मेचीनगरमा फोहोर व्यवस्थापन केन्द्र बन्दै, स्थानीयबासीको विरोध जारी

  प्रकाशित मिति
१८ श्रावण २०७७, आईतवार १७:३३


मेचीनगरमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बनिने स्थान ।

अम्बिका भण्डारी
झापा, १८ साउन (रासस) ः मेचीनगर नगरपालिका–८ मा रु. १३ करोडको लागतमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्ने भएको छ । नगरमा उत्पादित फोहोरलाई मोहोरमा रुपान्तरित गर्ने उद्देश्यले सो केन्द्र बनाउन लागिएको नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताइन् ।

उनका अनुसार सो कामका लागि आउने क्रमागत बजेट मध्ये पहिलोचरणमा संघीय सरकारबाट रु. तीन करोड बजेट आइसकेको छ । केन्द्र स्थापनाका लागि आदर्श माध्यमिक विद्यालयको छ विघा जमिन लिइसकेको र बाँकी चार विघा सेन्ट्री आधारभूत विद्यालयको लिने तयारी भइरहेको उनले बताए ।

निन्दा खोलाको छेउमा स्थानीयले खेती गरिरहेको विद्यालयको जग्गामा बन्न लागेको केन्द्रको लागि डिपीआर समेत गरेर निर्माणका लागि नगरपालिकाले ठेक्का लगाइसकेको छ ।

फोहोर व्यवस्थापन केन्द्रका लागि आवश्यक भौतिक संरचना तयार गर्न रु. २ करोड ७९ लाखमा मेचीनगरमै रहेको शान्ति जेभी उद्देश्य प्रालिलाई ठेक्का दिइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

कम्पाउण्ड वाल निर्माण सक्ने गरी गत असार मसान्तमा नगरपालिका र कम्पनीका बीच सम्झौता भइसकेको जेभीका प्रोपाइटर नयन बरालले बताए ।

स्थानीयको विरोध


नगरपालिकाले वडा नं.– ८ मा बन्न लागेको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणको विरोधमा वडा नम्बर ८, ३, ५ र बुद्धशान्ति गाउँपालिका –५ का स्थानीयवासीले विरोध जनाएका छन् ।

उनीहरुले नगरपालिकाले मानव स्वास्थ्यलाई नै असर पुग्ने गरी सो केन्द्र निर्माण गर्न लागेको भन्दै मेचीनगर–३ का एनुकुमार भट्टराईको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर विरोध जनाएको हो । समितिले नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई नजिकै रहेको मानव वस्तीमा असर पुग्ने जनाउँदै नेपालको संविधानले मौलिक हकमा व्यवस्था गरिएको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ठाडो उल्लङ्घन भएको भन्दै ज्ञापन पत्र समेत बुझाइसकेको संयोजक भट्टराईले बताए ।

संघर्ष समितिका सदस्यहरु नारायण गिरी, विष्णुलाल गिरी, कमला गिरी, पवन मेचे, रामकान्त चौधरीलगायतले कृषिको उर्वरभुमि रहेको यस क्षेत्रमा कृषि विश्वविद्यालय निर्माण गर्नुको साटो नगरपालिकाले फोहोर व्यवस्थापन गर्न लागेकोमा आपत्ति जनाएका छन् ।

‘हामी विकास विरोधी होइनौँ’, भट्टराईले भने–‘कृषि क्षेत्रको विकासमा नगरपालिकाको स्वागत गछौँ । तर, मानव स्वास्थ्यलाई नै असर पर्ने गरी यहाँ फोहोर थुपार्न खोजियो भने त्यसको स्थानीयबासीले जहिलै विरोध गर्नेछन् ।’

मानव वस्तीबाट टाढा रहेको र प्रशोधन केन्द्र बनाउन उपयुक्त जग्गा रहेको नगरको सर्वदलीय बैठकले नै ठहर गरिएको नगरपालिकाकी उपप्रमुख मिना उप्रेती बताए । उनले त्यहाँ बन्ने संरचनाका बारेमा ठेक्का समेत लगाइसकिएको बताउँदै स्थानीयको गुनासोलाई सम्बोधन गरिने बताए ।

‘स्थानीयासीको जायज मागको सम्बोधन गर्छौ’, उनले भने, ‘ किसानको धान बाली हरियाली भएको छ, उनीहरुको मिहनेत र परिश्रमको लगानी छ । तर नाजायज माग राखेर विकासको विरोध गर्ने सबैको माग सम्बोधन गर्न सकिदैन ।’

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सो प्रशोधन केन्द्रले स्थानीयवासीको स्वास्थ्यमा कुनै असर नगर्ने बताए । उनले फहोर उठाउँदैे कुहिने र नकुहिन वस्तु छुट्याएर ल्याइने बताउँदै भने, ‘यो प्रशोधन केन्द्र मात्र हो । यहाँ कुहिने फोहोर संकलन गरेर कम्पोस्ट मल बनाइन्छ । नकुहिने वर्गीकरण गरेर निर्यात गरिन्छ ।’

उनले स्थानीयलाई प्रशोधन केन्द्रका बारेमा जानकारी नभएर मात्र विरोध गरेको बताए । केन्द्र स्थापनाका बारेमा स्थानीयबासीलाई बुझाउन बाँकी रहेको जानकारी दिँदै भने, ‘यसले उहाँहरुलाई भोलिका दिनमा रोजगारीसँगै विकास सिर्जना गर्छ, यो ठूलो अवसर हो ।’

यसैबीच आइतबार नगरपालिकाले संघर्ष समितिलाई बोलाएर छलफल गरेको छ । प्रदेश सांसद श्रीप्रसाद मैनाली, नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, संघर्ष समितिका पदाधिकारी र विभिन्न राजनीतिक दलसहितको छलफल विना निस्कर्ष टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: