मेचीपारिका नेपाली भन्छन्– ‘पुल बनाउनेलाई भोट दिन्छौं’

  प्रकाशित मिति
३० जेष्ठ २०७४, मंगलवार ०९:३०


mechi 1

ग्वालावस्ती (ज्यामिरगढी) । मेचीनगरको सबैजसो गाउँवस्तीमा चुनावी गर्मीले उधुम मच्चाइरहँदा नजिकै ज्यामिरगढीको झाडु वस्ती, ग्लावा वस्ती र होपना वस्ती (शिशौडाँगी) भने राजनीतिक माहौलबाट अप्रभावित नै छन् । मोटर पुग्ने बाटो नभएको यो दुर्गम क्षेत्रमा मुख्य दलका केही झण्डा बाहेक स्थानीय चुनावको खासै सङ्केत छैन । भोट फकाउन समेत यहाँ नेताहरु आइपुगेका छैनन् ।

ज्यामिरगढीको यी तीन वस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको ‘मेची पारि’को यो चर्चित टापुमा करीव पचास परिवारको सघन बसोबास छ । उपेक्षित वस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाहरुले यसपाली भोट माग्न जो जो आउँछन्, उनीहरुसँग एउटै लयमा प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’

विकासका कुनै पनि पूर्वाधार नपुगेको मेचीनगरको वडा नं. १५ मा पर्ने यी दुर्गम वस्तीलाई ‘मेची पारिको नेपाल’ भनेर चिनिने गरिएको छ । असुविधाका आधारमा यसलाई ‘मेचीनगरको कर्णाली’ नै मान्दा फरक पर्दैन । किनकि, यी तीन गाउँ नेपाल सरहदभित्रको त्यस्तो भूभाग हो, जसलाई नेपालको विकासको मूल प्रवाहमा मिसाउने प्रयास राज्य तहबाट कहिल्यै गरिएन ।

3

२०१० सालदेखि नै यहाँ मानव वस्ती बसेको बताइएको छ । यति लामो अवधिसम्ममा भएका चुनावमा कयौँ नेता भोट माग्न अनेक आश्वासन बोकेर यो वस्तीमा आए होलान् । तर दुःखलाग्दो कुरो के छ भने यो वस्तीलाई सिङ्गो नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न विजुली, न सञ्चार नै यहाँ पुगेको छ ।

साविक ज्यामिरगढीको वडा नं. २ मा पर्ने यी तीन गाउँमा सन्थाल, यादव, पाहान र राजबंशी समुदायको वसोवास छ । शिक्षा र चेतनाको कमीका कारण यहाँका नेपालीले आफु नेपाली नागरिक हुनुको समान सुविधाको हक समेत माग्न जानेका छैनन् । त्यसैले सँधैभरि हेपिने गरेको यो वस्ती चुनावका बेला दलहरुको भोट व्याङ्क मात्र बन्ने गरेको छ ।

बजार, यातायात, शिक्षा र स्वास्थ्य सुविधाका लागि भारतमा निर्भर यी वस्तीहरु विद्युत, सञ्चार र सडक सञ्जालका दृष्टिले पनि नेपालबाट सम्पर्क विच्छेदको अवस्थामा छन् ।

विगतमा कम्तीमा चुनावका बेला भोट माग्न नेताहरु आउने गरेको यी गाउँहरुमा यसपालीको स्थानीय चुनावमा मेयर र उपमेयरको उम्मेद्वार बनेका कोही पनि व्यक्ति आइपुगेका रहेनछन् ।

2

इटाभट्टा चोकबाट करीव ५ किलोमिटर दक्षिण झरेपछि बंशल टी इस्टेट पुगिन्छ । इस्टेटको उत्तरी साँधबाट कमलेश मर्डीको घरछेउको बाटो हुँदै पूर्वतर्फ जाँदा मेची नदी पुगिन्छ । नदी पार गरेपछि साइकल र बाइक हिँड्ने गोरेटो बाटो भेटिन्छ । जहाँबाट सीधै मेची पारिको नेपालको ग्वाला वस्ती पुगिन्छ ।

चुनावी रिपोर्टिङको क्रममा सोमवार दिउँसो पुग्दा स्थानीय नरेन्द्र यादवको घरमा फरफराइरहेको सत्तारुढ नेपाली काङ्ग्रेस पार्टीको एउटा झण्डाले स्वागत गर्यो । १८ घर रहेको ग्वालावस्तीका आधा भन्दा कम घरमा मात्र पार्टीका झण्डा गाडिएका छन् । बाँकी घरमा चुनाव आएको जनाउने कुनै चिनो भेटिदैन ।

‘काङ्ग्रेसका मान्छेहरु आउनु भएको थियो’, आफ्नो घर अगाडि टाटीमा गाडिएको झण्डा बारे ५५ वर्षीय यादवले भने–‘झण्डा गाडेर जानु भएछ ।’
गाउँमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता बाहिरबाट आएर झण्डा गाडेर गएको उनी बताउँछन् ।

नरेन्द्र यादवले भोट माग्न आउने उम्मेद्वारहरुसँग मेची पुलमा झोलुङ्गे, खेतमा बाह्रमास पानी पटाउन पैनी र तीन वस्तीलाई जोड्ने सडक बनाउन शर्त राख्ने बताएका छन् ।

ma

उनका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा ३ महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या सुनाए भने त्यही कारणले स्कुल पढ्न पनि भारततिरै धाउनु परेको बताए ।

गाउँका शतप्रतिशत परिवार कृषि पेशामा निर्भर छन् । तर किसानले खेतीका लागि आकाशे पानीको भर पर्नु परेको छ । यो समस्याबाट छुटकारा पाउन मेची नदीमा नहर खनिदिन वा डिप बोरिङको व्यवस्था मिलाइदिन उम्मेद्वारहलाई माग गरिने उनले बताए ।

आफ्नो उमेर नै बताउन नजान्ने करीव ४५ वर्षकी आरुती यादवले अहिलेसम्म नेपाली नागरिकता प्रमाणपत्र नै पाउन नसकेको गुनासो सुनाइन् । उनीकहाँ सूर्य चिह्नमा भोट माग्न केही बाहिरका कार्यकर्ताहरु आएको बताइन् ।

अनेक प्रशासनिक झमेलाको कारण आफ्नो र २ छोरीको नागरिकता बनाउन नसकिएको आरुतीको भनाई छ । उनका पतिको भने नेपाली नागरिकता छ ।

मेची पारिको नेपालका तीन गाउँमध्ये पुछारमा छ होपना वस्ती । होपना वस्तीको पनि पुछारमा छ मरियम मुर्मुको झुपडी । दशगजासँगै जोडिएको झुपडीमा बस्दै आएकी मुर्मु नेकपा माओबादी केन्द्रबाट मेनपा–१५ को महिला सदस्यमा उम्मेद्वार बनेकी छन् ।

6

उनको घरबाट सीमाको पिलर मात्र होइन, दुई सय मिटर पूर्व बाँधबाट दुरवीन लगाएर नेपालतिर तिखो नजर लगाइरहेको भारतीय सीमा रक्षक फौज एसएसवीको हतियारधारीलाई पनि सजिलै देखिन्छ ।

उनलाई खोज्दै घर पुग्दा मुर्मु घर लिपपोत गर्दै थिइन् । ‘भोट मागेर भर्खरै आएकी, अलिकति घरको काम पनि भ्याउनु पर्यो नि’–घर बसेर भोट पाइन्छ त भन्ने प्रश्न गर्दा उनले लजाउँदै जवाफ दिइन् ।

घरमा पत्रकार आएको भन्ने बुझेपछि हिलो माटो लागेको लुगा फेरेर मात्र क्यामेरा अघि उभिने भन्दै उनले केहीवेर अड्डी लिइन् । उनले ग्वालीमा सिउरेर राखेको गोलाकारभित्र हँसिया हथौडा अङ्कित झण्डा ल्याएर फोटो खिचाइन् ।

करीव सय मतदाता भएको मेची पारिको नेपालमा मरियम मुर्मु गाउँकी एक्ली उम्मेद्वार हुन् । विहान बेलुका काम नगरी खान नपुग्ने वर्गकी मुुर्मुले उम्मेद्वारको टिकट पाए यता दिनहुँ चुनावी अभियानमा दौडधुप गर्दै आएकी छन् ।

