मेचीनगर साकोसको शेयरपूँजी २ करोड नाघ्यो

  प्रकाशित मिति
३१ भाद्र २०७५, आईतवार १०:३६


मेचीनगर । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोवारको बृद्धि र विकाससँगै शेयर सदस्यको हित अनुकूल हुने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सहकारीको शनिवार सम्पन्न ११ औं साधारणसभामा अध्यक्ष कमल काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शेयर सदस्यलाई सवल र सक्षम बनाउनका लागि सहकारी शिक्षा, वित्तीय साक्षरता तथा व्यावसायिक सीप विकास तालिमलगायतका कार्यक्रमलाई विशेष जोड दिइने बताएका हुन् ।

उनले सदस्यलाई व्यावसायिक रुपमा आत्मनिर्भर बनाउन पशुपालन, कुखुरापालन, विषादिरहित केरसाबारी तथा कौशीमा तरकारी खेतीलगायतका कार्यक्रममा विगतदेखि नै गर्दै आएको बताए ।

प्रतिवेदनमा सदस्य राहत कोषमार्फत मृगौला पीडित शेयर सदस्यलाई १ पटकको डाइलोसिस, मुटुको सर्जरी गर्नु परेमा २० हजार रुपैयाँ, पाठेघर तथा पथरीको अपरेसन गर्नु परेमा ५ हजार रुपैयाँ र दुर्घटनामा परी घाइते भएमा उपचार स्वरुप प्रत्येक पटक १० हजार रुपैयाँ बराबरको उपचार खर्च गरिने जनाइएको छ ।

महिला सदस्यहरुको हित हुने गरी सहकारीले दुई पटकसम्म सुत्केरी खर्च वापत २ हजार रुपैयाँ प्रदान गर्दै आएकोमा बढाएर ३ हजार रुपैयाँ प्रदान गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६४ सालमा ३१ जना शेयर सदस्यको ३ लाख १० हजार शेयरपँुजीबाट सुरु भएको संस्थामा हाल कारोवार बृद्धि भई २ करोड बढीको शेयर पूँजी रहेको छ भने २ हजार ७ सय शेयर सदस्य रहेका छन् ।

संस्थाको निक्षेप संकलन १७ करोड १७ लाख ३४ हजार ३१४ रहेको छ । संस्थाले १६ करोड, ७९ लाख ३१ हजार ८४४ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको कूल सम्पति २१ करोड २३ लाख ३१ हजार ३४ रुपैयाँ रहेको छ ।
संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर १ का सांसद गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचत तथा ऋणि, उत्कृष्ट कर्मचारी र २०७४ मा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा कर्जातर्फ दुर्गा मर्डी, देवकला लिवाङ, मनिसा राई, भीमबहादुर कार्की, दीपाली मलाहा, चुडामणि न्यौपाने, पदमबहादुर विष्ट, मीनप्रसाद भूजेल, विन्दसिंह लामा र चन्द्रकुमारी जबेगु रहेका छन् भने उत्कृष्ट बचततर्फ कमलादेवी डाँगी, कमला कुँवर, सीताराम थापा मगर, लक्ष्मीप्रसाद कडरिया, तुलसामाया भट्टराई, कान्छा दनुवार, नहरदेव राजवंशी, टाँकबहादुर खनाल, मञ्जुकुमारी राई, डम्बरुबल्भ पौडेल र सीतादेवी श्रेष्ठ रहेका छन् ।
त्यसैगरी एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल शेयर सदस्यका छोराछोरीमा छात्रातर्फ रचना सिटौला र

छात्रतर्फ निमेश घिमिरे रहेको संस्थाका व्यवस्थापक मानस सिटौलाले बताए ।
दुवै जनालाई नगद २ हजार ५ सय रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा तुलसा राउतलाई नगद ५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

संस्थाका उपाध्यक्ष शिव रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सञ्चालक सदस्य दुर्गा सापकोटा, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी र कल्पबृक्ष सहकारी संस्थाका अध्यक्ष ललित बोहोरालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारी सचिव कर्णबहादुर गौतमले गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: