मेचीनगर । मेचीनगरलाई ‘वालश्रम मुक्त’ नगर बनाइने भएको छ । नगरको नवगठित नगर कार्यपालिका (स्थानीय तह मन्त्रीमण्डल)को सोमवार सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
मेयर बिमल आचार्यको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले नगरलाई वालश्रम मुक्त बनाउने र त्यसका लागि आवश्यक कानुन समेत निर्माण गर्ने नीतिगत निर्णय गरेको हो ।
तर कहिलेसम्ममा नगरलाई वालश्रम मुक्त बनाउने भनेर बैठकले समयावधि तोकेको छैन ।
शपथग्रहण लगत्तै नगरपालिकाको सभाकक्षमा बसेको बैठकले ४ वटा निर्णय गरेको उपप्रमुख मीना पोखरेलले जानकारी दिएकी छन् ।
पहिलो नम्वरमा मेचीनगरका वाढीग्रस्त क्षेत्रको निरीक्षण गरी तत्काल नियन्त्रणका उपाय अपनाउने निर्णय भएको छ ।
निर्णयको दोस्रो बुँदामा एक हप्ताभित्र नगरपालिका कार्यालयमा सर्वसाधाधारणको सुविधाका लागि सहायता कक्ष (हेल्प डेक्स) स्थापना गर्ने र तेस्रो बुँदामा ३ महिनाभित्र मेचीनगरको विस्तृत पाश्र्वचित्र (प्रोफाइल) तयार गर्ने उल्लेख छ ।
चौथो बुँदामा नगरलाई महिला सशक्तिकरणयुक्त र वालश्रम मुक्त बनाउने निर्णय गरिएको छ । साथै, सोही बुँदामा ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गर्ने र सम्मान गर्ने निर्णय गरिएको छ ।
भद्रपुर लगायत अन्य नगरहरुमा ज्येष्ठ नागरिक भत्ता घरघरै पुर्याउने निर्णय भएको खबर आइरहे पनि मेचीनगरमा त्यस्तो निर्णय हुन सकेन ।
बैठकको सञ्चालन उपमेयर मीना पोखरेलले गरेकी थिइन् भने मेयर विमल आचार्य र कार्यकारी अधिकृत पशुपति खतिवडाले आफ्ना विचार सो अवसरमा व्यक्त गरेका थिए ।