मेचीनगर, ५ असोज । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा सुनसरीको इनरुवा–४ की ४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र झापाको मेचीनगर–८ की ७२ वर्षीया वृद्धाको आइतबार राति ९ वजेर २० मिनेटको समयमा मृत्यु भएको हो ।
इनरुवाकी महिला भदौ ३० गते उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएकी थिइन् ।
मेडिसिन वार्डमा भर्ना भएकै समयमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको र असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना देखिएपछि सोही दिन उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा सारिएको थियो । उनले नियमित डायलासिस समेत गराउँदै आइरहेकी थिइन् ।
झापाको मेचीनगरकी वृद्धा भने असोज ४ गते श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर प्रतिष्ठानमा भर्ना भएकी थिइन् । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिष्ठानमा मृत्यु भएका दुबै जनाको शव व्यवस्थापनको तयारी भइरहेको डा. सापकोटाले बताएका छन् ।
योसँगै झापामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मेचीनगरमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।
(अब दैनिक)