उम्मेद्वार बनेको थाहा पाए पछि वस्तीका मानिसहरुले आफुलाई निकै मानभाउ दिएको मरियमको अनुभूति रहेछ । उनी चुनावमा मेची पारिको तीन वटै वस्तीबाट सहानुभूति मत पाउने दावा गरिन् ।

4

उनले चुनाव जितेपछि सबैभन्दा पहिला मेचीमा पुल बनाउने घोषणा गरेकी छन् । त्यसपछि नेपालतिरबाट बिजुली ल्याउने उनको योजना रहेछ ।
बिजुलीकै कुरा हुँदा मेची पारिको यो वस्तीमा केही विजुलीका पोल यसै साता गाडिएका छन् । खोलादेखि पूर्व र वस्तीभन्दा पश्चिममा गाडिएका यी पोल चुनावको मुखमा कसले र किन गाड्न लगाएको हो स्थानीयले बताउन सकेका छैनन् ।

होपना वस्तीमा वि.सं.२०१२ सालदेखि बसोबास गर्दै आएका ८४ वर्षीय सुपल बास्के चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताहरुप्रति गुनासो गरे ।

‘हामी त भोट दिन्छौँ नि, तर नेताहरुले हामीहरुलाईं केही दिन सकेनन्’–अर्का वयोवृद्ध सञ्च पाहान बताउँछन् ।

सञ्चको घर छेउमा गाई र सूर्य चिह्न भएको दुई झण्डा गाडेको भेटियो । उनले यसपाली भोट माग्न नेताहरु आउँदा पहिले बाचा गरेको कुरा किन पुरा नगरेको भनी प्रश्न सोध्ने चाहना व्यक्त गरेका छन् ।

‘चुनावका बेला आउँछन्, घरघरमा झण्डा गाड्छन् र काम गछौैँ भन्छन्’, नेताहरुको छलकपट प्रवृत्तिप्रति आक्रोशित हुँदै उनी भन्छन्–‘जितेपछि सबै विर्सिहाल्छन् ।’

5

उनले गाउँका धेरै महिलासँग नेपाली नागरिकता प्रमाणपत्र नभएको र सरकारले दिने सामाजिक सुरक्षा भत्ता समेत सबै पाउनयोग्यले पाउन नसकेको बताए ।

गाउँका अधिकांश घरमा साँझ परे पछि मट्टितेलको कुपीले उज्यालो छर्छ । केही घरमा भने सोलार जडान गरिएका छन् । दशगजा पारि भारततिरको चुनीलाल जोत भने रातमा विजुली बत्तीले झिलीमिली हुने गरेको छ ।

तीन वस्तीको माझमा मेची प्राथमिक विद्यालय स्थापना गरिएको छ । नेपाल सरकारको यही एउटा मात्र निकाय वस्तीमा छ । जहाँ पढाउने शिक्षकहरु मेची तरेर बर्खामा ४ महिनासम्म आउन सक्दैनन् । सोमवार ३ बजेतिर स्कुल पुग्दा शिक्षकहरु दिउँसै विद्यार्थीहरुलाई छुट्टि दिएर घर गएको स्थानीय बासिन्दाले बताए ।

नदीमा झोलुङ्गे पुल बनाउन सके माथिल्लो तहको कक्षा पढ्न यहाँका विद्यार्थीहरुले भारत जानु पर्ने थिएन । यहाँको मुख्य माग नै झोलुङ्गे पुलको निर्माण हुनु पर्ने भन्ने छ ।

झोलुङ्गे पुल होस् या नागरिकता । मेची पारिको नेपालका यी वस्तीहरुले नेपालको विकासको मूलप्रवाहमा आफुहरुलाई समेट्न माग गरेका हुन् । जे कुरामा पनि भारतकै भरमा बाँचिरहेका यी वस्तीहरुमा नेपाली भूगोल हुनुको अनुभूति दिलाउने गरी योजनाबद्ध रुपमा विकासका पूर्वाधार र सुविधाहरु पुर्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: