झापा, २६ कार्तिक । मेचीनगर नगरपालिकाले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई आपतकालीन अवस्था आइपरेमा अक्सिजन र खाद्यान्न घरमै पुर्याउने निर्णय गरेको छ ।
कोभिड १९ को संक्रमण तीब्र रुपमा फैलिइरहेका बेला मेचीनगरले अरु पालिकाहरुभन्दा पृथक र अति महत्वपूर्ण निर्णय आज अप्रत्यासित रुपमा गरेको छ ।
कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत प्राप्त उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कोरोना संक्रमित भएका अति विपन्न नगरवासीका लागि आइसोलेसन अवधिभर न्यूनतम् १४ दिनका लागि पुग्दो खाद्यान्न समेत उपलब्ध गराउने अर्को निर्णय समेत गरेको उपप्रमुख उप्रेतीले बताएकी छन् ।
उनका अनुसार कोरोनाको संक्रमण बढिरहेको र अधिकांश विपन्न तथा गरीव नगरवासीहरु होम आइसोलेसनमै कष्टपूर्वक बसिरहेको जानकारी भएको हुँदा उनीहरु भोकले प्रताडित हुन नपरोस् भनेर नगरपालिकाले अभिभावकको रुपमा जिम्मेवारी पूरा गर्न खाद्यान्न समेत दिने निर्णय गरिएको हो ।
नगरभित्रका कोरोना संक्रमितहरुको अवस्था बुझ्न र नियमित परामर्श दिनका लागि रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । नियमित रुपमा टेलिफोन वा अन्य माध्यमबाट उक्त टिमले संक्रमितसँग सम्पर्क गरेर उपचारमा सहजिकरण गर्ने बताइएको छ ।
तिहार र छठमा भीडभाड हुँदा संक्रमण झनै बढ्ने सम्भावना भएको जनाउँदै बैठकले दसैंमा झैं आफ्नै घरपरिवारमा चाडपर्वलाई सीमित राखेर मनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि नै मेचीनगर नगरपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । त्यहाँ रहेको ३० वटा आइसोलेसन बेडमै अक्सिजको व्यवस्था मिलाइने बताइएको छ ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन भएको अवस्थामा भएको यो कार्यपालिकाको बैठकमा पुराना र नयाँ दुबै अधिकृतको उपस्थिति रहेको थियो ।
बैठकको सञ्चालन नयाँ प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।
बैठकले हाल अस्पतालमा उपचाररत नगरप्रमुख विमल आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत ओझालाई स्वागत र विदाई हुने प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साललाई सम्मानपूर्वक विदाई गर्ने निर्णय समेत बैठकले गरेको थियो ।