मेचीनगरको बेरुजु अझै ७ करोड

  प्रकाशित मिति
२३ चैत्र २०७५, शनिबार १०:५६


अर्जुन कार्की

इटाभट्टा । विगत वर्षहरुमा डाँडाकाँडा ढाकेको मेचीनगर नगरपालिकाको बेरुजु जनप्रतिनिधि आएसँगै केही कम भएको छ । तर, घटेको भनिएको बेरुजु पनि अझै ७ करोड रुपैयाँ छ ।

नगरपालिका कार्यालय कर्मचारीले चलाउँदा बेरुजुले सगरमाथा छुन आँटेको थियो । निर्वाचित जनप्रतिनिधि आए लगत्तै फछ्र्यौट दर बढेको हो ।

करीव दुई दशकसम्म नगरपालिकामा कर्मचारीको हालीमुहाली रह्यो । त्यसबेला कर्मचारीहरुले बजेट आफै बाँड्थे र आफै हिसाब मिलाउँथे र आफ्नो कामको अनुगमन पनि आफै गर्थें ।

कर्मचारीले चलाउँदासम्म मेचीनगरको बेरुजु ११ करोडभन्दा बढी थियो । अहिले जननिर्वाचित प्रतिनिधि आएको एक वर्ष नबित्दै बेरुजु घटेर ७ करोडमा झरेको छ ।

पहिले बेढी बेरुजु हुनुमा कर्मचारी मात्र दोषी छैनन् । त्यसबेला राजनीतिक दलको संयन्त्र भनेर शक्तिशाली सर्वदलीय सिन्डिकेटले नगरपालिकामा निर्णायक प्रभाव पार्दथ्यो । दलीय सिन्डिकेटले गर्दा बेरुजु बढेको थियो ।

स्थानीय तहको चुनाव हुनु अघि आव २०७३÷७४ मा मेची नगरपालिकाको बेरुजु ११ करोड ९ लाख ८३ हजार ९ सय ३५ रुपैयाँ रहेको महालेखा परीक्षणमा देखिएको थियो ।

जवकि चुनावपछि निर्वाचित जनप्रतिनिधिहरु आएसँगै २०७४÷७५ सालमा बेरुजु घटेर ७ करोड ४५ लाख १५ हजार रुपैयाँ भएको छ ।

नगरपालिका कार्यालयका सूचना अधिकारी तथा लेखा अधिकृत पदमबहादुर कार्की विगतमा बेरुजु धेरै भए पनि हाल त्यसमा निकै सुधार आइसकेको बताउँछन् ।

‘महालेखा परीक्षकबाट दिइएको प्रारम्भिक लेखा प्रतिवेदन अनुसार बेरुजु फछ्र्यौट गर्ने म्याद ३५ दिनको हुन्छ’, सूचना अधिकारी कार्कीले भने–‘ त्यो ३५ दिन नबित्दै १ करोड ६९ लाख ४२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भएको छ ।’

अब ५ करोड ७४ लाख रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको उनले बताए ।

बेरुजु विभिन्न किसिमको छ । कामका लागि छुट्याइएको बजेट विधिसम्मत प्रक्रियाबाट खर्च नगरिदा र त्यसको विलभर्पाइ नबनाइँदा समेत बेरुजु हुन्छ । काम भएको पुष्टि गर्ने आधार नभएको रकमलाई बेरुजु मानिदै आएको छ ।

मेचीनगरमा सबैभन्दा बढी बेरुजु उपभोक्ता समितिको नाममा भएको छ । राजनीतिक पहुँच भएकाहरुले उपभोक्ता समितिको नाममा लगेको पेश्की रकम फछ्र्यौट नहुँदा बेरुजु बढेको बड्यै छ ।

नगरपालिकाले जनाए अनुसार उपभोक्ताको पेश्की बापतको ३ करोड ८३ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको छ । उपभोक्ता र जनप्रतिनिधिहरुबाट ६७ लाख ४६ हजार रुपैयाँ फछ्र्यौट हुन बाँकी रहेको छ ।

कागजात नपुगेको तथा लगत स्टीमेट नभएको बेरुजु २७ लाख ६९ हजार र कार्यसम्पन्न प्रतिवेदन पेश नभएको ९६ लाख १ हजार रहेको छ ।

गत फागुन ४ गते महालेखा परीक्षकको कार्यालयबाट आएका कर्मचारीहरुले लेखा परीक्षण गरी फागुन ८ गते उक्त बेरुजुको प्रारम्भिक प्रतिवेदन बुझाएका थिए ।

बेरुजु भएको जानकारी भए लगत्तै केही समयभित्र १ करोड ६९ लाख ४२ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भएको थियो ।

आव २०७३÷७४ सालको ११ करोड ९ लाख ८३ हजार ९ सय ३५ रुपैयाँ बेरुजु पनि आवश्यक कागजात जुटाएर तीन लाख बाहेक सबै फछ्र्यौट गरिएको बताइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भरपाई नराखेको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना औल्याएका छन् ।

नगरपालिकाको बेरुजु बारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले विगतमा के के शीर्षकमा बेरुजु भएको छ, त्यो हेर्न बाँकी रहेको तर आफू आइसकेपछि बेरुजु रकममा कमी आएको दावी गरे ।

काम पूरा नगर्दा पेश्की रकम फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए पनि मेचीनगरमा विगत वर्षदेखिका कतिपय योजना अपुरै रहेको र लगेको पेश्की पनि अहिलेसम्म बुझाइएको छैन । केही योजनाको नक्कली कागजात र बिल बनाएर पेश गरी बजेट दुरुपयोग गरिएको समेत पाइएको छ ।

‘मेची नगरपालिकामा बेरुजु हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो’, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल भन्छन्–‘बेरुजु छ भने तुरुन्त फछ्र्यौट गर्नु पर्छ । जुन कामको लागि लिएको पेश्की रकम हो त्यही प्रयोजनमा बजेट खर्च हुनुपर्छ ।’

विगत २० वर्षसम्म कर्मचारीले जे गरे अब जनप्रतिनिधिले त्यसो गर्न नहुने अध्यक्ष अर्यालको भनाई छ ।

उनले जनप्रतिनिधिलाई नगरवासीप्रति जिम्मेवार, इमानदार र पारदर्शी बन्न आग्रह गरेका छन् ।

कर्मचारी वा जनप्रतिनिधिले जे शिर्षकमा पेश्की लिएको हो त्यो काम पुरा नगरे दोषीउपर कानुनी उपचार खोज्नु उपयुक्त हुने अर्यालको सुझाव छ ।

नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकीले नगरको विकास निर्माण लगायतका विभिन्न योजनामा बेरुजु निस्कनु ठिक नभएको बताए ।

विकासका काममा पेश्की लिएर समयमा काम नहुनु ठेकेदार, कर्मचारी र जनप्रतिनिधिको लापरवाही भएको सभापति बुढाथोकीको भनाई छ ।

बुढाथोकीले यसमा राजनीतिक दलहरुको पनि कमजोरी रहेको बताए । एउटा उपभोक्ता समितिलाई सबै कामको जिम्मा दिँदा त्यस्तो बेरुजुको समस्या आउने गरेको उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: