मेचीनगरका ‘भावी न्यायाधीश’हरु

  प्रकाशित मिति
३१ जेष्ठ २०७४, बुधबार ०८:३८


मेचीनगर । ‘नगर न्यायाधीश’को अधिकार समेत पाउने उपमेयरका लागि मेचीनगरमा अहिलेसम्म चार महिला र एक पुरुष चुनावी भिडन्तमा उत्रिएका छन् ।
दोस्रो संविधानसभा चुनावलाई आधार मान्ने हो भने नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र राप्रपा यस नगरका ठूला राजनीतिक खेलाडी हुन् ।
एमालेबाट मीना पोखरेल उप्रेती, काङ्ग्रेसबाट दुर्गा खतिवडा, माओबादीबाट इन्दिरा कार्की र राप्रपाबाट सबिना बजगाई उपमेयर पदको उम्मेद्वार निश्चित भएकी छन् ।

तर, एमाले विभाजित भएर बनेको सङ्घीय समाजबादी पार्टी समेत मिसिएर बनेको हालको सङ्घीय समाजबादी फोरम र माओबादीको ठूलो हिस्सा उछिट्टिएर बनेको नयाँ शक्ति पार्टीले यसपटकको स्थानीय तहको चुनावमार्फत आफ्नो तागत परीक्षण गर्दैछन् ।

समाजबादी फोरमबाट अग्नीमाया मेचे र नयाँ शक्तिबाट गोकुल हुमागाई उपमेयरको उम्मेद्वार बनेका छन् । उपमेयरमा अरु सबै महिला उम्मेद्वार खडा भए पनि नयाँ शक्तिबाट पुरुष उम्मेद्वारले रोचक प्रतिष्पर्धा गर्दैछन् ।

आफैले चुनाव जित्ने दावाका साथ चुनावी प्रचारमा जुटिरहेका यी ‘नगर न्यायाधीश’का उम्मेद्वारहरुको व्यक्तित्व हेर्ने हो भने कसैलाई पनि कम आँक्न सकिदैन ।

sabina
सदावहार सक्रियता उनका लागि उपमेयरको उम्मेद्वारसम्म डोहोर्याउने एउटा बलियो आधार हो ।

शालीन सबिना :
राजनीतिप्रतिको लगाव बोकेर विभिन्न सामाजिक कार्ममार्फत चिनिदै आएकी एउटी सशक्त महिला नेतृ हुन् सबिना बजगाइँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई ‘नगर न्यायाधीश’को उम्मेद्वार बनाएको छ । विगतमा माओबादी राजनीतिक आस्था बोकेका बेला पनि सामाजिक सङ्घ संस्थामा उनी अरुभन्दा बढी नै सक्रिय हुन्छिन् । यही सदावहार सक्रियता उनका लागि उपमेयरको उम्मेद्वारसम्म डोहोर्याउने एउटा बलियो आधार हो ।

अन्याय र अत्याचार विरुद्ध सङ्घर्ष गर्ने छवि बनाएकी उनी झापा उद्योग वाणिज्य सङ्घकी जिल्ला सदस्य समेत हुन् । पार्टीले हिन्दु राज्य र संबैधानिक राजतन्त्रको मुद्दा बोके पनि उनी स्थानीय तहमा विकास निर्माण नै मूल मुद्दा बन्ने बताउँछिन् ।

२०३८ सालमा बुबा भरत कट्टेल र आमा निर्मला कट्टेलको कोखबाट धुलाबारीमा मै जन्मिएकी बजगाई राजनीतिमा सक्रिय भएर लागेको १३ बर्ष पुगिसकेको बताउँछिन् ।

विभिन्न सङ्घसंस्थामा बसेर जनताको धेरै काम गरेको अनुभव सुनाउँदै बजगाई भन्छिन्–‘मेरो उम्मेद्वारी महिला हिंसा न्यूनीकरण र सशक्तिकरणका लागि हो ।’
उनले घरदैलो अभियानमा जाँदै गर्दा सबैको समर्थन पाएको बताइन् । मतदाता सामू उनले भन्ने गरेकी छन्–‘मलाई एकपटक अवसर दिनुहोस्, म काम गरेर मतदाताको गुन तिर्नेछु ।’

बजगाई प्रायः मेचीनगरका सबै घर आँगनमा पुगेको बताउँछिन् । मतदाताले देखाएको विश्वासका कारण पनि आफुले चुनाव जित्ने उनको दाबी छ ।

meena pkh
सम्भवतः मेचीनगरका उम्मेद्वारहरुमध्ये सबैभन्दा उच्च शिक्षा प्राप्त गरेकी व्यक्ति

मिलनसार मीना :
नेकपा एमालेको विद्यार्थी फाँटबाट राजनीति सुरुवात गरेकी उपमेयरकी उम्मेद्वार मीनामा अहिले पनि जुझारुपन भेटिन्छ ।

विचारमा दृढ र व्यवहारमा लचिली मीनाले पार्टीभित्र उपमेयरको टिकट पाउन निकै रस्साकस्सी बेहोर्नु पर्यो । सुरुदेखि नै उपमेयरमा उनको चर्चा चुलिए पनि निर्णायक घडीमा टिकट झण्डै चिप्लिएको थियो ।

स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी उनी सम्भवतः मेचीनगरका उम्मेद्वारहरुमध्ये सबैभन्दा उच्च शिक्षा प्राप्त गरेकी व्यक्ति हुन् ।
उपमेयरको जिम्मेवारीमा न्यायिक फाँट पर्ने भएकाले आफुले त्यो दायित्व कुशलतापूर्वक निर्वाह गर्न सक्ने उनको जिकीर छ ।

‘न्यायको पहुँचबाट आम नेपाली टाढा छन्, त्यसमा पनि महिलाको अवस्था कारुणिक छ’, उपमेयरको दावेदार मीना भन्छिन्–‘जितेर गए पछि म महिलालाई न्यायमा पहुँच पुर्याउन वडाहरुमा छुट्टै कानूनी सहायता पुर्याउने डेस्क राख्ने छु ।’

२०२६ सालमा बुबा रुद्रप्रसाद पोखरेल र आमा जानुका पोखरेलको कोखबाट मोरङमा जन्मिएकी उप्रेतीले १६ बर्षको उमेरदेखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन् ।

२०४१ सालदेखि विद्यार्थी जीवनबाट राजनीति करियर सुरु गरेकी मिनाले २०४६ सालको जनान्दोलनमा जेल जीवन समेत बिताएको सुनाइन् ।
जीवनको उर्वर समय राजनीति र सामाजिक क्षेत्रमा विताएकी उप्रेतीले सामाजमा हिजो आफूले गरेको कार्यले नै यो चुनावमा विजयी गराउन जनता उत्साही भएर लागेको बताइन् ।

त्रिदेव बहुमुखी क्याम्पस चारआलीको प्राध्यापन पेशा छाडेर राजनीतिमै आफ्नो करिअर अघि बढाएकी उप्रेती भन्छिन्–‘मेरो उम्मेद्वारी यस क्षेत्रको शिक्षा, स्वास्थ्य र मेचीनगरको समग्र समृद्धिका लागि हो ।’

मेचीनगरमा अन्याय, अत्याचार र हिंसामा परेका महिलालाई न्याय दिलाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताइन् ।

durga
पारिवारिक पृष्ठभूमि नै काङ्ग्रेसको राजनीति

दर्बिली दुर्गा :
नेपाली काङ्ग्रेसबाट टिकट पाएकी दुर्गा खतिवडा धुलावारी निवासी हुन् । काङ्ग्रेसभित्रको प्रतिष्पर्धामा उनलाई टक्कर दिने महिला नेतृ अरु कोही देखिएनन् । अन्ततः उनले सजिलै उपमेयरको टिकट पाइन् ।

महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष रहेकी उनी नेपाल महिला सङ्घकी जिल्ला नेतृ हुन् । पार्टीमा महाधिवेशन प्रतिनिधि रहेकी उनी कुशल वक्ता हुन् ।
पारिवारिक पृष्ठभूमि नै काङ्ग्रेसको राजनीति भएको कारण उनलाई पार्टीका बारेमा राम्रो ज्ञान भएको मानिन्छ । सामाजिक संस्थाहरुमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी उनले मेचीनगर नगरपालिकाको महिला समन्वय समितिको उपाध्यक्ष पदमा समेत एकपटक नियुक्ति पाएकी थिइन् ।

चुनाव जित्ने आत्मविश्वास बोकेकी खतिवडा मेचीनगरमा विजयको झण्डा फहराउन कसैले आफूलाई रोक्न र छेक्न नसक्ने बताउँछिन् ।
सहकारी तथा सङ्घ संस्थाको माध्यमबाट धेरै असहाय र गरिब दुःखीका लागि जीविकोपार्जनको माध्यम बनाइदिन आफुले भूमिका खेलेको बताउने उनी त्यहीकारणले चुनावमा विजय बन्न सहज हुने बताउँछिन् । भन्छिन्–‘मेरो जित भनेको मेरो लोकप्रियता हो ।’

उनले आफूले चुनाव जितेमा महिला तथा युवालाई स्वरोजगार बनाउन आयआर्जनको ठोस योजना ल्याउने बताइन् ।

‘तपाई जस्तो हाम्रा समस्या सुनिदिने बुझिदिने मान्छे हामीलाई चाहिएको छ’, घरदैलोमा जाँदा मतदाताले भनेको कुरा सुनाउँदै उनी भन्छिन्–‘ढुक्क हुनुहोस्, हामी जिताउँछौं भन्छन् ।’

२०२१ सालमा बुबा शङ्कर भूर्तेल र आमा तारा भूर्तेलकी जेठी छोरीको रुपमा भद्रपुरमा जन्मिएकी खतिवडाको बाल्यकालदेखि नै नशा नशामा राजनीति बगेको छ ।
राजनीति पृष्ठभूमि भएको परिवार हुँदा राजनीतिमा सक्रिय भएर लाग्न समेत आफूलाई प्रेरणा मिलेको उनी बताउँछिन् । उनी २०३६ सालको विद्यार्थी आन्दोलनबाट अझ सक्रिय भएर राजनीतिमा लागेको बताउँछिन् ।

उनले आफू विधिको शासनमा विश्वास गर्ने हुँदा अन्याय र अत्याचारमा परेका महिलालाई न्यायमा सहज पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
भन्छिन्–‘उपमेयरको जिम्मेवारी नै न्यायिक फाँट हेर्ने हो, चुनाव जिते भने मेचीनगरका महिलालाई हिंसाबाट मुक्त गर्ने पहिलो योजना हुनेछ ।’

indira karki
भूमिगत राजनीतिमा होमिएकी जुझारु नेतृ

इमान्दार इन्दिरा :
हिजो जनयुद्धमा होमिएका थोरै मात्र महिला शान्ति प्रक्रियाको सफलतापछि राजनीतिको मूलधारमा अटाएका छन् । तिनै थोरै सङ्घर्षशील महिला नेतृमध्ये एक हुन्–इन्दिरा कार्की  । मेचीनगरको खुट्टिडाँगी घर भएकी उनी नेकपा माओबादीको तर्फबाट ‘नगर न्यायाधीश’को भूमिका निर्वाह गर्नु पर्ने उपमेयर पदमा उम्मेद्वार बनेकी छन् ।

देश र जनताको हितका लागि हिजो ज्यानको समेत पर्वाह नगरी भूमिगत राजनीतिमा होमिएकी जुझारु इन्दिरालाई आम मतदाताले सहानुभूति प्रकट गर्ने गर्छन् ।
इमान्दार नेताको रुपमा उनलाई मतदाताले लिएका छन् । उपमेयरको टिकट पाउन समेत उनलाई पार्टीभित्र खासै गाह्रो भएन ।

२०४१ सालमा बुबा ललितबहादुर कार्की र आमा तिलरुपा कार्कीको सन्तानको रुपमा तेह्रथुममा जन्मिएकी इन्दिराको राजनीतिक करियर भने कलेजबाट सुरु भएको हो ।

उनले २०५९ सालमा सुरुङ्गा क्याम्पसको विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरिन् । सुरुदेखि नै नेकपा माओवादीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी उनले विगतमा सामाजिक सङ्घसंस्थामा बसेर जनतालाई दुःख सुखमा साथ दिएको अनुभव सुनाउँदै भनिन्–‘उहाँहरुकै मतले नै म विजयी हुनेछु ।’

उनले महिलाको क्षेत्रमा छुट्टिएको बजेटलाई व्यवस्थित गरी महिलाकै सशक्तिकरण र उत्थानका लागि खर्च गर्ने आफ्नो योजना भएको समेत बताइन् ।
माओवादी नेतृ इन्दिराले महिलालाई आरक्षण होइन समान सहभागिता चाहिएको बताउँदै भन्छिन् आफ्नो उम्मेद्वारी राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा महिलाको समान सहभागिताका लागि भएको जनाइन् ।

उनले विजय भएपछि नगरको राजनीतिमा देखिएको विकृति विसङ्गतिको अन्त्य गर्ने बताइन् ।
उनले घरदैलो अभियानका क्रममा मेचीनगरका दुर्गम गाउँहरु बाहुनडाँगी, ज्यामरिगढी, धाइजन, दुहागढीलगायतका क्षेत्रमा अझै पनि खानेपानीको सहज आपूर्ति नभएको, शिक्षा स्वास्थ्य र जीविकोपार्जनमै जनतालाई समस्या परेको पाइएको बताइन् ।

agni
मेचे समुदायकी जुझारु नेतृ

आत्मविश्वासी अग्नीमाया :
सङ्घीय समाजवादी फोरमले मेचे समुदायकी जुझारु नेतृ अग्नीमाया मेचेलाई उपमेयरको उम्मेद्वार बनाएको छ ।  जनान्दोलन २०६२÷०६३ देखि सक्रिय राजनीतिमा लागेकी उनी आदिवासी जनजातिको उत्थानको लागि आफ्नो उम्मेद्वारी भएको बताउँछिन् ।

आदिवासी अल्पसङ्ख्यक समुदायबाट राजनीतिमा उदाएकी उनी प्रखर वक्ता हुन् । मेचे समुदायबाट नगरको उपल्लो पदमा उम्मेद्वार बनेकी उनी एक्ली उम्मेद्वार हुन् ।

सधैँ पछाडि पारिएको आदिवासी जनजाति समुदायको मुद्दाको पहिचान गरी उनीहरुलाई न्यायको पहँुचमा पुर्याउनका लागि आफुले उम्मेद्वारी दिएको बताउने उनी चुनाव जितेपछि सबैको साझा भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् ।

आदिवासी जनजाति समुदायको व्यक्तित्व विकास र रोजगारका लागि विशेष योजना लागू गराउने उनको ध्येय छ ।
२०३४ सालमा बुबा जालिम दुनवार र आमा सरस्वती दनुवारकी जेठी छोरीको रुपमा बाहुनडाँगीमा जन्मिएकी उनले मनोज मेचेसँग विवाह गरेकी हुन् ।

मेचीनगरमा आदिवासी जनजातिको बाहुल्य रहेको तर्क प्रस्तुत गर्दै आफ्नो जित सुनिश्चित भउको दावा गरिन् । उनको विश्वास छ–‘जुनसकै पार्टीमा आस्था राख्ने मतदाता भए पनि मलाई एक भोट उहाँहरुले दिनुहुने छ ।’

gokul
अत्यन्त सरल र राजनीतिक रुपमा सचेत

गुनिला गोकुल :
व्यवसाय गरेर इमानपूर्वक जीविका चलाउँदै आएका धुलावारीका गोकुल (कान्छा) हुमागाई लामो समयदेखि मेचीनगरमा सामाजिक सेवामा परिचित युवा हुन् ।
आफ्नै पालामा समृद्धि ल्याउने उद्घोषका साथ राजनीतिक अभियान चलाइरहेको नयाँ शक्ति पार्टीको नजरमा गोकुल परे । उनको सामाजिक छवि र इमान्दारी नै राजनीतिमा अघि बढाउने मुख्य कारण हो ।

अहिले उनी नयाँ शक्ति पार्टीका तर्फबाट मेचीनगरको उपमेयर पदमा उम्मेद्वार बनेका छन् । रोलिङ क्लव लगायतका विभिन्न खेलकुदसम्बद्ध समितिमा पदाधिकारी रहेर उनले मेचीनगरको खेल जगतलाई अघि बढाउन समेत योगदान दिएका छन् ।

व्यक्तिगत रुपमा अत्यन्त सरल र राजनीतिक रुपमा अत्यन्त सचेत रहेका उनी विगतमा माओबादी राजनीतिमा सक्रिय थिए । माओबादी छाडेर उनी नयाँ शक्तिमा लागेका हुन् ।

आम नागरिकले अहिले भ्रष्टाचार नगर्ने, सर्वसाधारणका गुनासा सुनिदिने र बुझिदिने, आर्थिक समृद्धिका लागि योजना ल्याउन सक्ने, सामाजिक छवि भएको व्यक्तिलाई नगरपालिकाको नेतृत्वमा पुर्याउन चाहेको बुझेका गोकुल त्यस्तो पात्र आफु भएको दावा गर्छन् ।

गोकुलको पार्टीले नगरको मेयर पदमा महिला उम्मेद्वार उठाएका कारण उपमेयरमा आफु उठ्नु परेको प्रस्ट पारे । ‘अरु पार्टीले उपमेयरमा मात्र महिलालाई स्थान दिए’, हाल घरदैलोमा व्यस्त रहेका उनी भन्छन्–‘तर नयाँ शक्तिले मेयरमै महिलालाई अवसर दिएको छ ।’

नयाँ पार्टी र नयाँ सङ्गठन भए पनि मेचीनगरवासीले नयाँ शक्तिका उम्मेद्वारलाई जिताउने उनले दावी गरेका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: