मेचीनगरले अब ठूला योजनामा हात हाल्ने

  प्रकाशित मिति
११ असार २०७५, सोमबार ०४:१०


मेचीनगर । जनप्रतिनिधि आएपछिको पहिलो बर्ष खुद्राखुद्री काममै बिताएको आरोप खेपिरहेको मेचीनगर नगरपालिकाले अबको बर्ष निकै ठूला र महत्वाकांक्षी विकासे परियोजना थाल्ने सङ्केत दिएको छ ।

आइतवार धुलावारीमा भएको दोस्रो नगरसभामा आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख विमल आचार्यले नगरपालिका अब ठूला र देखिने खालका विकासे काममा हात हाल्न अग्रसर भएको जनाउ दिएका छन् ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार अब नगरपालिकाले वडास्तरीय, मध्यमस्तरीय र गौरवका योजना गरी तीन तहमा नगरका योजना तथा कार्यक्रमलाई वर्गीकरण गरेको छ ।

नगरको गौरव आयोजनाको रुपमा ठूला परियोजना सञ्चालन गर्ने नगरले नीति लिएको नगरप्रमुख आचार्यले नगरसभामा बताएका छन् ।

नगर प्रमुखले नगरको गौरव आयोजनाको १४ बुँदे सूचीमध्ये पहिलोमा मेचीनगरको रिङरोड र दोस्रोमा रङ्गशाला निर्माणलाई उल्लेख गरेका छन् ।

त्यसपछि सेनेटरी ल्यान्डफिल्ड साइट, बहुआयामिक सङ्ग्रहालय, निन्दा र हडिया तटबन्धन बहुउद्देश्यीय आयोजना, नगरभित्रका सिमसार क्षेत्रमा पर्यटन प्रवर्धन, वाटर वल्र्ड, मनोरञ्जन पार्क, औद्योगिक पार्क, भ्यू टावर, नौका विहार लगायतलाई गौरवका योजनामा समेटिएका छन् ।

नगरप्रमुख आचार्यले कलात्मक प्रवेशद्वारसँगै बुद्धको मुर्ति बनाउने योजनालाई निकै महत्व दिएका छन् । यसमा प्रदेश सरकारले समेत सघाउने भएको छ ।

साविक बाहुनडाँगी अर्थात हाल मेचीनगरको वडा नं. १,२,३ र ४ मा एकीकृत पर्यटन विकास योजना सञ्चालन गर्ने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

वडा नं. ६ अर्थात काँकरभिट्टाको मिनी मार्केटमा बहुतले अत्याधुनिक सपिङ कम्प्लेक्स बनाउने र वडा नं. १० धुलावारी क्षेत्रमा साइन्स सिटी र कृषि मण्डी निर्माण गर्ने नगर प्रमुख आचार्यले बताएका छन् । (चित्रमा देखिएको सपिंग कम्प्लेक्स नमुना मात्र हो, मिनी मार्केटको डीपीआर हुन बाँकी नै छ।)

नगर प्रमुख आचार्यले पहिलेदेखि नै काँकरभिट्टा विदेशी पर्यटकको पहिलो नजर पर्ने स्थान भएकाले त्यहाँ बहुतले अत्याधुनिक व्यापारिक भवन बनाउने आफ्नो योजना रहेको बताउँदै आएका थिए ।

यसपटक नीति तथा कार्यक्रममा उनको त्यो चाहनालाई समेटिएको छ । तर लागत कहाँबाट जुटाउने भन्ने बारेमा बजेट नै पर्खनु पर्ने भएको छ ।

आवासविहीन सुकुम्बासी, चिया मजदुर लगायत विपन्न समुदायलाई घरवारयुक्त बनाउन नगरपालिकाले यसै वर्षदेखि ‘मेचीनगर जनता आवास योजना’ सञ्चालन गर्ने नीति लिएको छ ।

वडा नं. १० को सेनेटरी ल्यान्ड फिल्डसाइटका लागि खरिद गरिएको जग्गामा साइन्स सिटी र कृषि मण्डीका लागि आम्दा हस्पिटल पश्चिममा किनिएको जग्गामा मण्डी नै बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वडा नं. १३ र १४ अर्थात साविक दुहागढीलाई एकीकृत कृषिपालन क्षेत्र र साविक बाहुनडाँगीलाई पशुपालन अनुसन्धान केन्द्रको रुपमा योजना सञ्चालन गर्ने नगरको नीति रहेको छ ।

वडा नं. ११ र १२ मा बाँसबाट बनाइने मुढाको व्यवसायलाई प्रवर्धन गर्न शिप विकास तथा व्यवसाय प्रबर्धन केन्द्र स्थापना गर्ने र निन्दा पुलबाट उत्तर बाहुनडाँगीसम्म बाटो, सिञ्चाई र वृक्षारोपणसहितको नदी नियन्त्रण परियोजनाको परिकल्पना नीति तथा कार्यक्रममा उल्लेख छ ।

तर यी ठूला गौरवका आयोजनाको निर्माणका लागि नगरपालिकाले अबको वर्ष डीपीआर मात्र गर्ने हो कि काम पनि थाल्ने हो भन्न सकिन्न ।

विकास निर्माणका काममा उपभोक्ताबाट लागत सहभागिता जुटाउने नाममा नगरपालिकाले ३० प्रतिशत कम बजेट दिने गरेकोमा अबको बर्षदेखि यो नीतिलाई सच्याइएको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नगरले छुट्याएको बजेटको शतप्रतिशत नै दिइने भएको हो ।

काँकरभिट्टा क्षेत्रमा पुरानो समस्याको रुपमा रहेको आवासको जग्गाको स्वामित्व अब सरोकारवाला निकाय, संस्था, व्यक्ति वा नगरपालिका आफैले लिने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने भएको छ ।

नेपाल चिया विकास निगमको टोकला चिया बगानबाट सम्पत्ति कर वापत असुल्न बाँकी रहेको करोडौँ रकम असुल्न आवश्यक परे कानूनी बाटो समेत अपनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पाँच लाख रुपैयाँसम्मका विकास योजनाको फरफारक सम्बन्धित वडाबाटै हुने गरी कार्यविधि बनाइने समेत उल्लेख छ ।

वडापालिकाबाटै बैङ्क खाता सञ्चालन गर्नु पाउनु पर्ने भन्ने वडाध्यक्षहरुको माग भने नीति तथ कार्यक्रममा समेटिएको छैन ।

वडास्तरीय योजनामा २५ लाख र मध्यमस्तरीय योजनामा ५० लाखको सीमा निर्धारण गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

२५ लाख रुपैयाँको सीमा प्रस्ताव गरिएको वडास्तरीय योजनामा साना खाले विकास कार्यक्रम सञ्चालन हुने छन् भने सो कार्यक्रमलाई ‘आफ्नो वडा आफै बनाउ’ नामाकरण दिइएको छ ।

पहिलोपल्ट एमालेले सरकार बनाएका बेला ‘आफ्नो गाउँ आफै बनाऔँ’ भनी तय गरिएको नाराकै कपी गरेर वडाको विकासे नारा बनाइएको छ ।

नगरले जनशक्ति व्यवस्थापनका लागि कर्मचारीको स्वेच्छिक अवकास सम्बनधी कानून निर्माण गर्ने र कर्मचारीहरुलाई प्रविधि मैत्री बनाउन प्रशस्त तालिमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

डिजिटल स्मार्ट कार्ड उपलब्ध गराउन सुरु गर्ने, हरेक वडालाई चालू खर्च वापत ३ लाख दिने, अर्जुनधारासँगको सीमा किचोला मिलाउने, वडागत रुपमा प्रहरी विट राख्ने, साविक नगरपालिका र गाविसको पालाको उपभोक्ता समितिका नाममा खोलिएका सबै खाता बन्द गरी त्यसमा रहेका नगदलाई नगरपालिकाको कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने नगर प्रमुखले जानकारी दिएका छन् ।

प्रदेश सरकारको निर्वाचन कार्यक्रम अन्तर्गत वडा नं. १५ को मेची पारिको गाउँलाई जोड्नका लागि मेची नदीमा झोलुङ्गे पुल निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा त्यसलाई विकास गर्ने नगरपालिकाले योजना बनाएको छ ।

भौतिक संरचना निर्माण गर्दा नक्सा पासकै बेला फूलवारी र वृक्षारोपणको लोकेसन राख्न लगाउने, अबको आवदेखि नगरको सम्पूर्ण क्षेत्रमा एकीकृत सम्पत्ति कर लागू गर्ने, नदीजन्य बस्तुको उत्खनन र विक्री सम्बन्धी नीति बनाइने, बाहुनडाँगी क्षेत्रमा मरिच, सुपारी र तेजपत्ताको प्रशोधन गर्न पहल गरिने, वडा नंं १५ लाई औद्योगिक ग्राम बनाइने, बाहुनडाँगी क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने, विषादीमुक्त खेतीका लागि किसानलाई प्रोत्साहित गरिने, सडको दुबै किनारमा वृक्षारोपण गर्न ‘हरियाली सहर, मेचीनगर’ भन्ने अभियान चलाइने, चारआलीदेखि तेलपानी हुँदै बाहुनडाँगी किनारसम्म हात्ती करिडर बनाउन पहल गरिने, वडाध्यक्षको रोहवरमा विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गरिने, साहित्यिक एवम् सांस्कृतिक प्रतिष्ठान गठन गरिने, निजी विद्यालयहरुको शुल्क स्थानीय तहबाट निर्धारण गर्ने व्यवस्था मिलाइने, नगरभित्रका गुरुकुल, गुम्बा र मदरसाको भौतिक पूर्वाधारमा ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरस्तरीय खेलकुद विकास समिति गठन गरिने, सार्क, एसिएन र ओलम्पिक खेलकुदका पदक विजेतालाई मासिक भत्ताको व्यवस्था गरिने, क्यान्सर, मुटु, मिर्गौलाका विरामीलाई प्रतिवर्ष ५ हजार आर्थिक सहायता दिने, विपन्न ५० परिवारको निःशुल्क परिवार स्वास्थ्य कार्यक्रम विमा गरिने, धुलावारी स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाइने, महिलालाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न पोलिटेक्निकल इन्स्टिच्यूटको अवधारणा विकास गरिने, छात्राहरुका लागि छुट्टै शौचालयको बाध्यकारी व्यवस्था गरिने, महिला र दलित समुदाय विकास समिति गठन गरिने, विपन्न परिवारकी महिलालाई २ हजार रुपैयाँ सुत्केरी पोषण भत्ता दिइने, गैससहरुले कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग पूर्व स्वीकृति लिनु पर्ने, सामाजिक सुरक्षा भत्ताहरु वडाकै सहकारी र बैङ्कमार्फत वितरणको व्यवस्था मिलाइने, पत्रकारिता प्रवर्धनका लागि राहत कोष स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………….

बजेटको कमी हुन दिन्न ः मन्त्री आङ्बो
धुलावारी । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले मेचीनगरलाई बजेटको कमी हुन नदिने बताएका छन् ।

उनले हात्ती करिडर, प्रवेशद्वार, नदी तटबन्धन र ठूला सडकको निर्माणका लागि नगरले सञ्चालन गर्ने योजनामा प्रदेश सरकारले खुलेर सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेचीनगरको दोस्रो नगर सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री आङ्बोले भारत, भूटान र बङ्गलादेशबाट पर्यटक भित्रिने पहिलो ढोका नै मेचीनगर भएकाले काँकरभिट्टामा नेपालकै पहिचान झल्कने कलात्मक प्रवेशद्वार बनाउनु पर्ने बताए ।

उनले प्रवेशद्वार निर्माणमा प्रदेश सरकारले चाहिएजति बजेट पठाउने समेत नगर सभालाई आश्वस्त बनाएका छन् ।
मेचीनगरको ३ वटा महत्वपूर्ण सडकलाई कालोपत्रे गर्न, उत्तरी मेचीनगरका हात्ती करिडर निर्माण गर्न र नदी तटबन्धन गर्न प्रदेश सरकारले नगरपालिकासँग सहकार्य गर्दै बजेट पठाउने समेत मन्त्री आङ्बोले बताए ।

१ नं. प्रदेशलाई सात प्रदेशमध्ये सबैभन्दा समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य भएको जनाउँदै उनले मेचीनगरले प्रदेशभरमै उत्कृष्ट कार्य सम्पादन गरे ५ करोड बजेट प्रोत्साहन स्वरुप थप गरिदिने समेत आश्वासन दिए ।

प्रदेश व्यवस्थापिकाको व्यस्त कार्यक्रममा भ्याउनु पर्ने हतारोका कारण वक्ताहरुको पालो मिचेर अगाडि बोलेका मन्त्री आङ्बो कार्यक्रमस्थलमा सहभागीभन्दा पनि छिटो आइपुगेका थिए ।

मीठो र प्रभावशाली भाषण दिएर सहभागीहरुको मन जितेका मन्त्री आङ्बोले चालू वर्खे अधिवेशनबाटै प्रदेशको नामाकरण टुङ्ग्याउने तयारी भइरहेको खुलासा गरे ।

मन्त्री आङ्बोले विकास र समृद्धिको विषयमा कोही सत्ता पक्ष र कोही प्रतिपक्ष नहुने समेत बताए ।

उनले पर्यटक आगनमा दृष्टिले मेचीनगर प्रवेशद्वार भएकाले यसलाई मुलुककै सबैभन्दा सुन्दर र स्मार्ट बनाउनु पर्ने सुझाव पटकपटक राखेका थिए ।

धुलावारीको पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा अयोजना भएको नगर सभा उद्घाटन कार्यक्रममा मन्त्री आङ्बो प्रमुख अतिथि थिए ।

नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा र कार्यपालिका सदस्य कृष्ण कनालको उद्घोषणमा भएको समारोहमा प्रदेशका सांसदत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापा, संविधान सभा सदस्य उषा गुरुङ, नेपाली काङ्ग्रेसका उपसभापति राम कट्टेल, नेकपाका नेताद्वय देबकुमार राई र प्रकाश भण्डारी र सङ्घीय समाजबादी फोरमका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

नगर उपप्रमुख मीना उप्रेतीले स्वागत मन्तब्यको क्रममा मेचीनगरलाई समृद्धिको नमुना नगर बनाउने विभिन्न योजना यसै बजेटमार्फत ल्याउन लागिएको चर्चा गरेकी थिइन् ।

पूर्व सांसद मानसिंह राजबंशी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, मेचीनगरको पूर्व उपप्रमुख एवम् नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी, नेकपा नेतात्रय राजु पोखरेल, डिल्लीराम घिमिरे र माधव अर्याल, नेपाली काङ्ग्रेसका नेताद्वय मणिकुमार उप्रेती र दुर्गा खतिवडा, सङ्घीय समाजबादी फोरमका नेता ओमप्रकाश खापुङ, राप्रपाका नेता शुशिल आचार्य, सशस्त्र प्रहरीका डीएसपी दिनेश बस्नेत, सहकारी अभियन्ता हरिचरण बानियाँ, जिल्ला बन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष बेदप्रसाद भण्डारी लगायतका थुप्रै अतिथिहरु कार्यक्रममा उपस्थित थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: