मेचीनगरमा १६ जना नयाँ कुष्ठरोगी फेला

  प्रकाशित मिति
५ आश्विन २०७५, शुक्रबार १३:३४


मेचीनगर । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीको खोजपड्ताल टोली गाउँगाउँ खटाएपछि नयाँ रोगी धमाधम फेला पर्न थालेका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् ।

संयोजक राईका अनुसार वडा नम्बर १० को धुलावारी क्षेत्रमा मात्र ७ जना रोगी फेला परेका छन् । त्यसमध्ये ५ जनामा खतरनाक एमबी र २ जनामा सामान्य खालको नसर्ने प्युसी प्यासीलरी फेला परेको छ ।

वडा नम्बर १४ दुहागढी क्षेत्रमा २ जना, १५ नम्बर वडाको ज्यामिरगढी आसपासमा ३ जना, बाहुनडाँगी क्षेत्रमा ३ जना र वडा नम्बर ६ मा १ जना गरी १६ जना नयाँ रोगी फेला परेका हुन् ।

खोजपड्ताल टोलीले घर घरै पुगेरे शङ्का लागेमा शरीरको पुरै खानतलासी लिएर कुष्ठरोगको लक्षण पहिल्याउने काम गरेका थिए । रोगी व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइएको संयोजक राईको भनाई छ ।

शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, घाउमा घोच्दा समेत नदुख्नु आदि यस रोगका लक्षण हुन् ।

नगरपालिकाले जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालिम दिएर कुष्ठरोगी खोज्न गाउँ गाउँ पठाएको थियो ।

सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भएपनि देशमा तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन् ।

झापामा नयाँ रोगीसँगै हाल ५३७ जना कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: