मेचीनगर, ८ जेठ । भारतबाट काँकरभिट्टा भित्रिएका ३०० भन्दा बढी नेपालीहरुको आज एकै खेपमा कोरोना परीक्षण गरिने भएको छ ।
विहीवार राति उनीहरु नेपाल भित्रिएका थिए । उनीहरुलाई आफ्नो जिल्ला पठाउनु पूर्व कोरोना परीक्षण गरिन लागेको हो ।
मेचीनगरमा कोरोना जाँच्ने द्रुत विधि आरडीटीको किट सकिएपछि नगरपालिकाले प्रदेश सरकारसँग किट मागेको छ ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले भारतबाट आउनुभएका ३०० जनाको आजै आरडीटी किटबाट कोरोना परीक्षण हुने बताइन् ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले मेचीनगर नगरपालिकाबाट माग भए बमोजिम ३०० भन्दा बढी आरडीटी किट पठाउने तयारी गरिएको लोकतन्त्र पोस्टलाई जानकारी दिइन् ।
मेचीनगरमा भारतबाट भित्रिएका ३०० नेपालीलाई काँकरभिट्टा माविको होल्डिङ सेन्टर र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा राखिएको छ ।
राति भित्रिएका उनीहरुले आज विहान मात्र खाना खाएका छन् । मेचीनगर नगरपालिकाको गाडी किट लिनका लागि सामाजिक विकास मन्त्रालय पुगिसकेको छ । विराटनगरबाट किट आइपुग्नासाथ परीक्षण सुरु गरिने उपप्रमुख उप्रेतीले बताइन् ।