‘मेचीनगरमा काङ्ग्रेसलाई कम आँक्नु हुँदैन’

  प्रकाशित मिति
६ जेष्ठ २०७४, शनिबार ०७:५०


rc 2दृष्टिकोणमा प्रस्ट र व्यवहारमा पारदर्शी व्यक्तित्वको पहिचान बनाएका रामचन्द्र उप्रेती नेकपा एमाले मेचीनगरको चुनाव परिचालन कमिटीका संयोजक हुन् । जेठ ३१ गते हुने दोस्रो चरणको चुनावमा मेचीनगरको राजनीतिक परिदृश्य कस्तो हुने छ भन्ने विषयमा केन्द्रित रहेर प्रधान सम्पादक मोहन काजीद्वारा लिइएको अन्तरवार्ता प्रस्तुत छ ः
………………..

सक्रिय राजनीतिभन्दा टाढा बस्न रुचाइसकेको सामाजिक व्यक्ति फेरि पुरानै ठाउँमा फर्किनु भयो । किन हिजो राजनीतिमा निष्क्रिय बस्नु भयो र अहिले सक्रिय ?
म राजनीतिमा निष्क्रियभन्दा पनि पदीय दायित्वमा नभएको भन्न रुचाउँछु । २०६६ सालमा जिल्ला अधिवेशनमा मैले चुनाव जित्न सकिन । जिम्मेवारी नहुँदा खास बाध्यता हुँदैन । त्यसकारणले सक्रिय जस्तो देखिएन । व्यक्तिगत रुपमा अरु कामहरुमा सक्रिय नै रहे । सहकारी, आफ्नो व्यवसाय र लेखनमा सक्रिय नै रहे । तर राजनीतिक जिम्मेवारी कम भएको हुनाले पार्टीको गतिविधिमा म देखिइन । त्यो बेलामा मैले जिम्मेवारी चाहियो भन्दै खोज्दै पनि गइन । २०६६ देखि २०७१ सम्म राष्ट्रिय सहकारी सङ्घको केन्द्रीय जिम्मेवारी सम्हाले । त्यो स्थानीय ठाउँमा देखिने काम होइन । प्रस्ट भन्नु पर्दा त्यो जिम्मेवारी पनि नेकपा एमालेकै तर्फबाट मैले पाएको हो । पार्टीकै प्रतिनिधित्व गरेको हुँ । पार्टीको सहकारी तथा गरीवी निवारण विभाग बन्यो । म त्यसमा एक डेढ वर्षदेखि केन्द्रीय सदस्य भएर काम गरिरहेको छु । केन्द्रमा जिम्मेवारी भए पनि भूगोलमा केही नभएको कारण म सक्रिय नदेखिएको हो । म राजनीतिभन्दा टाढा कहिल्यै थिइन ।

अब राजनीति र सहकारीमध्ये कसलाई कति प्राथमिकता दिनु हुन्छ ?
मेरो पहिलो प्राथमिकता सहकारीलाई नै हो । यसका कुनै दुविधा नै छैन । सहकारीमा सही नीति ल्याउनका लागि राजनीतिक प्रभावको जरुरी हुँदोरहेछ । सहकारीलाई राजनीतिले प्रभाव पार्छ नै । राजनीतिक मान्छेहरुलाई सही कुरा बुझाउनु पर्ने हुन्छ । म जुन ढङ्गले राजनीतिमा संलग्न छु, त्यसबाट सहकारी अभियानमा सघाउ पुगेको छ । दुई क्षेत्रमध्ये कुन भन्ने सवाल आयो भने म निःसन्देह सहकारी रोज्छु ।

पहिलो चरणको चुनावी नतिजा धमाधम आइरहेको छ, कसरी विश्लेषण गर्नु भएको छ ?
नेकपा एमालेको पक्षमा जुन नतिजा आइरहेको छ, त्यो के को परिणाम हो भन्ने मलाई लाग्छ भने राष्ट्रिय रुपमा नेकपा एमालेले लिएका अडानहरु र उसका दृष्टिकोणहरुलाई जनताले अनुमोदन गरेका हुन् । खासगरी नेकपा माओबादी केन्द्र र नेपाली काङ्ग्रेसले राष्ट्रियताका बारेमा जुन अडानहरु राखे, त्यसलाई आम नागरिकले मन पराएनन् । तराई आन्दोलनका बारेमा उनीहरुका दृष्टिकोणहरु ढुलमुले रहे । भारतले त्यत्रो नाकाबन्दी गर्यो, नाकाबन्दी गरेको हो भन्न नसक्ने । मधेसमा त्यत्रो अराजकता फैलियो, त्यसका बारेमा प्रस्ट दृष्टिकोण दिन नसक्ने । त्यो उनीहरुको अकर्मण्यता थियो । यस्ता कुराहरुमा नेकपा एमालेका तर्फबाट साह्रै प्रस्ट रुपमा दृष्टिकोणहरु आए । व्यक्तिगत नाफाघाटा एमाले र उसका नेताहरुले हेरेनन् । राष्ट्रिय दृष्टिकोण राखेका कारण अहिले एमालेलाई जनताले अनुमोदन गरेको यो नतिजाले पुष्टि गरेको छ ।

दोस्रो चरणको चुनावी परिणाम बारे तपाईको अनुमान के होला ?
सरकारले एक नम्बर प्रदेशमा बैशाख ३१ गते किन चुनाव गराएन । देशभरि नै चुनाव गर्न सकिन्थ्यो, अलिअलि अप्ठेरो त फेस गर्नु पर्छ नै । जनतालाई के दिन सकिन्छ र के सकिदैन भनेर एमालेले विगत र अहिले पनि प्रस्ट दृष्टिकोण राख्दै आएको छ । तराई मधेसका पार्टीहरुसँग प्रस्ट कुरा गर्न नसकेका कारण यो ढुलमुल भएको हो । सरकार दुई चरणमा निर्वाचन किन गर्न चाहन्थ्यो ? पहिलो चरणमा काङ्ग्रेस र माओबादीको प्रभाव क्षेत्रमा चुनाव गरेर जितको लहर आएको प्रचार गरेर दोस्रो चुनावमा प्रभाव पार्न चाहन्थ्यो । त्यसैविचमा पपुलर बजेट ल्याउने त उसको योजना छँदैथियो । २२ जिल्लाका कतिपय स्थानमा उनीहरुले अहिले पनि संयुक्त उम्मेद्वार उठाएका थिए । उनीहरुकै प्रभाव क्षेत्रमा उनीहरु दुइटै मिलेर चुनाव लड्दा पनि यो परिणाम आइरहेको छ । तुलनात्मक रुपमा दोस्रो चरणको चुनाव हुने क्षेत्रमा नेकपा एमालेको प्रभाव ज्यादा छ । एमालेको बढी प्रभाव क्षेत्र हो भनेर एक नम्बर प्रदेशमा उनीहरुले ढिला निर्वाचन गराएका हुन् । जेठ १५ गते बजेट ल्याउन एमालेले अवरोध गर्दैन । किनकि एउटा चुनावलाई हेरेर संबैधानिक व्यवस्था परिवर्तन गर्न हुँदैन । दोस्रो चरणको चुनावको परिणाम पहिलो चरणको भन्दा बेटर आउने कुरामा म विश्वस्त छु ।

मेचीनगरमा एमालेका उम्मेद्वारहरुको अनुहार कहिलेसम्ममा आम नागरिकले देख्न पाउलान् ?
उम्मेद्वारहरुको बारेमा डिसिजन गर्ने अर्कै निकाय छ । त्यो तहले काम गरिरहेको भन्ने बुझेको छु । चाँडो भन्दा चाँडो उम्मेद्वारहरुको नाम सार्वजनिक गरुन् भन्ने मेरो पनि चाहना छ । ढिलो गरेको राम्रो होइन । समय छँदा वहस गरेर समय फाल्ने र अन्तिम घडीमा हडबड गरेर काम गर्ने हाम्रो नेपाली बानी नै छ । यसमा परिवर्तनको खाँचो छ । अरु अरु पार्टीले उम्मेद्वार घोषणा गरिसके नि भन्ने प्रश्न पनि आउन सक्छ । जनमत धेरै नभएकाहरुसँग कार्यकर्ता धेरै छैनन् । तानातान र आकांक्षीहरु पनि थोरै छन् । उनीहरुले उम्मेद्वार बनाइसकेका छन् । सशक्त पार्टीहरुले उम्मेद्वार घोषणा गर्न बाँकी नै छ । एमाले सशक्त पार्टीभित्र पर्छ ।

तपाई राजनीतिक विश्लेषकको रुपमा पनि चिनिनु हुन्छ । एकछिन एमालेको नेता हुँ भन्ने बिर्सिएर मेचीनगरमा राजनीतिक दलहरुको जनमत कसको कस्तो होला भनिदिनुस् ?
सबैभन्दा पहिला म नागरिक हुँ । पत्रपत्रिकाहरुमा लेख्ने भएकाले लेखक पनि हुँ । नागरिकको स्वतन्त्रता र लेखनको स्वतन्त्रताले मेरो पार्टीको स्वतन्त्रतालाई छेक्न सक्दैन । मैले स्वतन्त्र विश्लेषण गर्न सक्दिन, एकाङ्गी हुनु पर्छ भन्ने छैन । म नेकपा एमालेको नेताभन्दा पनि कार्यकर्ताकै पङ्तिमा राख्न चाहन्छु । विगतको मेचीनगरमा नयाँ भूगोल थपिएको छ । बाहुनडाँगी, धाइजन, दुहागढी र ज्यामिरगढी थपिएको अवस्था छ । गएको संविधानसभाको निर्वाचन होस् वा २०५४ सालको निर्वाचन होस्, तिनले यहाँको जनमत अभिव्यक्त गरेका छन् । नेकपा एमाले सबैभन्दा अगाडि देखिन्छ । नेपाली काङ्ग्रेस दोस्रो शक्ति र नेकपा माओबादी केन्द्र तेस्रो स्थानमा छ । पहिलो संविधानसभाको चुनावमा माओबादी पहिलो शक्तिको रुपमा थियो । देशभरि नै त्यसबेला नयाँलाई हेरौँ भन्ने वेभ थियो । दुई चार वर्ष पछि अर्को निर्वाचन हुँदा नतिजा फरक परेको छ । अन्य गतिविधिले पनि भन्न सकिन्छ कि अरु पार्टीहरु निकै कमजोर छन् । यति भनौँ यहाँ काङ्ग्रेसलाई कम आँक्नु हुँदैन । अरु पार्टीहरु चाहिँ खोजीमेली नै हुन् ।

नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रले चुनावी तालमेल मिलाए भने एमालेलाई अप्ठेरो पर्ला नि, होइन ?
चुनावी तालमेलको प्रभाव त्यति धेरै पर्छ भन्ने लाग्दैन । सद्धे मान्छेको एउटा खुट्टा र अपाङ्गको अर्को खुट्टा जोडेर हिँड भने जस्तै हुन्छ तालमेल । यसरी जोडेको खुट्टाले सग्लो खुट्टाले जस्तै काम गर्छ भन्ने ठान्नु हुँदैन । शरीरको तालमेल, हिँडाइको तालमेल, विचारको तालमेल र चिन्तनको तालमेल आदि सारा कुराले जसरी फरक पार्छ, त्यसैगरी दुईवटा पार्टी तालमेल हुने वित्तिकै सीमित कार्यकर्ताहरुले मतदान पनि गर्लान्, फेरि अर्को पङ्तिका कार्यकर्ताहरुले नरुचाएको अवस्था पनि होला, विद्रोह पनि गर्लान्, त्यस्तो सन्दर्भमा आम मतदाताले चाहिँ पार्टीले गरेको तालमेललाई मान्नै पर्छ भन्ने मनोविज्ञान अब नेपाली मतदाताहरुमा लगभग खण्डित हुँदै गयो भन्ने देखिन्छ । सूर्यको उम्मेद्वार नै नभएको ठाउँमा सूर्यमा मत खसेको पाइएको छ भने रुखको उम्मेद्वार नै नभएर अर्कालाई छाडेको ठाउँमा पनि रुखमा भोट हालिएको छ । कता कता सुन्छु तालमेलका कुराहरु । त्यत्ति धेरै ती काम सशक्त हुन्छन् भन्ने मलाई लाग्दैन ।

rc 3काउन्टरमा एमालेले मेचीनगरमा राप्रपासँग चुनावी तालमेल गर्दैछ भन्ने हल्ला पनि सुनिएको छ । सम्भावना कत्तिको देख्नु हुन्छ ?
राजनीतिमा दुई पार्टी मिलेर उम्मेद्वार बनाउने, छान्ने सम्भावनाका खेलहरु निरन्तर चलिरहन्छन् । धेरै हदसम्म कमजोरहरु मिल्ने हो । बलियो चाहिँ धेरै मिल्दैन । कमजोरहरु मिलेर बलियाका विरुद्ध लड्ने यो सामान्य सिद्धान्त हो । अहिले मैले अलिकति हल्ला सुनेको छु, काङ्ग्रेस र माओबादी मेचीनगरमा मिलेर चुनाव लड्दैछन् भन्ने । यसले उहाँहरुलाई आफ्नो स्थितिको बोध भएको जस्तो लाग्छ । अब त्यसो भयो भने उनीहरु त पक्का जित्छन् होला, अब एमालेले पनि राप्रपासँग वा अर्को कुनै शक्तिसँग मिलेर चुनाव लड्नु पर्छ भनेर शुभेच्छा व्यक्त गर्ने मान्छेहरुको पनि यहाँ कमी छैन । तर मलाई मेजर पोस्टहरु, जस्तो कि मेयर र उपमेयर पदमा कुनै पनि पार्टीसँग एमालेको तालमेल हुन्छ भन्ने लाग्दैन । राजनीतिमा सहकार्य पनि केही गरौँ भन्ने भावनाले मुख्य प्रतिष्पर्धीलाई एक्ल्याउँदै जाने खण्डमा वडाध्यक्ष वा वडा सदस्य जस्ता केही पदहरुमा तालमेल नहोला भनेर भन्न सकिन्न । तालमेल गरेर चाहिँ चुनाव जितिने होइन । एमाले एक्लै चुनाव जित्न सक्षम छ ।

चुनाव जित्नका लागि ‘थ्री एम, वान ओ’ (अर्थात मनी, मसल, मेनिफेस्टो र अर्गनाइजेसन)को निकै ठूलो भूमिका हुन्छ भनिन्छ । तपाईलाई कस्तो लाग्छ ?
हाम्रो जस्तो कम विकसित मुलुकमा प्रजातान्त्रिक अभ्यास त्यति धेरै स्वच्छ हुँदैन । तपाइँहरुले नै बढी सुन्नु हुन्छ नि नेताहरुको इन्टरभ्यू आउँदा, भाषण हुँदा र कुराकानीका सन्दर्भमा भन्ने गरिन्छ–‘जसरी भए पनि हाम्रो पार्टीले चुनाव जित्नु पर्छ ।’ यो कुरा नै आफैमा गलत हो । यसरी स्कुलिङ गर्नु हुँदैन । जसरी भए पनि भन्या कसरी ? त्यहाँ त अनेकन क्वेसनहरु आउँछन् । तपाइँले भनेको मसल, मनी सबै तिकडमको कुरा आउने भो । मेनिफेस्टो र सङ्गठनको कुरा कम हुने र जालझेलको कुरा बेसी हुने, यो कुरा बेठिक हो । यो ढङ्गले हामीले स्वच्छ निर्वाचन गर्न सक्दैनौँ । त्यसरी प्राप्त गरेको निर्वाचनको परिणामलाई मान्छेहरुले मान्नु पर्ने बाध्यता पनि हुँदैन ।

जिम्मेवार राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले स्वच्छ निर्वाचनको पक्षपोषण गर्नु पर्छ । स्थानीय तह, निकाय र संस्थाहरुमा बढी भन्दा बढी प्रजातान्त्रिक अभ्यास गर्दै गयौँ भने लोकतन्त्रले जित्दै जान्छ । लोकतन्त्रले जित्दै जाँदा पार्टी फस्टाउँछन्, जनताको हित हुन्छ, सिस्टम राम्रो बस्दै जान्छ । तर जसरी भए पनि जित्ने भनेर मनी र मसलको प्रयोग गर्ने, छलकपट र तिकडम प्रयोग गर्दै जाने हो भने स्वस्थ प्रतिष्पर्धा हुँदैन । नेकपा एमाले यस्तो मनी र मसल प्रयोग कुरामा विश्वास गर्दैन । विगतमा यस्ता चुनावहरु भए, नभएका होइनन् । त्यसका आधारमा मान्छेहरुले अहिले फेरि पनि त्यस्तै हुन्छ होला भनेर अनुमान गर्न सक्छन् । तर विगतको तुलनामा अहिले यस्ता प्रयोगहरु घट्दै गएका छन् ।

विकसित मुलुकको जस्तो एकदमै राम्रो, मतपत्र घरैमा पुर्याइदिने अनि व्यालेट बक्स ठाउँ ठाउँमा राखिदिने र मतदाताले मत हाले ब्यालेट बक्स पुर्याइदिने चलन हामीकहाँ छैन । हामीकहाँ चुनावमा छलकपटका रुपहरु छन् । मतदाताको मन जितेर मत प्राप्त गर्ने कुरालाई प्रधान मान्नु पर्छ, मेनिफेस्टोलाई प्रधान मान्नु पर्छ । मेनिफेस्टो पूरा गर्न सकिने गरी बनाउनु पर्छ । हामी चाँडै सार्वजनिक गर्दैछौँ । चुनाव पछि बिर्सिने मेनिफेस्टो हुनु हुँदैन । अबका मतदाता सचेत भइसकेका छन् । मतदाताले मेनिफेस्टो राख्नु पर्छ, पार्टीहरुले पनि निर्वाचित प्रतिनिधिहरुलाई त्यस अनुसार काम गर्न प्रेरित गर्नु पर्छ । मनी र मसलका आधारमा चुनावमा गइयो भने मतदाताले दुत्कार्छन् । अर्को पार्टीलाई बेस्सरी गाली गरेर चुनावमा मतदाताको सहानुभूति पाउनु हुन्न । आफ्ना उग्र कार्यकर्ताहरुको ताली त पाउनु होला, तर जेन्टल मतदाताहरुको मत पाउनु हुन्न । चुनाव जित्नका लागि आफ्ना कार्यकर्ताको मत लिएर मात्र हुँदैन । जेन्टल मतदाताको सद्भाव चाहिन्छ ।

आम नागरिकले अनुभूति गर्ने गरी स्थानीय तहको चुनावले ल्याउने परिवर्तन के होला ?
तपाइँ किन फर्किनु भयो भनेर तपाइँले सुरुमा सोध्नु भएको थियो नि । त्यस्को एउटा कारण चाहिँ यो पनि हो । चुनावले ठूलो परिवर्तन ल्याउन सक्छ भनेर हो । यो सामान्य चुनाव हुँदै होइन । हामीले अहिलेसम्म केन्द्रीकृत शासनसत्ताको प्रयोग गर्यौँ । केन्द्रीकृत सत्ताबाट धेरै कुराहरु पूरा हुन सकेनन् । सङ्घीयतामा गएर जुन स्थानीय तह बनायौँ । यो कतिपय मुलुकको भन्दा पृथक छ । विकसित मुलुकहरुमा यो सिस्टम छ । स्थानीय सरकारको रुपमा आएको छ । मैले केही विकसित मुलुकहरुमा देखेको थिए–एउटा राज्यमा गयो एउटा खाले कानून हुन्छ, अर्को राज्यमा गयो अर्को खाले कानून हुन्छ । यो के होला जस्तो लाग्थ्यो । एउटै कानूनले देशभरि शासन गर्ने केन्द्रीकृत सत्ता भएको कारण यो अनौठो लाग्छ हामीलाई । हाम्रो स्थानीय सत्ताको सङ्ख्या अलि ठूलो भएका कारण यसको कार्यान्वयन हेर्न बाँकी छ । तर स्थानीय चुनावले मानिसहरुको जनजीविकामा ज्यादै ठूलो प्रभाव पार्ने छ । स्वास्थ्य, कृषि, शिक्षा, उद्योग, रोजगारी लगायतका क्षेत्रमा ठूलो प्रभाव पर्ने छ । समृद्धिको ढोका यहाँबाट सुरु हुन्छ । एउटा भोट त हो नि, जसलाई भए पनि दिउँला नि, नेताले के पो गरे र भन्ने निराशाबादी कुरा कतैकतै सुुनिन्छन् । तर त्यसो होइन, यो चुनावमा सोचीविचारी मत खसाल्नु पर्छ ।
तपाई २० वर्ष अघिको स्थानीय चुनावमा पनि सम्भावित उम्मेद्वारको रुपमा चर्चित हुनुहुन्थ्यो । सांसद्को सम्भावित उम्मेदवार पनि हुनुभयो । तर कहिलै चुनावी परीक्षामा सामेल बन्न पाउनु भएको छैन । मेयर वा सांसद बन्ने इच्छा मनभित्र उकुुसमुकुस होला नि ?
म जनप्रतिनिधि २०४३ सालमा बनेको थिएँ । धेरै साथीहरुलाई थाहा नहुन सक्छ । जनपक्षीय युवक सङ्गठनको सभापति बनेर शशी खतिवडा प्रधानपञ्च भएका बेला त्यो क्याविनेटमा म थिएँ । तुरुन्तै राजनीतिक कारणले म जेल परेँ, फर्केर आउँदा पञ्चायतै ढलिसकेको थियो । पञ्चायतविरुद्ध जनपक्षीय उम्मेद्वार बनेर म युवक सङ्गठनमा गएको थिए । २०४९ मा गाविस अध्यक्ष उठ्नु पर्छ भनेर पार्टीले निर्णय नै गरेको हो । पछि जिल्ला कमिटीमा आफै उपस्थित भएर म उठ्दिन भनेर कन्भिन्स गरे । म जत्तिकै राम्रो योग्यता राख्ने साथीहरु छन् भनेर भने । म पार्टीमा बसेर काम गर्छु भने ।

म त्यतिबेला आर्थिक रुपमा असाध्य समस्यामा थिएँ । मेरा नानीहरु सानै थिए, मेरो परिवार धान्न मुस्किल थियो । खेतीपाती पनि केही थिएन । म जनताको काममा निस्कदाखेरि मेरो घर चल्ने अवस्था थिएन । कि मैले त्यहाँबाट भ्रष्टाचार गरेर घर चलाउनु पथ्र्यो । त्यो मेरो आदर्श होइन । पार्टीको पनि होइन । त्यसकारण म उम्मेद्वार बनिन । मैले छाडेपछि साथीहरुले जिम्मेवारी सम्हाल्नु भयो । त्यसको मूल्याङ्कन इतिहासलाई नै छाडौँ । सालाखाला राम्रै काम गरे त्यसबेलाका जनप्रतिनिधिहरुले । नगरपालिका बनेपछि मेरो नाम फेरि मेयरको रुपमा आएको थियो । पार्टीले जिम्मेवारी दिएछ भने लिनु पर्छ भन्ने मनस्थितिमा थिएँ । तर पार्टीले रविन कोइरालालाई उम्मेद्वार बनाउने निर्णय गर्यो । म उहाँलाई जिताउन दिलोज्यानले लागे । तत्कालै पार्टी विभाजन भयो । तयसबेला म एमाले थाम्नै लागे ।

संसदीय निर्वाचन भयो, पार्टी फुटाएर निर्वाचन गराउने अरुको योजना थियो । त्यसमा एमाले भड्कियो । संसद्को निर्वाचनमा मेरो नाम उम्मेद्वारको रुपमा उत्कर्षमा थियो । बुधवार भन्ने पार्टीको आधिकारिक पत्रिकामा मेरो नाम मेयरको उम्मेद्वारको रुपमा छापियो पनि । म दौडधुपमा गइन, लागिन । दियो भने काम गर्नु पर्छ, जसलाई दिन्छ उसलाई सघाउनु पर्छ भन्ने मान्यता बोकियो । पार्टीले विष्णु प्रसाइँजीलाई उम्मेद्वार बनायो । जिताउन लागियो । पार्टी विभाजन भएको बेला थियो । एमालेले जितेन । पहिलो संविधानसभाको चुनावमा नरेशजी आउनु भयो, हामीभन्दा तुलनात्मक रुपमा सिनियर नेता भएकाले अरु कसैले दावी गरेनौँ । अर्को चुनावमा पार्टीको कुनै जिम्मेवारीमा म थिइन, मेरो खास चर्चा भएन । अहिले आउँदाखेरि सुरुका दिनमा पत्रपत्रिकाले मेरो नाम पनि मेयरको रुपमा चर्चा गरेको हो । मैले यो जिम्मेवारी पाउनका लागि खास रुचि देखाइन । किनभने म फरक क्षेत्रमा काम गरिरहेको छु । नगरपालिकामा मेयर बन्ने खालको रुचि नरहेकै हो । योभन्दा पछाडिका अरु कुनै जिम्मेवारीहरुको बारेमा यो जिम्मेवारी लिन्छु भनेर टार्गेट बनाएर काम गरेको छैन । पार्टीलाई जहाँ बसेर योगदान गर्नु पर्छ, म त्यसका लागि तयार हो । तर त्यहाँ पुगिरहेकै छ, काम गरिरहेकै छन् भन्ने हो भने आफ्नो क्षेत्र छँदैछ ।

कुनै पनि सङ्गठन निश्चित योजना र प्रणालीबाट चल्नु पर्छ भन्ने विचारको पक्षपाती तपाई । राजनीतिमा त मनलाग्दी चल्ने गर्छ । एमालेको चुनाव परिचालन कमिटीको संयोजक नै भइसकेपछि पार्टीमा तपाईको सोच कार्यान्वयन होला र ?
सिस्टम अनुसार चल्नु पर्छ भन्ने हो । यो मेरो विश्वास हो । आफु प्रभावकारी हुनका लागि बनेको सिस्टमलाई भताभुङ्ग पारेर व्यक्तिको हुकुम लागू गर्ने यो समाजको चलन छ । यो अविकसित समाजका अविकसित मान्छेको चिन्तन हो । हेर्दाखेरि सग्लोदेखिने, पढेको देखिने, राम्रो पनि देखिने, पदमा पनि देखिने, शिष्ट पनि देखिने तर विचारले त्यो विकृत सोचको छ भने त्यसैले सिस्टमको पालना गर्दैन । जसले सिस्टम भत्काएर व्यक्ति हावी हुने कल्पना गर्दछ । त्यो सामन्ती चरित्र हो । हामी त्यो युगबाट अघि बढेर प्रजातान्त्रिक युगमा आइसक्यौँ । यो युग सिस्टमको युग हो, विधिको युग हो ।

सानो परिवार चलाउन, सङ्घ संस्था चलाउनदेखि सिङ्गो देश चलाउने राजनीति हाँक्नका लागि सिस्टम अपरिहार्य छ । जति हामीले सिस्टम डेभलप गर्न सक्छौँ, त्यति चाँडो हामी विकसित हुनेछौँ । आज धेरै मान्छेहरु सिस्टम भत्काएर काम गरिरहेका छन् । यसले व्यक्तिलाई फाइदा देला, तर समाजलाई घाटा पुर्याइरहेको हुन्छ । अहिले पार्टीहरुमा सिस्टम छैन । तर साथीहरुले अब सिस्टम खोज्नु भएको पाएको छु मैले । सिस्टम रुचाउनु भएको छ । उहाँहरुले पनि धेरै दौडिएर हैरानी भोगिसक्नु भएको छ । एउटा ठाउँमा सिस्टम तोडेर फाइदा भ्याउनु भयो होला, १० वटा ठाउँमा धोका खाइसक्नु भएको छ । निर्वाचनमा दौरानमा हामी सिस्टमले काम गर्न खोजिरहेका छौँ ।

एमाले बाहिरबाट हेर्दा जसरी सुगठित देखिन्छ, भित्र त गुटफुटले चिराचिरा परेको छ भनिन्छ । खुल्लम्खुल्ला गुटबन्दी चलिरहेको अवस्थामा यसबाट मेचीनगरको चुनावमा असर पर्न नदिन तपाईसँग कस्ता योजना होलान् ?
मान्छेहरुले अहिले त्यस्तै भन्छन् । त्यस्तो त्यसै भनेका पनि होइनन् । विगतमा यो खालका हर्कतहरुको चरमोत्कर्ष थियो । अहिले गुटबन्दी एकदमै सिद्धियो भन्ने दावा पनि म गर्दिन । विगतको चरमोत्कर्षको गुटबन्दी अब पार्टीभित्र छैन । के कारणले भन्दा गुटबन्दी गर्दा गर्दा मान्छेहरु थाके । उनीहरुले एउटा समयमा फाइदा लिए, अर्को समयमा नोक्सान भयो । सिङ्गो मुलुक हार्यो, पार्टी हार्यो । गुटले जितेर पार्टीले हार्दा हुँदोरहेनछ । देशले हार्दा पार्टीले जितेर हुँदोरहनेछ । केन्द्रदेखि तलसम्म अहिले गुट अवशेषको रुपमा छ, केही मान्छेहरुलाई गुटको वकालत गर्दा माथि पुग्न पाइनेथ्यो होला भन्ने पनि नलागेको होला भन्दिन । अब गुटले होइन, पार्टीले जित्नु पर्छ भन्ने भावना आम कार्यकर्ताको पाइएको छ । एकोहोरो गुटमा लागेकाहरुलाई कार्यकर्ताहरुले नरुचाएको मैले पाएको छु । गुट हटेकैले नेकपा एमाले सशक्त बन्ने गतिलो आधार बनेको हो ।

rc 1तपाई आफु पनि गुटको राजनीतिमा संलग्न हुनुहुन्छ भन्ने आरोप सुनिन्छ । होइन भन्ने केही प्रमाण दिन सक्नु हुन्छ ?
पार्टीको एउटा खास बेलामा कस्तो भयो भने राजनीतिमा सक्रिय भएका मान्छेहरुलाई कुनै न कुनै गुटमा भाग नलागिकन पार्टीभित्र तिनीहरुको ठाउँ नै थिएन । तपाई गुटमा लाग्नु पर्दैनथ्यो, अर्कैले भाग लगाएर एउटा क्याम्पमा हाल्दिसकेको हुन्छ । कहिलेकाहिँ त कस्तोसम्म भयो भने गुट अदलबदलमा अबिरजात्रा समेत भयो । त्यसको कारण चाहिँ त्यहाँभित्र लेनदेनकै कुराहरु प्रधान थिए । म गुटमा सक्रिय कहिल्यै पनि रहिन ।

मलाई पनि कुनै गुटको ट्याग लगाइयो होला । एउटा कसैलाई मान्नु भनेको गुटमा लाग्नु भइहाल्थ्यो । मलाई आजसम्म आइपुग्दा के गौरव छ भने म मदन भण्डारीको पक्षमा एकदम सुरुदेखि नै लागे । मदन भण्डारीसँग मेरो कुनै निकटता थिएन । कुनै सामिप्यता थिएन । मैले नजिकै उभिएर उहाँसँग फोटो खिँच्ने अवसर पनि पाएको थिइन । मैले जतिबेलादेखि उहाँलाई देखे, उहाँका कुरा सुने, मदन भण्डारी मलाई मन पर्यो । मन पराउनुको कारण के हो भने उहाँको भनाइ र गराइमा एकरुपता थियो । २०४९ सालमा जनताको बहुदलीय जनवाद कि नौलो जनवाद भन्ने बहस चल्दा मैले साइनो सम्बन्धका हिसावले, नाताका हिसाबले, क्षेत्रका हिसाबले हो भने सीपी गुटमा लाग्नु पथ्र्यो । मेरो राजनीतिक फाइदाका लागि हो भने सीपीको गुटमा लाग्नु पथ्र्यो । यहाँ सीपीलाई मन पराउने मान्छेहरु धेरै थिए । तर मैले मदन भण्डारीलाई मन पराएँ । निरन्तर म मदन भण्डारीको पक्षमा रहे । मैले आफ्नो फाइदालाई केन्द्रमा राखेर गुट अदलबदल गर्नु पर्ने ठानिन । मदन भण्डारीपछि उहाँको विचारलाई कसले इमान्दारीपूर्वक बोकेको छ भनेर मैले खोजी गरे । मैले केपी ओली, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली जस्ता पार्टीका थिङ्क ट्याङ्कहरुले राम्रोसँगले त्यसको अपनत्व लिएको मैले पाएँ ।

त्यसपछि लगातार मैले केपी ओलीलाई नेता माने । २०६४ सालतिर मैले एउटा पत्रिकामा आर्टिकल लेखेको थिए–लोकतन्त्रका लागि सबैका साझा नेता केपी ओली भए भने आश्चर्य नमाने हुन्छ भनेर । त्यसबेला उहाँले यो हाइट पनि बनाइसक्नु भएको थिएन । त्यो पत्रिका प्रकाशित भइसकेपछि एकजना मित्रले मलाई भेटेर धन्यबाद दिए । अर्को एक मित्र जो अहिले एमपी हुनुहुन्छ, उहाँले भेटेर व्यङ्ग्य गर्नु भयो । तर आज हेरौँ त मुलुकको नेतृत्व केपी ओलीले गर्नु भयो नि । हिजो फरक दृष्टिकोण राख्नेहरु पनि आज एउटै ठाउँमा आइपुग्नु भयो । सही दृष्टिकोण बोक्ने मान्छेलाई मैले बेलैमा चिन्न सकेछु । त्यो गरेवापत मलाई मान्छेहरुले एउटा गुटमा भाग लगाइदिए । विडम्बना भन्नुहुन्छ भने मेरो भागमा परेको गुटका मान्छेहरुसँग चाहिँ मेरो कहिल्यै मेल भएन । त्यस गुटभित्रका खराब मान्छेहरु, खराब कार्यहरु, खराब चिन्तनहरुको मैले जहिल्यै विरोध गरिरहे । त्यसो हुँदा त्यस गुटकै केही मान्छेहरुले यो हाम्रा कुरा जस्ताको तस्तै मान्दैन, यो शङ्कास्पद छ भनेर भनिरहे । अब म कुनै गुटको हो कि होइन अरुले नै भनिदिनु पर्यो ।

चुनाव भन्ने वित्तिकै खर्चको कुरा आउँछ । पार्टी र उम्मेद्वारले बेग्लाबेग्लै चन्दा उठाउने गर्छन् । के तपाई संयोजकको हैसियतले चुनावी हिसाव पारदर्शी बनाउने हिम्मत गर्नुहुन्छ ?
अहिले चलन जे छ, त्यो चलनलाई समाएर यो प्रश्न आएको हो । प्रश्न त्यसै आएका होइनन्, त्यो चलनमा छ । तर हामीले चलनलाई बदल्ने अभियानमा छौ । निर्वाचनलाई स्वच्छ बनाउनु पर्छ । खर्चिलो बनाउनु हुँदैन । कम खर्चमै निर्वाचित भए भने उनीहरुले खर्च उठाउनु पनि परेन । चलन कस्तो पनि छ भने खर्च गरेर टिकट प्राप्त गर्ने, खर्च गरेर चुनाव जित्ने, अनि चुनाव जितेपछि सावाव्याजसहित सबै असुलउपर गर्ने र अर्कोपल्टको चुनाव जित्नका लागि पनि पैसा भेला पार्ने । यो खालको काम केही केही मान्छेहरुले गर्छन् । पार्टीभित्र पनि यस खालको चित्तवृत्ति भएका मान्छेहरु हुन सक्छन् । यो सबै गलत कुरा हो ।

गलत कुरालाई जस्ताको तस्तै अवलम्बन गरिरहने हो भने हामीले शिष्ट र सभ्य समाज चाहिँ कहिले निर्माण गर्ने ? स्वच्छ निर्वाचन कहिले गर्ने ? हाम्रै पालामा त्यो गर्नु पर्छ । स्वच्छ निर्वाचनको संस्कार हामीले सन्ततिहरुलाई विरासतमा छाडेर जानुपर्छ । अस्तिको चुनावमा ठूला ठूला र्याली गरेको, गाडीका लर्को लगाएको, ठूला झण्डा लगाएको हामीहरुले नै हो नि त । त्यो चुनाव खर्चिलो भयो भनेर निर्वाचन आयोगमा सुझाव गयो । आयोगले चुनाव खर्चका शर्त र सीमाहरु तोकिदिएको छ । भोजभतेर, मोटरसाइकल र्याली गर्न नपाइने, पैसा बाड्न नपाउने, पोस्टर ठूला टाँस्न नपाइने अहिले नियम बनिसकेको छ । लोभलालचको समाजमा त्यसखालका विकृतिहरु नहोलान् भन्न सकिन्न ।

मेरो एमालेको कोसिस के हुने छ भने हामी यो खालको खर्चिलो निर्वाचन गर्ने छैनौँ । निर्वाचन आचारसंहितालाई फ्लो गरेर जान्छौँ । मैले हेड गरेको पहिलो कमिटीको बैठकबाटै आचारसंहिताको पूर्ण पालना गर्न भनेर निर्देशित गरेको छु । अरुले उल्लङ्घन गरे भने लिखित रुपमा उजुरी गर्न पनि मैले भनेको छु । एमाले खर्चिलो चुनाव गर्दैन । नगरस्तरमा कुनै सभाको आयोजना गर्दैन, कुनै र्यालीको कार्यक्रम छैन, वडास्तरमा र टोलस्तरमा भेलाहरु हुन्छन्, घरदैलो हुन्छन्, भेटघाट हुन्छन् । र्याली, जुलुस र आमसभा हुँदैनन् । उम्मेद्वारहरुले बेग्लै, पार्टीले बेग्लै पैसा उठाउने जहाँसम्म कुरा छ, उम्मेद्वारहरुसँग उनीहरुको आर्थिक हैसियत हेरेर पार्टीलाई केही योगदान गर भनेर हामीले केही रकम तोक्ने छौँ । हजार हुनेसँग हजार मागिनेछ, १० हजार हुनेसँग १० हजार नै मागिने छ । मेयर र उपमेयरसँग छुट्टै मागिने छ ।

उम्मेद्वारहरुलाई बेग्लै चन्दा उठाउन दिइने छैन । कसैले उहाँहरुलाई बेग्लै सहयोग गर्न चाहनु हुन्छ भने ती मान्छेहरुले निहीत स्वार्थ राखेर मात्र उनहिरुलाई पैसा दिन्छन् । मेले देखेको छु, विगतको संसद्को निर्वाचनमा सांसदका उम्मेद्वारलाई भेटेर, अझ आश्चर्यजनक कुरा के छ भने केही फरक फरक पार्टीका अमुक अमुक व्यक्तिलाई भेटेर एउटै मान्छेले दुइवटै उम्मेद्वारलाई पैसा दिन्थे । किन दिन्थे भने तिनीहरुले त्यो लगानी गरेको हो । पछि हुने नहुने सबै काम होस् भनेर । हुने त राज्यले गरिदिइहाल्छ । नहुने काम पनि होस् भनेर लगानी गरिएको हो । ती व्यापारी हुन् । त्यस्तो व्यापारिक लगानी हुने गरी पार्टी र हाम्रा उम्मेद्वारहरु कसैले पनि कसैको पैसा लिदैन ।

हामी पार्टीका हरेक सदस्यबाट योगदान हुने गरी आर्थिक नीति बनाउन हामीले वडा कमिटीहरुलाई सर्कुलर गरिसकेका छौँ । अरु पार्टीका सदस्य र शुभेच्छुकहरुसँग चन्दा लिदै लिदैनौ, त्यस्तो पनि होइन । तर जोरजबर्जस्ती हामी चन्दा लिदैनौँ । स्वेच्छिक चन्दा उठाउने छौँ । हाम्रो पार्टीका तर्फबाट जोरजबर्जस्ती कुनै चन्दा उठाएको पाइयो भने, त्यो मलाई सूचना गरे हुन्छ, म त्यो कुराको बर्खिलाप छु । त्यसो गर्न पाइदैन । आर्थिक पारदर्शिताका लागि हाम्रो पार्टीको वडा कमिटीसम्म सर्कुलर जारी भइसकेको छ । मेरो हरेक आर्थिक लेनदेन डकुमेन्टका आधारमा हुने छ । कुनै सामान किनिएको छ भने विल र भपाई अनिवार्य राख्नु होला, अथवा कसैबाट पैसा लिनु भयो भने रसिद अनिवार्य लिनुहोला भन्ने कुरा हाम्रो सर्कुलरमा छ ।

सामाजिक सञ्जालमा अभद्र र आचारसंहिता विपरीतका टिकाटिप्पणीहरु एमाले र अन्य दलका कार्यकर्ताहरुबाट प्रशस्त आएका छन् । एमाले कार्यकर्ताहरुलाई शिष्ट, मर्यादित र सकारात्मक अभिव्यक्ति दिन र त्यस्तै व्यवहार गर्न सिकाइँदैन ?
अशिष्ट, अमर्यादित बोली, बचन र व्यवहार हामी कसैले पनि प्रयोग गर्नु हुँदैन । सामाजिक सञ्जाल त प्रमाणित कुरा हो । म एमालेलाई मात्र होइन सबैलाई शिष्ट बन्न आग्रह गर्छु । बोलेपछि मान्छेको परिचय हुन्छ । उसको हैसियत, उसको अवस्था, उसको स्थिति, उसको मनोदसा सबै थाहा पाइन्छ । फेसबुकमा नचिनेका मान्छेको पनि स्टाटसले उसको स्तर निर्धारण गर्दछ । अरुलाई गाली गरेर आफ्नो स्तर नघटाउन सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई विनम्रतापूर्वक आग्रह गर्दछु ।

जेठ ३१ आउन अब धेरै बाँकी छैन । के भन्न चाहनुहुन्छ मेचीनगरका मतदातालाई ?
यो निर्वाचनलाई सामान्य नठान्नुस् । एउटा भोट त हो नि, जसलाई दिए पनि हुन्छ, हामीलाई खोइ कसले के पो दिएको छ भन्ने निराशाबादी अभिव्यक्ति पनि नराख्नुस् । मतदाताहरु निर्णयकर्ता हुन्, सही निर्णय गर्न सक्नु भएन भने ५ वर्ष पश्चाताप गरेर बस्नुको विकल्प केही रहँदैन । म सूर्यमा मतदान गर्नुहोस् भन्छु । त्यो मेरो राजनीतिक हैसियत हो । अर्को हिसावले तपाई सूर्यको मतदाता नहुन पनि सक्नुहुन्छ, पाउनुहुन्छ । त्यस्तो बेलामा आफुले इच्छाएको पार्टीलाई मतदान गर्नुहोस् । आवेगमा होइन, विवेकले मताधिकार प्रयोग गर्नुहोस् ।
(मो. ९८५२६७२७००)
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: