मेचीनगरमा सुटुक् सुटुक् वडा भेला

  प्रकाशित मिति
७ पुष २०७४, शुक्रबार २२:०३



मेचीनगर । मेचीनगर नगरपालिकाका निर्वार्चित जनप्रतिनिधिहरुले सर्वसाधारणलाई जानकारी नदिई सुटुक् सुटुक् वडा भेला गरिरहेका छन् ।

वडाको विकास निर्माणका योजना छनौट गरी नगर सभामा सिफारिस गर्नु पर्ने जस्तो अति महत्वपूर्ण उद्देश्यका भेलाहरु जननिर्वाचित प्रतिनिधिहरुले सुटुक् सुटुक् गर्न थालेकोमा नगरवासीले गुनासो गरेका छन् ।

आम सञ्चार माध्यमहरुमा सार्वजनिक सूचना नगरी सुटुक् सुटुक् वडा भेला आयोजना हुँदा विकास निर्माणका योजना छनौटमा आम सहभागिता र पर्याप्त छलफल हुन नसकेको भन्दै नगरवासीहरुले असन्तोष समेत व्यक्त गरेका छन् ।
नगरका १५ वटा वडामध्ये अधिकांश वडाको भेला सम्पन्न भइसकेकोको नगर उपप्रमुख मिना उप्रेतीले जानकारी दिएकी छन् ।

वडा भेला कसरी गर्ने भन्ने सम्बन्धमा वडा अध्यक्षलाई जिम्मेवारी दिएको र वडा अध्यक्षले नै मिति र समय निर्धारण गरी वडाबासीलाई खबर गर्ने ब्यवस्था गरिएको उपप्रमुख उप्रेतीले बताइन् ।

नगरपालिकाले वडा भेलाका बारेमा स्थानीय स्तरमा आम सञ्चारका माध्यममा सार्वजनिक सूचना नगरेका कारण आफुले वडा भेला थाहै नपाएको मेचीनगर–१० का युवा व्यवसायी सुबोध निरौलाले गुनासो गरे ।

‘वडा भेलामा सहभागी भएर आफ्नो टोल र समग्र वडाको बिकास निर्माणका बारेमा केही छलफल गरौला भन्ने लागेको थियो’, निरौलाले गुनासो व्यक्त गर्र्दै भने–‘तर भेला सकिए पछि पो फेसबुकबाट थाहा पाइयो ।’

बुधबार मात्र सम्पन्न भएको मेचीनगर वडा नंं. ९ को वडा भेलाका बारेमा आफुले कुनै सार्वजनिक सूचना नपाएको जनाउँदै महिला नेतृ रेणुका डाँगीले हल्लाको भरमा वडा भेलामा पुगेकोले आफुले योजनाका बारेमा प्रभावकारी छलफल गर्न नपाएको गुनासो गरिन् ।

वडा नं. ९ कै अर्की महिला नेतृ जानुका ओलीले वडा भेलामा पुग्दा विकास निर्माणका बारेमा कुनै छलफल नभई धमाधम योजनाको नाम टिपाउने कार्य भइरहेको देखेको बताइन् ।

‘केही नेताहरु भाषण गर्दै हुनुहुन्थ्यो’, ओलीले भनिन्–‘सामाजिक परिचालिकाहरुलाई आफ्नो टोलको योजना टिपाउन केही साथीहरु धमाधम नाम लेखाउँदै हुनुहुन्थ्यो ।’ अत्यन्तै अव्यवस्थित ढङ्गबाट वडा भेला भइरहेको नेतृ ओलीको बुझाई छ ।

वडा भेला जस्तो महत्वपूर्ण कार्य गर्दा स्थानीय सञ्चार माध्यम मार्फत सार्वजनिक सूचना नुहुनु गलत भएको रेणुका डाँगी बताउँछिन् ।

मेचीनगरका एमाले युवा नेता वीपी भट्टराईले वडा भेला हुँदा स्थानीय सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गर्नु अनिवार्य भए पनि त्यसो नगरिएकाले भेला प्रभावकारी नभएको बताए ।

वडा भेलाका बारेमा जिज्ञासा राख्दा मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुवेशकुमार पनेरुले माइकिङ र फेसबुक मार्फत सूचना गरिएको दावी गरे ।

उनले स्थानीय रेडियोमा सूचना दिन कर्मचारीलाई भनेको तर कर्मचारीले नदिएकाले रेडियोबाट सूचना हुन नपाएको बताए ।

वडा भेला हुँदा आम सञ्चार माध्यममार्फत सर्वसाधारणलाई अग्रिम सूचना नदिनु त्रुटी भएको मेचीनगर उपप्रमुख मिना उप्रेतीले स्वीकार गरेकी छन् ।

मेचीनगरको वडा नं. १,२,३,४,५,७,८,९ र १० मा यस्तै तरिकाले वडा भेला सम्पन्न भइसकेको छ भने बिहिबार वडा नं. ६ को भेला हुने स्रोतले जनाएको छ ।

बाँकी रहेका वडा नं. ११,१२,१३,१४ र १५ को वडा भेला समेत केही दिनमा सम्पन्न गर्ने तयारी भएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

यस अघि जनप्रतिनिधि बिहिन अवस्थामा कर्मचारी मार्फत नगर सञ्चालन हुँदा वडा भेलाका बारेमा मिति, समय र स्थान तोकेर केही दिन अघिदेखि नै स्थानीय सञ्चार माध्यम मार्फत सूचना प्रकाशन र प्रकाशन गर्ने गरिएको थियो ।
तर निर्वाचित भएर आएका जनप्रतिनिधिले भने वडाबासीमा प्रभावकारी सूचना नगरिकनै अपारदर्शी ढङ्गले सुटुक् सुटक् वडा भेला गरिँदा स्थानीयबासी असन्तुष्ट भएका छन् ।
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: