चारआली, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनु पर्ने बताएका छन् ।
आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका सहइन्चार्ज कोइरालाले यस्तो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि कृषि क्रान्ति गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि कोइराला, एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नगर अध्यक्ष राजु पोखरेल, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल लगायत एमालेका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका थिए ।
विहानैदेखि पानी परिरहेको थियो । बालुबाढीको एक स्थानीय किसानको जग्गामा जनप्रतिनिधि, नेता, कार्यकर्ता र स्थानीय महिलाहरु खेतैमा पुगेर विहान ७ वजेदेखि १० वजेसम्म हिलो र पानीमा छमछमी नाच्दै धान रोपेका थिए ।
यस्तै मेचीनगरका विभिन्न स्थानमा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका छन् ।
अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र सञ्चालन महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले गरेका थिए ।
फोटो : लक्ष्मी उप्रेती÷सन्देश न्यौपाने÷खगेन्द्र घिमिरे