मेचीनगरलाई छुवाछुत मुक्त बनाउने घोषणा

  प्रकाशित मिति
८ चैत्र २०७४, बिहीबार ०९:४७


काँकरभिट्टा । मेचीनगर नगरपालिकाले जातीय छुवाछुतलाई अपराधका रुपमा लिई सामाजिक परिचालनको माध्यमबाट विभेद उन्मूलन गर्ने भएको छ ।

समाजमा अझै जातीय विभेदले जरा गाडिरहेका बेला मेचीनगरमा भने यसलाई उन्मूलन गर्न नयाँ रणनीतिका साथ ५ बुँदे घोषणा पत्र जारी गरिएको हो ।

५३ औँ अन्तर्राष्टिूय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसर पारेर नगरद्वारा बुधवार काँकरभिट्टामा आयोजित एक भव्य समारोहकाबीच जातीय तथा रङ्भेद उन्मूलनको घोषणा पत्र जारी गरेको हो । जातीय छुवाछुत विरुद्ध घोषणा पत्र जारी गर्ने मेचीनगर सम्भवत नेपालकै पहिलो स्थानीय तह बनेको छ ।

मेचीनगर प्रमुख विमल आचार्यले सार्वजनिक गरेको घोषणा पत्र अनुसार दलित छात्राहरुका लागि आधारभूत र माध्यमिक शिक्षा निःशुल्क गर्ने, संस्थागत विद्यालयहरुमा दलित समुदायका छात्र÷छात्राले प्राप्त गर्ने निःशुल्क सङ्ख्या निर्धारण गरी कार्यान्वयन गर्ने रहेको छ ।

त्यस्तै, घोषणापत्रमा नगरपालिकाले प्रत्यक्ष रुपमा श्रृजना गर्ने रोजगारीका अवसरका क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व गराउने साथै नगरले गठन गर्ने सबै समितिमा दलित समुदायको अनिवार्य सहभागिता गराउने, दलित समुदायको पेशा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकासका लागि स्रोत परिचालन र व्यवस्थापन गरी जीवन्त दलित सङ्ग्रालयको स्थापना गर्न पहल गर्ने र भूमिहीन तथा आवासबिहीन भएका दलित परिवारका लागि राज्यले संविधान बमोजिम बनाउने कानुनलाई कार्यान्वयन गर्ने र यसका लागि नगरको स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने उल्लेख छ ।

नगर प्रमुख आचार्यले नेपालको संविधानले जातीय भेदभाव उन्मूलन सम्बन्धी नीतिको कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । ‘अब कसैले जातको आधारमा हेपिनु पर्दैन,’ घोषणा पत्र जारी गर्दै नगर प्रमुख आचर्यले भने, ‘नगरभित्र रहेका सबै दलित समुदायले पाउने हक अधिकारमा प्राथमिकताका साथ अगाडि बढाइने छ ।’

कार्यक्रमका प्रमुख अतिथि दलित नेता एवम पूर्व मन्त्री जितु गौतमले मेचीनगर नगरपालिकाको जातीय तथा रङ्गभेद मुक्त नगर घोषणा गर्ने निर्णय स्वागत योग्य रहेको बताए । उनले पछिल्लो समय छुवाछुतको अन्त्य हुँदै गएको बताउँदै यस अभियानलाई थप सार्थक बनाउन मेचीनगरले गरेको कार्यको प्रशंसा गरे ।

कार्यक्रममा दलित अभियन्ता डा.निर्मल विश्वकर्माले जातीय तथा रङ्गभेद सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सहिष्णुता, समावेशीता र एकताको प्रवर्धन गरौँ विविधतालाई सम्मान गरौँ भन्दै डाक्टर विश्वकर्माले अब कुनै पनि नेपालीले जातको आधारमा हेपिनु पर्ने अवस्था नभएको बताए । उनले सबै नेपालीले समान हक र अधिकारका साथ जिउन सक्ने अवस्था सृजना हुँदै गएको समेत बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेचीनगर उपप्रमुख मीना उप्रेतीले पाँच बर्षभित्र मेचीनगरलाई छुवाछुत नगरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाइन् । नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले सबैको साथ र सहयोगमा नगरलाई छुवाछुत मुक्त नगर बनाउन सकिने बताए ।

कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, ६ का अध्यक्ष ललित तामाङ, ८ का अध्यक्ष विकेन्द्र धिमाल, १३ का अध्यक्ष कृष्ण सिग्देल तथा विभिन्न वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अघि जातीय छुवाछुत अन्त्य गरौँ, भूमीहिन दलितलाई जमिन उपलब्ध गराऔँ भन्ने नाराका साथ पञ्जेबाजासहित काँकरभिट्टा बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रममा थ्रीएटर नाट्य समूह काँकरभिट्टाले छुवाछुत विरुद्धको नाटक प्रदर्शन गरेको थियो । समूहकी अध्यक्ष कविता नेपालद्वारा लिखित नाटक अन्तरजातीय विवाहका विषयमा आधारित रहेको थियो । साथै, कार्यक्रममा तिलक दर्नालले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रम मूल आयोजक समिति संयोजक टिकाराम मग्रान्तीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नगर कार्यपालिका सदस्य कृष्ण कनालले गरेका थिए । ध्रुव कनालले कार्यव्रmम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: