मेचीनगरको पहिलो नगरसभा जारी

  प्रकाशित मिति
२७ पुष २०७४, बिहीबार १०:५७


काँकरभिट्टा । प्रतिनिधि सभाका सांसद राम कार्कीले मेचीनगरको विकासका लागि आफू सँधै जनतासँगै रहेर काम गर्ने बताएका छन् ।

मेचीनगर नगरपालिकाको प्रथम नगरसभाको बुधवार काँकरभिट्टामा उद्घाटन गर्दै कार्कीले यस्तो बताएका हुन् ।

सांसद कार्कीले आफू मेचीनगरका आम जनताको प्रतिनिधि भएकाले यस क्षेत्रको विकासका लागि सधैँ लागी पर्ने बताए । उनले हिजो निर्वाचनका समयमा पार्टीगत रुपमा अगाडि आए पनि अब जनताले विश्वास गरेर निर्वाचित गरिसकेपछि सबैको साझा भएर काम गर्नु आफ्नो मुख्य लक्ष्य भएको स्पष्ट पारे । उनले मेचीनगरका आम जनप्रतिनिधिलाई समेत पार्टीगत स्वार्थभन्दा माथि रहेर काम गर्न आग्रह गरे ।

‘हामीलाई जनताले काम गर्नका लागि म्याण्डेट दिनु भएको छ’, कार्कीले भने–‘अबको ५ वर्षसम्म तिनै जनताको सेवामा लाग्नु पर्छ । म पनि तपाईहरुसँगै रहेर यस क्षेत्रको सर्वाङ्गीण विकासका गर्न लागि पर्नेछु ।’

मेचीनगर साधन र स्रोतले सम्पन्न भएको बताउँदै कार्कीले यसको सही सदुपयोग गदै समृद्ध मेचीनगर निर्माण गर्न सकिने बताए । नगरसभाले बनाउने नीति नियम र छनोट गरेका योजनाले विशेष विपन्न, लक्षित वर्गको उत्थानमा सहयोग पुग्नु पर्ने कार्कीको जोड थियो ।

‘तपाईंहरुले स्थानीय कानुन बनाउँदा, योजना तर्जुमा गर्दा, बजेट विनियोजन गर्दा विशेष ध्यान दिनुहोला’, कार्कीले भने–‘श्रमजिवी, विपन्न समुदायको तुलनामा पुँजीवादीहरुलाई लगाउने करको दायरा फरक बनाउनु होला ।’

राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने उनले बताए । सांसद कार्कीले मेचीनगरका हरेक गतिविधिलाई सूचनाका दृष्टिले तुरुन्त उपलब्ध हुनेगरी नगरको कार्यालयमा अभिलेख राख्न सुझाव दिए ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, आदिवासी, सिमान्तकृत, अल्पसङ्ख्यक जनसङ्ख्या तथा पढेका र नपढेका व्यक्तिहरुको लगत समेत तयार गरी अघि बढ्न आवश्यक रहेको बताए । आगामी ५ वर्षभित्र समृद्ध नगर निर्माणको परिकल्पनामा जुट्न कर्मचारी र जनप्रतिनिधिलाई आग्रह गरे ।

साथै उनले नेपालमा कर्मचारीतन्त्र हावी भएको भन्दै उनले कर्मचारीतन्त्रमा सुधारको खाँचो औल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा ‘ख’ का सांसद गोपालचन्द्र बुढाथोकीले नगरमा भएका सम्भाव्यताहरुलाई अध्ययन गरेर योजना निर्माण र छनोट, बजेट विनियोजन र विकास निर्माणका कार्यहरु अघि बढाउनु पर्ने बताए ।

‘नगरको भविष्य निर्माणका लागि तपाईंहरु आजबाट एकजुट हुनु भएको छ, समृद्धिको थालनी आजैबाट भएको छ,’ बुढाथोकीले भने–‘नीति निर्माण, योजना छनोट, बजेट विनियोजन गर्न चुनौती छ, यसलाई गम्भीर छलफल गरेर अघि बढ्नु होला ।’

प्रदेश ‘क’ का सांसद श्रीप्रसाद मैनालीले स्थानीय तह सञ्चालनमा जनप्रतिनिधिहरुलाई अवसरसँगै चुनौती र जटीलता भएको भन्दै निरन्तर छलफलका माध्यमबाट अघि बढ्न सुझाव दिए ।

‘हामी सबै जनप्रतिनिधिहरुलाई अहिले अग्नि परीक्षाको समय हो, जनभावना अनुसार काम गर्न सके यो अवसर हो सकिएन भने यो चुनौती बनेर हाम्रो सामु खडा हुनेछ’, मैनालीले भने–‘धेरै विषयहरु अत्यन्तै गम्भीर प्रकृतिका छन्, जनताप्रति जवाफदेही बनेर काम गर्न र जनभावना अनुसारको नीति नियम र बजेट ल्याउन म अनुरोध गर्दछु ।’

जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले नगरसभा बस्न ढिला भएका कारण स्थानीय तह सञ्चालनका लागि आवश्यक नीति नियम बनाउन ढिलो भएको बताए ।

स्थानीय तह अधिकार सम्पन्न भए तापनि त्यसको अनुभूति जनताले गर्न नपाउँदा सिंहदरवारको अधिकार घरघरमा आइनसकेको बताए ।

‘नगरसभाको काम बजेट पास गर्ने, योजना छनोट गर्ने मात्र होइन’, पोर्तेलले भने–‘यसै पनि नगरसभा बस्न ढिलो भइसकेको छ । नगरसभा सञ्चालनका लागि आवश्यक ऐन कानुन निर्माण चाँडो गर्नु आवश्यक छ ।’

चुनावको समयमा सिंहदरवारको अधिकार घर–घरमा ल्याउने भनेर गरेको प्रतिवद्धता अनुसार काम हुन नसकेको भन्दै उनले अधिकार सम्पन्न स्थानीय सरकारले जनभावना अनुसार कार्य गर्नु पर्ने बताए ।

कार्यक्रमका सभापति तथा मेचीनगर नगरप्रमुख विमल आचार्यले नगर परिषद बस्न ढिलो भएको स्विकार गरे ।

उनले मतदाताको फोटो खिचाई, वर्खाको बाढी, दशंै तिहार, मङ्सिर २१ को प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आदिका कारण नगरसभा ढिलो भएको बताए ।

‘हामीले आजबाट सुरुवात गरेका छौँ, पहिलो सभाबाट धेरै प्रस्तावहरु पास गरेर लैजान्छौँ, विकास निर्माणमा केन्द्रित हुन्छौँ’ मेयर आचार्यले भने–‘पाँच वर्षको बिचमा शहरी विकास मोडलहरु, सडक, विजुली, ढल, गरीवि निवारणलगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गर्नेछौँ ।’

नगर प्रमुख आचार्यले नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा नगरको ध्यान जाने बताए । नगरमा सबै नागरिकको प्रोफाइल तयार गर्ने, जनताको अधिकार स्थापित गर्ने, अधिकार सम्पन्न नगरका सबै वडाको समान विकास गर्न सबैले आवश्यक सहयोग गर्ने अपेक्षा गरे ।

एमाले नेता विष्णु प्रसाईले नगरको विकासका लागि सबै पार्टीहरु एक भएर काम गर्नु पर्ने बताए ।

उनले जुन क्षेत्रमा काम गर्न अत्यावश्यक छ त्यसलाई प्राथमिकतामा राखेर सबै वडाहरुमा समान विकासका योजनाहरु अघि सार्न जनप्रतिनिधिलाई सुझाव दिए ।

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले जनताले दिएको मतको कदर गर्दै अल्पमत र बहुमतको कुरा नगरी सबै जनप्रतिनिधिहरु एक ठाउँमा उभिएर नगरको नयाँ बजेट ल्याउन सुझाव दिए ।

नेपाली काङ्ग्रेसकी नेतृ तथा उपमेयरकी प्रत्यासी दुर्गा खतिवडाले निर्वाचनका समयमा जुनसुकै पार्टीबाट आए पनि अब साझा भएर जनताको पक्षमा काम गर्नु पर्ने बताइन् ।

माओवादी नेता बोधराज दाहालले समृद्ध नगर विकासका लागि सबै क्षेत्रबाट साथ र सहयोग हुनु पर्ने बताए । उनले जनताका लागि काम गर्न गएका प्रतिनिधिहरुले आफ्नो पार्टीको स्वार्थ भन्दा माथि रहेर काम गर्न समेत सुझाव दिए ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले भौगोलिक रुपमा जिल्लाकै ठूलो र सबैभन्दा धेरै वडा भएको नगरमा सबै वडाहरुमा समानुपातिक ढङ्गले योजना छनोट र बजेट विनियोजनमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा एमालेका जिल्ला सदस्य देवकुमार राई, क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल, काङ्ग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाका नगर अध्यक्ष शुशिल आचार्य, सङ्घीय समाजवादी फोरमका नगर अध्यक्ष प्रकाश खापुङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टङ्क भट्टराई, सशस्त्रका डीएसपी बस्नेत, माओवादी नेता हंशलाल राजवंशी, माओबादी नेता माधव अर्याल, काँकरभिट्टा खानेपानीका अध्यक्ष सूर्यप्रकाश उप्रेती, नयाँ शक्ति नेपालका नेता पुुष्प पौडेल, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लव मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न कार्यक्रमको स्वागत उपमेयर मिना उप्रेती र सञ्चालन नगरका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: