”मेचीनगर र विर्तामोडको उम्मेद्वार आज टुङ्गिदै”

  प्रकाशित मिति
१७ जेष्ठ २०७४, बुधबार ०९:२२


uml leaderविर्तामोड । झापाको मेचीनगर र विर्तामोड नगरपालिकामा बुधवार साँझसम्ममा नेकपा एमालेबाट मेयर र उपमेयर पदमा उम्मेद्वार बन्नेहरुको टुङ्गो लाग्ने भएको छ ।
एक सातासम्म बसेको प्रदेश कमिटीको पूर्ण र सचिवालय बैठकले जिल्लाका अरु १३ स्थानीय तहको उम्मेद्वार तय गरे तापनि यी दुई नगर टुङ्ग्याउन सकेको थिएन ।

सचिवायल बैठकबाट अन्तिम निर्णय गर्ने अख्तियारी पाएका प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्य र सहइञ्चार्ज शेरधन राईले बुधवारसम्ममा मेचीनगर र विर्तामोडको उम्मेद्वार तय गरिसक्ने भएका छन् ।

‘हामी बुधवारसम्ममा दुबै नगरको उम्मेद्वारहरुको नाम निधो गर्छौँ’, मङ्गलवार साँझ लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै प्रदेश इञ्चार्ज आचार्यले भने–‘निकै ढिला भइसक्यो भन्ने सबैलाई थाहा छ, अब निर्णय हुन्छ ।’

UML-1मेचीनगरको मेयरमा विष्णु प्रसाई र गोपाल बुढाथोकीमध्ये कसलाई उम्मेद्वार बनाउने भन्ने छलफल नटुङ्गिदा प्रदेशको बैठक एक साता लम्बिएको थियो ।
यसैगरी, उपमेयरमा मीना उप्रेती, रेणुका डाँगी र शारदा शर्माविच कसलाई उम्मेद्वार बनाउने भन्ने विषय अहिलेसम्म अनिर्णित नै छ ।

विर्तामोड नगरपालिकामा मेयरका आकांक्षीहरु हरिचरण शिवाकोटी, एकराज कार्की, ज्ञानुराम प्रसाई र ध्रुव शिवाकोटीविच प्रतिष्पर्धा छ । तर अन्तिम दौडमा एकराज कार्की र हरिचरण शिवाकोटी रहेको बताइएको छ ।

विर्तामोडमा उपमेयरमा पवित्रा महतरा र भीमा शिवाकोटीको नाम निर्णायक मोडमा पुगेको बताइन्छ ।
प्रदेश इञ्चार्ज आचार्यले दुबै नगरको उम्मेद्वार चयनको समस्या अब केन्द्रमा नपुर्याइने बताए । ‘माथि जाँदैन, मेचीनगर र विर्तामोडका साथीहरु ढुक्क हुनुहोस्, बुधवार निर्णय यतैबाट आउँछ’–उनको प्रस्ट भनाई छ ।

कमल र हल्दिबारी गाउँपालिकामा प्रमुख पदमा उम्मेद्वार चयन भइसकेका उम्मेद्वारहरु फेरबदल भएको भन्ने हल्लालाई प्रदेश इञ्चार्ज आचार्यले निराधार बताए ।
‘जो जहाँ निर्णय भइसकेको छ, त्यो कुनै हालतमा बदलिने छैन’, कमल र हल्दिबारीको बारेमा जिज्ञासा राख्दा आचार्यले भने–‘उम्मेद्वार आफैले उठ्दिन नभनेसम्म कसैले उहाँहरुलाई हटाउन सक्दैन, हटाउन आवश्यक पनि छैन ।’

कमल गाउँपालिकामा मेनका काफ्ले र हल्दिबारी गाउँपालिकामा मञ्जु सिटौलालाई एमाले प्रदेश कमिटीले प्रमुख पदमा केही दिन अघि नै पार्टीको उम्मेद्वार घोषणा गरिसकेको छ ।

उनीहरु दुबै जना मतदातासमक्ष मत माग्न थालिसकेका पनि छन् । जसमध्ये कमल गाउँपालिकाकी उम्मेद्वार काफ्लेले स्वेच्छापूर्वक उम्मेद्वार नबन्ने इच्छा राखेको स्रोतले जनाएको छ ।

काफ्लेले उम्मेद्वारी त्यागिन् भने सो स्थानमा उपप्रमुखका उम्मेद्वार वेणु शिवाकोटीलाई प्रमुखको उम्मेद्वार बनाइने सम्भावना छ । तर मङ्गलवार साँझसम्मा काफ्लेले उम्मेद्वारी त्यागेको सम्बन्धमा कुनै वक्तव्य सार्वजनिक गरेकी छैनन् ।

तर हल्दिवारी गाउँपालिकामा मञ्जु सिटौलाको नाम प्रमुख पदका उम्मेद्वारमा चयन भए पछि केही असन्तुष्ट कार्यकर्ताले मोहन रेग्मीलाई प्रमुख पदको उम्मेद्वार बनाइनु पर्छ भन्दै सोमवार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्न हुनेहरुले कार्यालय परिसरमा रहेको जिल्ला कमिटीका पदाधिकारीहरुको तस्वीर छापिएको फ्लेक्स बोर्ड समेत च्यात्च्युत पारेका थिए ।
एमालेका जिल्ला प्रचार विभागका प्रमुख माधव विद्रोहीले कमल र हल्दिवारी गाउँपालिकामा प्रदेश कमिटीले गरेको निर्णय उल्टिन नसक्ने बताए ।
‘पार्टीलाई कमजोर पार्ने नियतले विभिन्न हल्ला चलाइएको छ’–प्रचार प्रमुख विद्रोहीले लोकतन्त्र पोस्टसँग हल्लाको खण्डन गर्दै भने ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: