मेचीनगरमा ३ हजार परिवारलाई एक हप्ताको राहत बाँड्ने तयारी

  प्रकाशित मिति
२० चैत्र २०७६, बिहीबार २२:१८


विपन्नको लगत संकलन गर्दै टोल समिति ।             फोटो ः नरेश मोहराको फेसबुकबाट ।

।। अर्जुन कार्की ।।
मेचीनगर । मेचीनगर नगरपालिकाले अति विपन्न तीन हजार परिवारलाई एक हप्ताका लागि राहत बाड्ने तयारी गरेको छ ।

नगरपालिका कार्यपालिकाको विहीबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।

वोर्ड वैठकले ‘कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा व्यवस्थापन, राहत र उद्दार कार्य सञ्चालन कार्यविधि २०७६’ पास गरेको छ ।

नगरपालिकाको मापदण्ड अनुसार एकहप्ताका लागि राहत वितरण गरिने जनाएको छ ।

मापदण्डमा सात दिनका लागि समेत खाद्यान्न सामग्री मौज्दात नरहेको परिवार, यातायात क्षेत्रका परिचालक, रिक्सा, दैनिक ज्यालादारी गर्ने, अनौपचारिक क्षेत्रका असङ्गठित मजदुर परिवार र अशक्त अपाङ्गता भएका व्यक्ति घरमुली भएको परिवार हुनु पर्ने उल्लेख छ ।

मापदण्डमा परेका परिवारभित्र पनि सरकारी वा कुनै सङ्गठित संस्थामा करार वा स्थायी रुपमा कुनै सदस्य कामकाज गरिरहेको भए राहत नपाउने प्रष्ट उल्लेख छ ।

नगरको १५ वटै वडाका ३ हजार अति विपन्न घर परिवारलाई राहत स्वरुप पाँच किसिमका खाद्यान्न बाड्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले बाड्ने खाद्य सामग्रीमा ४ जनाको परिवार भए १० केजी चामल, २ केजी दाल, ३ केजी आलु, आधा लिटर खानेतेल र १ केजी नुन रहेको छ ।

त्यस्तै चार जनाभन्दा माथिको परिवारलाई १५ केजी चामल, ३ केजी दाल, ३ केजी आलु, खानेतेल आधा लिटर र १ केजी नुन रहेको छ ।

उक्त राहत सामग्री खरिदका लागि नगरपालिकाले २४ घण्टे टेन्डर आह्वान गरेको थियो । सोही अनुसार नगरपालिकाले २९ लाख ८५ हजार रुपैयाँको बजेटमा राहत बाड्ने कार्यक्रम बनाएको छ ।

नगरपालिकाले सूर्य एग्रो मेचीनगर–११ लाई सोना मनसुली चामल, सूर्यप्लस एन्ड प्रोसेसिङ प्रालि मेचीनगर–११ लाई मुसुरी दाल, पौडेल किराना पसल धुलाबारीलाई तोरी वा सनफ्लावर खानेतेल, लालिगुराँस टे«ड एन्ड सप्लायर्स काँकरभिट्टालाई रातो आलु खरिद उपलब्ध गराउने जिम्मा दिएको छ । नुन भने साल्ट टे«डिङ बिर्तामोडबाट नगरपालिका आफैले ल्याउने भएको छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् राहत वितरण, सङ्कलन तथा निर्धारण समितिका संयोजक मीना पोखरेल उप्रेतीले पहिलो चरणमा अति विपन्न तीन हजार परिवारलाई राहत वितरण गर्न लागिएको बताइन् ।

त्यसमा अन्य दाताहरुबाट आएका राहत सामग्री समेतलाई समेटेर विपन्न परिवारको सङ्ख्या थपिदै लैजाने उनले बताइन् ।

केन्द्र तथा स्थानीय तहको मापदण्ड अनुसार विपन्न घर परिवारलाई राहत वितरण गर्न लागिएको उनको भनाई छ ।

मेची अभियान, अन्य सहकारी संस्थाहरुबाट आएको नगद तथा जिन्सी सामग्रीलाई समेत एकद्वार प्रणालीबाट वितरण गरिने उनले बताइन् ।

उनले शुक्रबारदेखि राहत बाड्ने काम सुरु गरिने बताएकी छिन् । नगरभित्र एकद्वारबाट राहत बाँडिने भनेकी छन् ।

नगरपालिकाका लेखा प्रशासन प्रमुख पदम कार्कीले प्रकोप व्यवस्थापन कोषमा केन्द्र सरकारले पठाएको १० लाखसहित ३७ लाख रुपैयाँ जम्मा भइसकेको बताए । नगरपालिकाले कोषमा ५० लाख पुर्याउने जनाएको छ ।

त्यसमध्ये १५ लाख रुपैयाँ नगरपालिकाका प्रकोप व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले पेश्की स्वरुप लिएको कार्कीले बताए ।

संयोजक मंग्रातीलाई कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि नगरका विभिन्न वडामा सञ्चालित क्वारेन्टाइनमा खर्च गर्न पेश्की दिइएको बताइएको छ ।

३ हजार परिवारलाई बाँडिने राहतका लागि २९ लाख ८५ हजार रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

विपन्नका लागि राहत सङ्कलनमा जुटिरहेको मेची अभियानका संयोजक विजय डालमियाले फुड बैङ्कमा जिन्सी सामग्री नलिइएको बताए ।

उनले फुड बैङ्कमा विहीवारसम्ममा नगद १ लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको र विदेशमा रहेका नेपालीसमेतले अरु १ लाख रुपैयाँ जति सहयोगको वचन दिएको बताए ।

सङ्कलन हुने सबै सहयोग नगरपालिकासँग समन्वय गरी विपन्न परिवारलाई राहत सामग्रीका रुपमा वितरण गरिने डालमियाले जानकारी दिए ।

यसैवीच, बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले पनि ५०÷५० हजार रुपैयाँ राहतका लागि सहयोग गरेका छन् ।

कर्णाली सहकारी सञ्चालक सदस्य जानुका ओलीसहितको टोली तथा सिम्रिक सहकारीका अध्यक्ष कमलबहादुर बस्नेत, सचिव सुभास भट्टराईले मेचीनगर प्रमुख विमल आचार्य र उपप्रमुख उप्रेतीलाई भेटेर विहीवार सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उपप्रमुख उप्रेतीको संयोजकत्वमा रहेको राहत वितरण, सङ्कलन तथा निर्धारण समितिको सदस्य सचिवमा नगरपालिकाका सामाजिक विकास प्रमुख अनन्तप्रकाश वस्ती, नगर कार्यपालिका सदस्य कृष्ण कनाल, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना र पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य सदस्य छन् ।

मेचीनगर–६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङले मेचीनगरका १५ वटै वडाका अति विपन्न ३ हजार घर परिवारलाई मात्र बाँड्न लागिएको राहतमा समस्या आउने बताएका छन् ।

उनका अनुसार ६ नम्बर वडाका लागि २ सय घर परिवारलाई राहत बाँडिने भएको छ । त्यसमा ६० वटा टोल समिति छन् । एउटा टोलका ३ जनालाई मात्र राहत पुग्ने उनले बताए ।

नगरपालिकाले वडा र टोल विकास संस्थालाई सूचना जारी गरेर अति विपन्न परिवारको लगत सङ्कलन गर्नु भनेको थियो ।

वडा कार्यालयमा टोल समितिमार्फत एउटा टोलबाट ५ सय जनाको लगत सङ्कलन भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

नगरपालिकालाई २ सय जनाको लगत सङ्कलन गरेर पठाउनु पर्नेमा ५ सय जनाको नाम आएकोले समस्यामा परेको उनले बताए ।

‘जो साँचिक्कै विपन्न परिवार छ, उसले चाहिँ सरकारी राहत नपाउने हुन् कि भन्ने चिन्ता बढेको छ’, वडा अध्यक्ष तामाङले भने–‘हुनेखाने, विदेशमा कमाउने, दुईतला पक्की घर भएकाहरुको नाम पनि सरकारी राहतका लागि टोलबाट लगत सङ्कलन भएर आएको छ ।’

कुन परिवार चाहिँ पीडित हुन् भनेर छुट्याउनै गाह्रो भएको उनले बताए । ‘मेयरसावले भोलिदेखि नै राहत बाँड्नु भन्नु भएको छ’, वडाध्यक्ष तामाङले भने–‘कस्ता व्यक्तिको लगत पठाउनु दुविधामा परेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: