मेचीनगरमा कांग्रेस पराजयका कारणहरू

  प्रकाशित मिति
२२ जेष्ठ २०७९, आईतवार ११:१४


स्थानीय तहको नतिजा आइसकेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण तबरले चुनाव सम्पन्न भएका छन् । काङ्ग्रेस सर्वाधिक स्थानीय तह जित्ने पार्टी भएको छ । जनताले आफ्नो काम सकेका छन् । अब आफ्नो क्षमता प्रदर्शन गर्ने पालो निर्वाचित प्रतिनिधीहरुको हो । उनीहरू परीक्षा दिन बसेका छन् । उत्तीर्ण हुनेले फेरि अर्को पटक जनताको सेवक हुने अवसर पाउनेछन् भने अनुत्तीर्ण हुने बिदा हुनेछन् ।

चुनावको रौनक सर्वत्र सेलाउँदै गएको छ तर मेचीनगर कांग्रेसमा भने यो भुसको आगो झैं भित्रभित्रै बलीरहेको छ । विभिन्न कोणबाट समीक्षा भइरहँदा नेपाली कांग्रेस पराजय हुनुका बहु आयामहरुको चिरफार चोकचोकमा बसेर भैरहेको छ । अझ भनौं मेचीनगरको राजधानी भनेर चिनिने इटाभट्टामा चुनावी नतिजा विश्लेषणको सरगर्मी वेजोड छ । उत्तेजित अभिव्यक्त्तिहरू फरक-फरक रूपमा आइ नै रहेका छन् । कांग्रसको राम्रो जनमत भएको क्षेत्रमा पराजय भोग्दाको पीडा समन हुन सकेको छैन । सामाजिक संजालमा देखिने आरोप प्रत्यारोप अनि घोचपेचले पार्टीमा रहेका इमानदार कार्यकर्तालाई चिन्तित तुल्याएको छ ।

राजनीति आफैंमा खराब हुँदैन । राजनीतिलाई विकृत बनाउने राजनीतिकर्मीले हो । किन मेचीनगरमा नेपाली कांग्रेसले पराजय भोग्नुपर्यो ? आउनुहोस् समीक्षा गरौँ ।

उम्मेदवार चयन प्रक्रिया
नेपाली कांग्रेसले समग्र मेचीनगरमा उम्मेदवार चयन प्रक्रियालाई न्यायिक, पारदर्शी र निश्पक्ष बनाउन सकेन । उम्मेदवार चयन गर्दा प्रतिस्पर्धी राजनैतिक दलका उम्मेदवारहरुको उचाईलाई पनि हेर्नुपर्थ्यो त्यो हुन सकेन, त्यसैले कांग्रेस पराजित भयो । त्यति मात्र होइन सुरुमा एकजनाले पाएको टिकट अन्तिम समयमा आएर अर्कैको हातमा पुग्नुले मेचीनगर कांग्रेस बिलखबन्दमा पर्यो । जुन रणनीतिका साथ मेचीनगर कांग्रेसले चुनावमा होमिने योजना बनाएको थियो त्यो विफल भयो । मेचीनगर पालिका यदि केशवराज पाण्डेको नेतृत्वमा नै अगाडि बढेको भए जीत सुनिश्चित थियो । स्थानगत हिसाबले पनि उनलाई काकरभिट्टाको मत आउने थियो किनकि लामो समयदेखि पाण्डे काकरभिट्टा कर्मथलो बनाई बसेका युवा उद्यमी हुन् । मेचीनगरमा काकरभिट्टाको मतलाई निर्णायक मत मानिन्छ ।

केन्द्रको ठाडो हस्तक्षेप
झापा दुई ठुला नेपाली कांग्रेसका नेता रहेको जिल्ला हो । यो जिल्लालाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले लामो समयदेखि हाँक्दै आएका छन् । दुवैबीच व्यापक अन्तरसंघर्ष रहेको छ । यहाँसम्म कि विश्वप्रकाश शर्माले चुनाव नजित्नुमा सिटौलाको प्रत्यक्ष हात रहेको कुरा बेलाबेलामा आइरहन्छ । त्यो कुरा यस पटकको चुनावमा पनि देखियो । सिटौलाका विश्वाशपात्र मानिएका केशवराज पाण्डे हालका नेपाली कांग्रेसका जिल्ला उपसभापति पनि हुन् । उनले स्थानीय तहको विश्वासका साथ नगरप्रमुखको टिकट पाएका थिए । कार्यकर्तामा खुसियाली थियो । सबै उत्साहका साथ मनोनयन दर्ता गराउन जाने तयारीमा थिए । जाँदा अर्कैले अर्थात् इन्द्रबहादुर बुढाथोकीले टिकट पाएको र पत्र समेत रहेको देखाएपछि पाण्डे पछाडि हटे ।

मेचीनगरमा राम्रो छवी बनाएका पाण्डेले टिकट नपाउनु विश्वप्रकाश शर्माको ठाडो हस्तक्षेप भनेर धेरैले बुझे । कार्यकर्तामा उत्साह मर्यो । जाँगर सेलायो । तर पनि पाण्डेले पार्टीको निर्णय हो म मान्छु, सहयोग गर्छु भने र पार्टीको एउटा निष्ठावान् कार्यकर्ता भएको परिचय दिए । तर कार्यकर्तामा त्यसको गहिरो असर पर्यो , उनीहरूले जुन रुपमा खटिनु पर्थ्यो त्यो भएन र कांग्रेसले चुनाव हार्यो ।

चुनाव तयारीमा कमजोरी
प्रतिष्पर्धी दल नेकपा एमाले जुन रूपमा चुनावी मैदानमा होमिएको थियो त्यसको तुलनामा कांग्रेस फितलो देखियो । कांग्रेसका सुभेच्छुक संगठनहरूको निष्क्रियता पनि स्पष्ट देखिन्थ्यो । युवाहरूमा उत्साह नहुँदा सबै मन लागेर होइन करले प्रचार प्रसारमा हिंडेजस्ता देखिन्थे । रणनैतिक योजना एमालेमा स्पष्ट देखिन्थ्यो जुन कांग्रेसमा अभाव थियो । एमालेमा केही असन्तुष्टी बाहिर आए पनि त्यसलाई नेतृत्वले समेट्न सकेको थियो तर कांग्रेसभित्रको असन्तुष्टी जतासुकै पोखिएको देखियो । माओवादीको जनाधार शून्यप्राय रहेको मेचीनगरमा गठबन्धन गर्दा जसलाई टिकट दिए पनि कांग्रेसले सतप्रतिशत जित्ने भ्रम स्थानीय तहदेखि केन्द्रसम्म थियो जसले कांग्रेसमा अहंकार बढाएको थियो । यी सबै कारणले गर्दा मेचीनगरमा कांग्रेसले चुनाव हार्यो ।

प्रतिशोधको राजनीति
आफूले टिकट पाए ठीक नत्र सोह्रै आना बेठिक भन्ने भाष्य जबर्जस्त रूपमा केही पात्रमा देखियो । पार्टीलाई मिलाएर लैजाने जिम्मा पाएको नगर समिति, वडा समिति तथा एकाईका पदाधिकारीसमेत विवादमा मुछिए । मैले टिकट नपाए उसले किन पाउने रु उसले टिकट पाए मैले किन सहयोग गर्ने ? हिजो उसले मलाई असहयोग गरेकै हो म चाहिं किन खट्नेजस्ता कुरा चोकमा सार्वजनिक रूपमा सुनिन थाले । जिम्मेवार व्यक्तिबाटै यस्ता कुरा आउन थालेपछि युवा कार्यकर्ताहरूमा निष्क्रियता बढ्दै गयो । फलस्वरूप कांग्रेस पराजित भयो ।

आर्थिक पक्ष
जतिसुकै आदर्शका कुरा गरे पनि नेपालको चुनाव विहारको जत्तिकै भड्किलो र खर्चालु छ । हाम्रोजस्तो देशमा रातारात पैसाको बलमा चुनावको नतिजा फरक पर्ने कुरा विभिन्न विश्लेषणले देखाएको छ । आजको युवा पंक्ति निष्ठाको राजनीतिभन्दा फाइदाको पछि देखिएको छ । खान पाए, साधनमा तेल पाए अनि अलिअलि दाम पाए मात्रै चुनावी कार्यक्रममा हिंड्ने मानसिकता युवामा बढेको तीतो सत्य हो । त्यसलाई जुन उम्मेदवारले सम्बोधन गर्न सक्छ त्यसैलाई युवाले सघाउँछन् । यो पटक कांग्रेसले त्यस्तो माहोल बनाउन सकेन । प्रतिष्पर्धीहरुका सामु हरेक दृष्टिबाट कमजोर मेचीनगर उम्मेदवारले खास रूपमा राजनैतिक माहोल नै बनाउन सकेनन् फलस्वरूप मेचीनगरका अधिकांश स्थानमा कांग्रेस पराजित भयो ।

जनताले जहिले पनि प्रभावशाली असल चालचलन भएको,स्वच्छ चरित्रयुक्त ,काम गर्ने क्षमता भएको, साहसी आत्मविश्वासी , परिपक्व र सहनशील नेतृत्व खोजेका हुन्छन् । सबै प्रकारले नेतृत्व मार्गदर्शक होस् भन्ने चाहना जनतामा रहेको हुन्छ । यी सबै कुरा नेतृत्वले आफूमा विकास गर्नु जरुरी हुन्छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने मेचीनगर कांग्रेसमा साँढेको जुधाई बाछाको मिचाईजस्तै भयो । शीर्ष नेताहरुको अहमताका कारण सबल नेतृत्वले टिकट पाउन सकेन । अनि मेचीनगरमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नु पर्यो । यस्तै हो भने आगामी चुनाव पनि नेपाली कांग्रेसका लागि फलामको चिउरा सावित हुनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: