता व्यक्त गरेका छन् । ‘जनतालाई धेरै आश्वासन बाँड्नु हुँदैन,’ उनी भन्छन्– ‘त्यसैले कार्यान्वयन गर्न सक्नेजति मात्र एजेण्डा जनतासमक्ष पुर्याएको छु ।’
‘सपाङ्गलाई पटक–पटक हेरियो, अब अपाङ्गलाई मौका’ दिनुपर्ने उनले बताए । मुलुकका ३३ लाख अपाङ्गता भएका साथीहरुको प्रतिनिधित्व गरेको बताउँदै कमलले आफूले जितेको खण्डमा हजारौँ अपाङ्गहरु खुशी हुने बताउँछन् ।

‘दैव र समाज दुवैले ठगेको छैन’ भनेर देखाउन आफूले उम्मेद्वारी दिएको समेत उनले स्पष्ट पारे । ‘अपाङ्गले केही गर्न सक्दैन भन्ने कुरा समाजमा रहिआएको छ,’ उनले भने– ‘उसलाई चिर्न आवश्यक छ, त्यसका लागि मेरो जीत जरुरी छ ।’

साविक मेचीनगर ४,५ र ६ नम्बर वडा मिलेर बनेको ९ न. वडाको जनसङ्ख्या ६ हजार ७ सय ८७ रहेको छ । सो वडामा काङ्ग्रेसबाट गोपाल खड्का र एमालेबाट कञ्चन तामाङ चुनावी मैदानमा छन् । तर पनि कमल सबैलाई रिझाएर चुनाव जित्ने दाउमा छन् । काङ्ग्रेस र एमालेका उम्मेद्वार चयनमा देखिएको विवाद र ढिलाइका कारण मत आफूतिर आउने उनी दाबी गर्छन् । यद्यपि परिणामका लागि भने चुनावसम्म कुर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: