धुलाबारी । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बर्षेनी रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आफ्ना शेयर सदस्यलाई लक्षित गरी स्वास्थ्य शिविर, पुरस्कार वितरण तथा सम्मानलगायतका कार्यक्रम गरी संस्थाले सामाजिक दायित्व पूरा गर्दै आएको छ ।
गतवर्ष जस्तै यसवर्ष पनि संस्थाले बार्षिकोत्सवको अवसरमा चारदिने कार्यक्रम तय गरेको छ ।
माघ २५ गतेदेखि २८ गतेसम्म विविधि कार्यक्रम गर्ने निर्णय भएको सहकारीका व्यवस्थापक मानस सिटौलाले जानकारी दिए ।
उनका अनुसार माघ २५ गते बाल बचत गर्ने बालबालिकाहरुलाई कापीकलम वितरण कार्यक्रम राखिएको छ ।
संस्थाको सभाहलमा राखिएको उक्त कार्यक्रममा अभिभावकको उपस्थितिमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्न लागिएको हो । संस्थामा बाल बचत खाता २५० जनाले खोलेका उनले बताए ।
यस्तै, संस्थाले मेची आम्दा अस्पतालको सहजीकरणमा सदस्यको रगत परीक्षण शिविर राखेको छ ।
माघ २६ गते हुने उक्त शिविरमा प्रेसर, सुगर थाइराइड, कोलेस्ट्रोल, युरिया क्रियाटिनिन्को जाँच गरिनेछ ।
त्यसैगरी, माघ २७ गते मेचीनगर नगरपालिका क्षेत्रका ११ र १२ कक्षा सञ्चालनरत् सामुदायिक तथा संस्थागत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने व्यवस्थापक सिटौलाले बताए ।
माघ २८ गते साकोसको १२ औं बार्षिक उत्सव तथा मेची आम्दा अस्पतालका डाक्टरहरुद्वारा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक तथा रगत परीक्षणको रिपोर्ट वितरण कार्यक्रम रहेको छ ।
संस्थाको सभाहलमा विशेष कार्यक्रमकाबीच जेष्ठ नागरिक सम्मान तथा प्रतिष्ठित सामाजिक व्यक्तित्व सम्मान भनेर एकजनालाई पुरस्कृत पनि गरिने भएको मेचीनगर साकोसले जनाएको छ ।