मेचीनगर, १७ जेठ । झापामा कोरोना अस्पतालको आवश्यकता बढिरहेको बेला मेचीनगरको धुलाबारीमा त्यस्तो अस्पताल बनाउन सकिने सम्भावना देखिएको स्थानीय सामाजिक अगुवा बिजय डालमियाले लोकतन्त्र पोस्टसँग बताएका छन् ।
मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष डालमियाले धुलावारीको मेची आम्दा अस्पतालको जग्गामा कोरोना अस्पताल बनाउने भए स्थानीयले सहयोग गर्ने बताए ।
हाल झापामा १०० बेडको कोरोना अस्पताल बनाउने भनी प्रदेश नं. १ सरकारले निर्णय गरिसकेको छ ।
तर प्रदेशले भद्रपुरको मेची अञ्चल अस्पतालको नयाँ भवनमा बनाउन प्रारम्भिक तयारी गरेपछि स्थानीयले विरोध जनाएका छन् । विरोधपछि काम अघि बढेको छैन ।
‘भद्रपुरमा विरोध भएको हो भने मेचीनगरमा ल्याए हामी स्वागत मात्र होइन, सहयोग पनि गर्नेछौं’–डालमियाले भनेका छन् ।
मेची आम्दा अस्पतालको मूल भवन पछाडि २ बिगाहा जग्गा खाली छ । सो जग्गामा एक सातामा भूकम्प प्रतिरोधी नयाँ भवन बनाउन सकिने र त्यहाँ कोरोना अस्पताल सञ्चालन गर्न सकिने उनको तर्क छ ।
डालमिया कोरोना महामारीमा पीडित भएकाहरुलाई सहयोग गर्न गठित मेची अभियानका संयोजक समेत हुन् । उनले लकडाउन सुरु भएदेखि नै आम्दामा आइसोलेसन अस्पताल सञ्चालन गरिनु पर्ने आवाज उठाउँदै आएका छन् ।
‘हामीले पूर्वी नाकामा रहेको कारण मेचीनगरमा कोरोनाका विरामी राख्न आइसोलेसन बेडसहितको अस्पताल चाहिन्छ भनेर सुरुदेखि नै मेचीनगर नगरपालिकालाई घच्घच्याइरहेका छौं,’ मेची अभियानका संयोजक डालमिया भन्छन्–‘अब त झापामा कोरोना विरामीको सङ्ख्या १०७ पुगिसक्यो, कोरोना अस्प्ताल नबनाई सुखै छैन ।’
धरानमा लगिएका झापाका २७ जना कोरोना विरामीलाई रातभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाहिरै राखेको र अहिले विहान मात्र सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै पुगेर ती विरामीलाई भर्ना गराएका छन् ।
अहिले भएका अस्पताल विरामीले भरिभराउ भइसकेको जनाउँदै अभियन्ता डालमियाले झापामा कोरोना अस्पताल बनाउनुको विकल्प नभएको बताए । मेचीनगरमा अस्पताल बनाउन सकिने सम्भावनाका बारेमा गम्भीरतापूर्वक सोच्न उनले प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।
‘आम्दाको अहिलेको भवनमा अरु विरामी जाँच गर्दा भइहाल्छ, खाली रहेको २ बिगाहा जग्गामा नयाँ भवन एक हप्तामै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाउन सकिन्छ,’ उनी भन्छन्–‘चाइनाले बुहानमा ७ दिनमा १००० बेडको कोरोना अस्पताल बनाउन सक्यो भने हामी त्यही अवधिमा १०० बेडको भवन बनाउन नसक्ने कुरै आउँदैन ।’