मेचीनगरका घुम्नलायक १० गन्तव्य

  प्रकाशित मिति
१६ पुष २०७६, बुधबार ११:२९


झुलन रेग्मी / प्रकाश पौडेल

पूर्वी सिमानामा अवस्थित झापाको मेचीनगर धार्मिक, शैक्षिक तथा प्राकृतिक रुपमा धनी नगरमा चिनिन्छ । चर्चित धार्मिकस्थलहरु, मानवीय प्रयासमा विकसित बन्दै गरेका सिमसारहरु, सुन्दर प्राकृतिक छटा र पर्याप्त भौतिक पूर्वाधारको सङ्गमले मेचीनगर पछिल्लो समयमा ‘पर्यटन हब’ बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रशस्त गन्तव्यहरु रहेकै कारण पनि मेचीनगर यतिबेला पर्यटकका लागि आकर्षक सम्भावनायुक्त गन्तव्य बनेको हो ।

झुलन रेग्मी / प्रकाश पौडेल

मेचीनगरमा पौराणिक कथा बोकेको कृष्णथुम्की, पातालगङ्गा, पाउ पाथिभरादेखि सामुदायिक बनहरुले आफ्नै प्रयासमा सुरु गरेका सिमसार क्षेत्रहरुले पर्यटकको मन लोभ्याएको छ ।

यतिमात्रै होइन, शैक्षिक क्षेत्रमा देशकै नमूना विद्यालय तथा गरिब तथा बेसहाराका निम्ति आश्रयस्थलहरु पर्यटकका लागि अवलोकन तथा अध्ययनको विषय बन्ने गरेको छ ।

साँस्कृतिक रुपमा मेचीनगरमा विभिन्न समुदायको बसोबास रहेको छ । लोपोन्मुख किसान, मेचे, केवट, लेप्चालगायतका समुदायको कला संस्कृति लोभलाग्दा छन् । यिनै जातिहरुको संस्कृतिको अध्ययन र खोज बेला–बेला हुने गरेको छ ।

पूर्वी सिमाना काँकरभिट्टा व्यापारिक नाका हो । यहाँबाट भारत, भूटान, पाकिस्तान, बङ्गलादेशसँग सिधा व्यापार हुने गरेको छ । यो नाकाबाट भइरहेको व्यापारले देशकै अर्थतन्त्रलाई ठूलो टेवा पुग्दै आएको छ ।

सबै क्षेत्रबाट सम्भावना बोकेको मेचीनगर विकासमा फड्को मार्न खोजिरहेको छ । तर, यतिले मात्रै पुग्दैन । समग्र मेचीनगरको विकासमा स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र यहाँका नगरबासीको साझा प्रयास जरुरी छ ।

वरिपरि बस्ती बीचमा सिमसार

पछिल्लो समय मेचीनगर–९ मा अवस्थित खुट्टीडाँगी सिमसार पर्यटकको रोजाइमा परेको छ । वन समितिले सञ्चालनमा ल्याएको सिमसार क्षेत्रमा नौका विहार, बाल उद्यान, सेल्फी टावर, आइलेण्ड तथा पिकनिक स्पट रहेका छन् ।

शान्त वातावरणमा रहेको उक्त सिमसार क्षेत्रलाई वरिपरि बस्तीले घेरेको छ । नगरकै सानो वन रहेको खुट्टीडाँगीलाई ‘टुक्रे वन’ भनेर पनि चिनिन्छ । धुलाबारी मोडबाट करिब अढाइ किलोमिटर दुरीमा पर्ने सो सिमसारमा अहिले दैनिकजसो पिकनिक तथा रमाइलो गर्न आन्तरिक पर्यटकहरु आउने गरेको वन समूहका कार्यालय सचिव राजु धिमालले जानकारी दिए । उनका अनुसार काँकरभिट्टा क्षेत्रबाट धेरैजसो पिकनिक खान यहाँ आउने गरेका छन् । आम्दानीको स्रोत बढाउन उक्त वनले पर्यटकलाई अन्य हेर्न तथा घुम्नलायक पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ ।

थोप्लेविरानमा हात्तीसँग सेल्फी !

मेचीनगर–९ मै रहेको थोप्लेविरान बन समूह आशलाग्दो पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

पूर्वाधारको विकासमा जुटिरहेको उक्त वन क्षेत्रमा पिकनिक घर सञ्चालन, हात्ती तथा डाइनोसरको प्रतिमा राखिएको छ । सेल्फी खिच्नका लागि उक्त क्षेत्रमा पर्यटकहरु जाने गरेका छन् । वन समूहले पर्यटकलाई लोभ्याउने खालका योजनाहरु पनि ल्याएको छ । वन समूहले कोसेली घर सञ्चालन गर्ने र बहुमूल्य जडीबुडी सङ्कलन गरेर विक्री गर्ने योजना बनाएको सचिव जानुका ओलीले बताइन् ।

हात्ती प्रभावित क्षेत्रमा पर्ने उक्त वनमा लोप हुँदै गएको कर्मा, धँगेरो, बेललगायतका बनस्पति छन् । मानव र हात्तीबीचको द्वन्द्व भइरहेको बेला न्युनीकरण गर्ने उपायको खोजी गर्ने उपयुक्त केन्द्र थोप्लेविरान बन्न सक्छ ।

उत्कृष्ट शैक्षिक थलो

मेचीनगरका केही सामुदायिक तथा निजी विद्यालयहरु ‘शैक्षिक पर्यटन हब’ को रुपमा विकास भएका छन् ।

मेचीनगर–१४ मा रहेको बालसुवोधिनी आधारभूत विद्यालय, मेचीनगर–१०, धुलाबारीका इस्ट होराइजन मावि, धुलाबारी मावि, इटाभट्टाको आदर्श मावि, काँकरभिट्टाको काँकरभिट्टा मावि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल छन् । यी विद्यालयको शैक्षिक प्रगति हेर्न र बुझ्न देश अनि विदेशका शैक्षिक अभियन्ताहरु आउने गर्दछन् ।

बालसुवोधिनी विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार बालमैत्री वातावरणमा शैक्षिक क्रियाकलापहरु सञ्चालन भइरहेको छ । हरियाली, शान्त र सफा वातावरणमा विद्यालयका गतिवधिहरु हुने गरेका छन् । विद्यालयले अपनाएको शैक्षिक सुधार अरुका लागि शिक्षा दिने थलो बनेको छ ।

यता, धुलाबारी मावि नमूना विद्यालयमा पर्दछ । कुनैबेला धुलाबारी माविको शैक्षिक अवस्था खस्किएको थियो । तर, विस्तारै यसले फड्को मारेर अहिले प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्र बन्न सफल भएको छ । विगत वर्षदेखि सो विद्यालय अभिभावकको पहिलो रोजाइमा परेको छ ।

पातालबाट पानी निस्कने पातालगङ्गा

मेचीनगर–५ र ८ मा रहेको पातालगङ्गा तथा शिवालय मन्दिर पूर्वको उत्कृट धार्मिक पर्यटकीय स्थल मध्ये एक हो ।

धार्मिक इतिहास अनुसार अर्जुनले गौचरणमा जाँदा प्यास मेटाउन पानी खान मन लागेपछि धनुषले जमीनमा हानी पातालबाट पानी निकाली आफ्नो प्यास मेटाएको भन्ने जनमानसको कथन छ । जहाँ अहिले पनि बाह्रैमास त्यहाँबाट पानी निस्किरहन्छ ।

धार्मिक आस्थाका कारण अहिले पनि कुनै दुःख बिराम हँुदा यस मन्दिरमा पूजा आराधना गरेर जल अर्पण गरे निको हुने विश्वासका साथ मानिसहरु आउने गर्दछन् । महाशिवरात्रीको अवसरमा त्यहाँ मेला लाग्ने गरेको छ । पातालगङ्गा तथा शिवालय मन्दिरसँगै रहेको टोकला बगानको हरियालीले थप यस क्षेत्रलाई सुन्दरता थपेको छ ।

२०१४ सालमा सानो मन्दिर निर्माण गरिएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् । पातालगङ्गा तथा शिवालय मन्दिर १ विगाहा १२ कट्ठा क्षेत्रमा फैलिएको छ । पूर्व पश्चिम राजमार्ग इटाभट्टाबाट अढाई किलोमिटर उत्तर पूर्व यो धार्मिक स्थल रहेको छ ।

भगवानहरु बास बसेको ठाउँ कृष्णथुम्की

मेचीनगर–१ मा रहेको अर्को धार्मिक पर्यटकीय क्षेत्र हो कृष्ण थुम्की । पूर्वी नाका काँकरभिट्टाबाट करिब १८ किमी उत्तर जाँदा पुगिने यस पवित्र धार्मिक स्थलको पूर्वमा तिरिङ खोला र पश्चिममा करिब ६०० मिटरको दुरी जाँदा निन्दा खोला भेटिन्छन् । समुन्द्री सतहबाट ४७० मिटर उचाइँमा रहेको यस थुम्की वा डाँडाको शीर्ष भागमा भगवान् श्रीकृष्णको मन्दिर स्थापना गरिएको छ । आजभन्दा २० वर्ष अघि सामान्य वन क्षेत्रका रुपमा रहेको यस थुम्कीमा २०५५ सालमा विद्वान तथा इतिहासकार योगी नरहरिनाथबाट कृष्ण मन्दिरको शिलान्यास भएको थियो ।

कृष्ण थुम्कीको नामाकरणको इतिहास तथ्यगत रुपमा फेला परेको नभए तापनि महाभारतकालीन कथा र पात्रहरुसँग यसको प्रसङ्ग जोडिएको पाइन्छ । पाण्डवहरुको वनवास कालमा साथै गुप्तवासको अवस्थामा घुम्दै जादा यस ठाउँमा आइपुगेको ऐतिहासिक प्रसङ्ग किम्बदन्तीका रुपमा रहेको पाइन्छ । त्यस्तै, सत्तलसेन राजा, लोहासुर दैत्य, गुरु धौम्य आदिको समेत प्रसङ्ग महाभारतमा उल्लेख भएको छ । यस ठाउँको वरिपरि ती व्यक्तिहरुसँग सम्बन्धित नाम गरेका ठाउँहरु रहेको पाइनाले भगवान श्रीकृष्णसँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ ।

वनवास र गुप्तवास गरी १३ वर्षको अवधिभित्र घुम्दै यस ठाउँमा आइपुग्दा पूर्वतिर लोहासुर दैत्य राजाको राज्य रहेको, उत्तरतिर सत्तलसेन राजाको राज्य रहेको र लोहासुर दैत्यले सत्तलसेनलाई साह्रै दुःख दिँदै आएकाले सत्तलसेन राजाले कृष्णलाई दुःखबाट मुक्ति पाउन अनुरोध गर्दा उनको अनुरोधलाई स्वीकार्दै श्रीकृष्णले यसै थुम्कामाथि टेकेर लोहासुरको बध गरेको प्रसङ्ग चर्चित छ । कृष्णथुम्कीमा प्रत्येक वर्ष कृष्ण अष्टमीका दिन भव्य धार्मिक मेलाको आयोजना हुँदै आएको छ । अहिले कृष्णथुम्की पर्यटकको रोजाइमा परेको छ । कृष्णथुम्कीवाट झापा र पश्चिम बङ्गालका अधिकांश भूभागको दृश्वालोकन गर्न सकिन्छ ।

पहाडै पहाडको थुप्रो मिनी माउन्टेन

मेचीनगर–२ र इलामको रोङ गाउँपालिकामा अवस्थित मिनी माउन्टेन्न पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । बिशेष जाडो मौसममा बनभोजका लागि आन्तरिक तथा बाह्य जिल्लाका मानिसहरुको मन यहाँ आकर्षित हुन थालेको हो । पछिल्लो समय झापामा भएको अन्य पर्यटकीय स्थलहरुलेझैँ यस स्थानले पनि आफ्नो पहिचान विस्तारै बनाउन थालेको छ ।

वर्षाको समयमा आएको पानीले बनाएको हिमाल जस्तै देखिने चुचुरो र निन्दा खोलाको शान्त वातावरणमा रमाउन दैनिक सयौं मानिसहरु यहाँ पुग्न थालेका छन् । त्यसकारण यो पिकनिक स्पटको रुपमा विकसित हुँदै गएको यहाँका स्थानीयहरु बताउँछन् ।

हिमालको जस्तो चुचुरो, बाल उद्यान, प्राकृतिक सुन्दरता, शान्त वातारवरण र निन्दा खोलाको चिसो पानीमा पिकनिकका अलवा मानिसहरु पारिवारिक भ्रमण र युवायुवतीहरु गफ गर्न साथै सेल्फी खिच्न पुग्ने गरेका छन् । यहाँ रहेको झोलुङ्गे पुलले गर्दा पनि पर्यटक आकर्षित भएका छन् ।

पूर्व पश्चिम राजमार्गको इटाभट्टाबाट करिव १० किलोमिटर उत्तरमा पर्ने यो पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासको काम धमाधम भइरहेको छ । २०७०–०७१ सालदेखि यो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल सुरु गरिएको यहाँका स्थानीयहरु बताउँछन् । २०७४ सालमा आधिकारिक रुपमा ‘मिनी माउन्टेन पर्यटन विकास समिति’ दर्ता गरेर पर्यटकीय केन्द्र बनाउने कार्यको थालनी गरिएको थियो ।

पूर्वको फेवाताल निचाझोडा सिमसार

झापाको दुहागढीमा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समितिको निचाझोडा सिमसार ‘पूर्वको फेवाताल’ को रुपमा चिनिन थालेको छ । पोखराको फेवा तालपछिको पूर्वकै नमूना तालको रुपमा विकास गर्ने उद्देश्यले हातेमालो सामुदायिक वन समिति लागि परेको छ ।

मेचीनगर–१३ तथ १४ नम्वर वडामा फैलिएको सिमसार पूर्वकै नमूना सिमासारको रुपमा चिनिन थालेको हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम पौडेलले बताए ।

पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढीमा रहेको हातेमालो वन ३९१ हेक्टर क्षेत्रमा फैलिएको छ । करिब ५३ हेक्टरमा सिमसार क्षेत्र रहेको छ । सो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । हाल यहाँ वनभोज खान आन्तरिक पर्यटक आउने गरेका छन् ।

धार्मिक हब बन्दै चारआली

पूर्वी पहाडको प्रवेशद्वारको रुपमा रहेको चारआली पछिल्लो समय धर्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास भइरहेको छ । प्रगति सामुदायिक बन क्षेत्रको केही भागलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि स्थानीय जुटेका छन् । सबै धर्म र समुदायको प्रतिनिधित्व हुनेगरी चारआली चोक पश्चिम आर्मी व्यारेक अगाडि पूर्व पश्चिम राजमार्गबाट उत्तरपट्टीको भू–भागलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि काम अघि बढिरहेको छ । हाल सो क्षेत्रमा पाउ पाथिभरा मन्दिर, टाँसी फुन छोक छोई खोलिङ गुम्वा, किरातेश्वर माङ्हिम मन्दिरको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै, यस स्थल नजिकै उत्तरबाट दक्षिणतिर बगेको एक नदी छ, उत्तरगङ्गा । अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको छ । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोगव्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने जनविश्वास छ ।

अन्य पर्यटीय गन्तव्यहरु

मेचीनगरमा यस्ता थुप्रै आकर्षक गन्तव्य पर्यटकको रोजाइमा छन् । पूर्वी नाका काँकरभिट्टाको प्रवेशद्वार, नजिकै रहेको देवकोटा पार्क, विपी–पुष्पलाल वाटिका पनि घुम्नलायक छन् । त्यस्तै, इटाभट्टामा रहेको मेचीनगर नगरपालिकाको कार्यालय जो कोहीका लागि सुन्दर लाग्नसक्छ । यस्तै, बौद्ध गुम्वा, चर्च तथा मन्दिरहरु धर्मावलम्बीहरुका लागि आस्थाको धरोहरको केन्द्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: