मेचीनगर । विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका एक युवाले मेचीनगरकै पहिलो हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी तयार गरेका छन् ।
मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कठ्ठा जग्गामा उक्त हाइटेक नर्सरी बनाएका हुन् ।
उप्रेतीले डी एन्ड डी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफुलको नर्सरी व्यवसाय गर्दै आएका छन् ।
खेती पद्धतिलाई अत्याधुनिक र ब्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै हाइटेक नर्सरी तयार गरेको सञ्चालक उप्रेतीले बताए ।
नेपाल सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत सिञ्चाई पूर्वाधारसहितको हाइटेक नर्सरी निर्माणमा ११ लाख ९२ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको छ ।
त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापा मार्फत ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ सरकारी अनुदान प्राप्त भएको र डी एन्ड डी वायोप्लानटेकको २ लाख ९८ हजार १ सय ६४ रुपैयाँ लागत सहभागिता रहेको उप्रेतीले बताए ।
यही बैशाख १६ गते उद्घाटनको तयारी भइरहेको हाइटेक नर्सरीमा अहिले रायो सागको विरुवा लगाइएको छ । केही समय पछि टमाटर खेती लगाइने उप्रेतीले जानकारी दिए ।
एक कठ्ठा जमिनमा तयार गरिएको हाइटेक नसरी पूर्ण रुपमा वाताअनुकूलित छ । नर्सरीभित्र बर्षैभरि खेती गर्न सकिने उप्रेतीले बताए ।
२ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ । नर्सरी भित्रै थोपा सिञ्चाइको ब्यवस्था छ भने बिशेष प्रकारले ब्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने ब्यवस्था समेत गरिएको छ ।
बिरुवामा रोग किरा लाग्न नदिनका लागि हावापानी आउँदा समेत असर नगर्ने र लेउ नलाग्ने व्यवस्था गरिएको छ । बाहिरबाट कुनै हानीकारक जीवाणु प्रवेश नगरोस् भन्नाका लागि नर्सरीमा दुईवटा हाइटेक ढोकाको ब्यवस्था गरिएको छ । बाहिरी मानिसहरुले सजिलै प्रवेश नगरुन् भनेर नर्सरीको ढोेकामा ताला लगाउने ब्यवस्था समेत गरिएको छ ।
दश बर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमिनसँग जोडिएको भागमा बिशेष प्रकारको एप्रोन जडान गरिएको छ । जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजनलाई नियन्त्रण गर्ने उप्रेतीले जानकारी दिए ।
बैदेशिक रोजगारीबाट फर्केर २०६९ सालदेखि आफ्नै एक बिगाहा जमिनमा टमाटर उत्पादन गरेर ब्यावसायिक खेती सुरु गरेका उप्रेतीको जमिनमा अहिले तरकारी खेतीसँगै बिभिन्न जातका फलफुलको नर्सरी छ ।
पूर्णरुपमा अग्र्यानिक खेती प्रणाली अपनाएका उप्रेतीले आफुलाई आवश्यक पर्ने अग्र्यानिक मल आफैं उत्पादन समेत गरेका छन् । उत्पादन हुने गड्यौले मल स्थानीय किसानलाई समेत बिक्री गर्दै आएको उप्रेती बताउँछन् ।
ब्यावसायिक खेती विस्तार गर्न जमिन अपुग भएकाले मेचीनगर–९ का डिल्ली न्यौपानेको एक बिगाहा र मेचीनगर–१० का दाताराम खनालको ५ बिगाहा जमिन भाडामा लिएर यसै बर्षदेखि उनले कागती, मेवा र तरकारी खेती सुरु गरेका छन् ।