मेचीनगर । नगरप्रमुख विमल आचार्यले मेचीनगरलाई सुन्दर र समृद्ध बनाउने योजनाका साथ विकासको ढाँचालाई पुरानोबाट नयाँतिर लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाको प्रथम नगरसभाका निर्णयहरु विहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नगरप्रमुख आचार्यले त्यस्तो बताएका हुन् ।
‘अहिलेसम्म पुरानो ढाँचाबाट विकास हुँदै आएका थिए’, नगरप्रमुख आचार्यले भनेका छन्–‘अब नयाँ ढाँचाबाट अर्बन डेभलपमेन्ट मोडलमा विकासका कार्य अघि बढाइने छ ।’
बुधवार काँकरभिट्टा खानेपानीको हलमा सुरु भएको नगरसभा चालु आवको बजेट, नीति तथा कार्यक्रम, विधेयक लगायतका अन्य निर्णयहरु गर्दै विहीवार सम्पन्न भएको हो ।
नगरसभा सम्पन्न भएपछि नगरपालिकाले खानेपानी हलमै निर्णय सार्वजनिक कार्यक्रमको आयोजना गरेको हो ।
नगरसभाले चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि १ अर्ब ३२ लाख रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सर्वंसम्मत रुपमा अनुमोदन गरेको उनले जानकारी दिएका छन् ।
सभाले ६ वटा विषयगत समितिको कार्यक्षेत्र तोकेको, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्राथमिकता दिएको र अति आवश्यकीय २२ वटा निर्णयहरु गरेको उनले बताए ।
काँकरभिट्टाको मिनीमार्केटमा बिजनेस कम्प्लेक्स, धुलावारीको लालपानीमा साइन्स सिटी र सब्जी मन्डीको निर्माणका लागि विस्तृत परियोजना तयार पार्ने गरी बजेट विनियोजन गरेको नगरप्रमुख आचार्यले बताए ।
नेपाल चिया विकास निगमले दुई दशकदेखि भुक्तानी गर्न अटेर गरेको करीव १५ करोड रुपैयाँको एकीकृत सम्पत्ति कर असुलीका लागि नगरसभाले कार्यपालिकालाई आवश्यक कदम चाल्न कार्यादेश दिएको उनले जानकारी दिएका छन् ।
नगर पदाधिकारीहरुले बाल श्रममुक्त अभियानका लागि गरेको पहिलो प्रतिबद्धता पूरा गर्न समेत अध्ययन सुरु गरेको र यो वर्ष आधुनिक विकासको जग हाल्ने कार्यमा बजेट लक्षित हुने उनको धारणा छ ।
नगरसभा अत्यन्त सौहार्द रुपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै आचार्यले अब सबैको सहयोग र सद्भाव लिएर नगरको विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरसभा सफल तुल्याउन सहयोग गर्ने सबैलाई उनले धन्यबाद दिएका छन् ।
कार्यक्रममा नगरका उपमेयर मीना उप्रेती, कार्यकारी अधिकृत पुरुषेत्तम सुबेदी, वडाध्यक्षहरु, नगर सदस्यहरु, नगरका शिक्षा प्रमुख उद्धव विष्ट लगायतको उपस्थिति रहेको थियो ।