मेचीनगर र विर्तामोडको उम्मेद्वार आज टुङ्गिदै

  प्रकाशित मिति
१७ जेष्ठ २०७४, बुधबार ०९:२०


विर्तामोड । झापाको मेचीनगर र विर्तामोड नगरपालिकामा बुधवार साँझसम्ममा नेकपा एमालेबाट मेयर र उपमेयर पदमा उम्मेद्वार बन्नेहरुको टुङ्गो लाग्ने भएको छ ।

एक सातासम्म बसेको प्रदेश कमिटीको पूर्ण र सचिवालय बैठकले जिल्लाका अरु १३ स्थानीय तहको उम्मेद्वार तय गरे तापनि यी दुई नगर टुङ्ग्याउन सकेको थिएन ।

सचिवायल बैठकबाट अन्तिम निर्णय गर्ने अख्तियारी पाएका प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्य र सहइञ्चार्ज शेरधन राईले बुधवारसम्ममा मेचीनगर र विर्तामोडको उम्मेद्वार तय गरिसक्ने भएका छन् ।

‘हामी बुधवारसम्ममा दुबै नगरको उम्मेद्वारहरुको नाम निधो गर्छौँ’, मङ्गलवार साँझ लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै प्रदेश इञ्चार्ज आचार्यले भने–‘निकै ढिला भइसक्यो भन्ने सबैलाई थाहा छ, अब निर्णय हुन्छ ।’

मेचीनगरको मेयरमा विष्णु प्रसाई र गोपाल बुढाथोकीमध्ये कसलाई उम्मेद्वार बनाउने भन्ने छलफल नटुङ्गिदा प्रदेशको बैठक एक साता लम्बिएको थियो ।

यसैगरी, उपमेयरमा मीना उप्रेती, रेणुका डाँगी र शारदा शर्माविच कसलाई उम्मेद्वार बनाउने भन्ने विषय अहिलेसम्म अनिर्णित नै छ ।
विर्तामोड नगरपालिकामा मेयरका आकांक्षीहरु हरिचरण शिवाकोटी, एकराज कार्की, ज्ञानुराम प्रसाई र ध्रुव शिवाकोटीविच प्रतिष्पर्धा छ । तर अन्तिम दौडमा एकराज कार्की र हरिचरण शिवाकोटी रहेको बताइएको छ ।

विर्तामोडमा उपमेयरमा पवित्रा महतरा र भीमा शिवाकोटीको नाम निर्णायक मोडमा पुगेको बताइन्छ ।

प्रदेश इञ्चार्ज आचार्यले दुबै नगरको उम्मेद्वार चयनको समस्या अब केन्द्रमा नपुर्याइने बताए । ‘माथि जाँदैन, मेचीनगर र विर्तामोडका साथीहरु ढुक्क हुनुहोस्, बुधवार निर्णय यतैबाट आउँछ’–उनको प्रस्ट भनाई छ ।

कमल र हल्दिबारी गाउँपालिकामा प्रमुख पदमा उम्मेद्वार चयन भइसकेका उम्मेद्वारहरु फेरबदल भएको भन्ने हल्लालाई प्रदेश इञ्चार्ज आचार्यले निराधार बताए ।
‘जो जहाँ निर्णय भइसकेको छ, त्यो कुनै हालतमा बदलिने छैन’, कमल र हल्दिबारीको बारेमा जिज्ञासा राख्दा आचार्यले भने–‘उम्मेद्वार आफैले उठ्दिन नभनेसम्म कसैले उहाँहरुलाई हटाउन सक्दैन, हटाउन आवश्यक पनि छैन ।’

कमल गाउँपालिकामा मेनका काफ्ले र हल्दिबारी गाउँपालिकामा मञ्जु सिटौलालाई एमाले प्रदेश कमिटीले प्रमुख पदमा केही दिन अघि नै पार्टीको उम्मेद्वार घोषणा गरिसकेको छ ।

उनीहरु दुबै जना मतदातासमक्ष मत माग्न थालिसकेका पनि छन् । जसमध्ये कमल गाउँपालिकाकी उम्मेद्वार काफ्लेले स्वेच्छापूर्वक उम्मेद्वार नबन्ने इच्छा राखेको स्रोतले जनाएको छ ।

काफ्लेले उम्मेद्वारी त्यागिन् भने सो स्थानमा उपप्रमुखका उम्मेद्वार वेणु शिवाकोटीलाई प्रमुखको उम्मेद्वार बनाइने सम्भावना छ । तर मङ्गलवार साँझसम्मा काफ्लेले उम्मेद्वारी त्यागेको सम्बन्धमा कुनै वक्तव्य सार्वजनिक गरेकी छैनन् ।

तर हल्दिवारी गाउँपालिकामा मञ्जु सिटौलाको नाम प्रमुख पदका उम्मेद्वारमा चयन भए पछि केही असन्तुष्ट कार्यकर्ताले मोहन रेग्मीलाई प्रमुख पदको उम्मेद्वार बनाइनु पर्छ भन्दै सोमवार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्न हुनेहरुले कार्यालय परिसरमा रहेको जिल्ला कमिटीका पदाधिकारीहरुको तस्वीर छापिएको फ्लेक्स बोर्ड समेत च्यात्च्युत पारेका थिए ।

एमालेका जिल्ला प्रचार विभागका प्रमुख माधव विद्रोहीले कमल र हल्दिवारी गाउँपालिकामा प्रदेश कमिटीले गरेको निर्णय उल्टिन नसक्ने बताए ।
‘पार्टीलाई कमजोर पार्ने नियतले विभिन्न हल्ला चलाइएको छ’–प्रचार प्रमुख विद्रोहीले लोकतन्त्र पोस्टसँग हललाको खण्डन गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: