मेची अस्पतालले मिर्गौला डाइलासिस सेवाबाट निजी साझेदार हटाउने

  प्रकाशित मिति
१ भाद्र २०७९, बुधबार ०९:५३


झापा, १ भदौ । मेची प्रादेशिक अस्पतालले मिर्गौला डाइलासिस सेवा सञ्चालनको निजी साझेदार हटाउने भएको छ । साझेदार हटेपछि अस्पताल आफैले डाइलासिस सेवा सञ्चालन गर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनाभित्र साझेदार संस्थालाई हटाउन निर्देशन दिएपछि मेची अस्पताल आफैले हेमोडाइलासिस सेवा सञ्चालन गर्न लागेको अस्पतालका प्रशासन प्रमुख रेखनाथ दाहालले जानकारी दिए ।

अस्पतालले बि.सं. २०७७ पुस १ गतेदेखि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालनको जिम्मेवारी काठमाडौंको बिराङ्ग हेल्थ केयर नामक निजी संस्थालाई दिएको थियो । त्यसअघि २०७४ देखि तीन वर्षसम्म सो सेवा अस्पतालले आफै सञ्चालन गर्दै आएको थियो ।

मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले गत साउन २५ गते त्यस्तो निर्देशन पठाएको जनाउँदै उहाँले अस्पताल आफैले हेमोडाइलासिस सेवा सञ्चालन गर्ने जानकारी साझेदार संस्था बिराङ्ग हेल्थ केयरलाई दिइसकेको बताए ।

सरकारी अस्पतालहरुमा हेमोडाइलासिस सेवा निःशुल्क उपलब्ध हुँदै आएको छ । निःशुल्क सेवा प्रदान गरे वापत मन्त्रालयले सेवा प्रदायक अस्पताललाई एक बिरामी वापत रु. दुई हजार ५०० अनुदान उपलब्ध गराउँदै आएको थियो ।

तर, साझेदार संस्था भित्राएपछि अस्पतालहरुले सो अनुदान निजी साझेदारलाई दिदै आएको थियो । अब स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालबाट हेमोडाइलासिस सेवा सञ्चालनबाट निजी साझेदारलाई हटाउने नीति लिएको छ ।

विराङ्ग हेल्थ केयरको मेची अस्पताल शाखाका व्यवस्थापक शेरबहादुर चौधरीले अबोप्रान्त हेमोडाइलासिस सेवा अस्पताल आफैले सञ्चालन गर्ने मौखिक जानकारी प्राप्त भएको स्वीकार गरे ।

अस्पतालसँग पाँच वर्षका लागि सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको जनाउँदै उनले हेल्थ केयरले हेमोडाइलासिस सेवा सञ्चालनका लागि भवन निर्माण र मेसिनरीमा ठूलो लगानी गरेको दावी गरेका छन् ।

उनका अनुसार मेची अस्पतालमा हाल १३ वटा मेसिनबाट ६० जना मिर्गौला रोगीलाई नियमित सेवा प्रदान भइरहेको जानकारी दिए ।

मिर्गौला रोगीको निःशुल्क उपचार जस्तो सम्बेदनशील विषयमा निजी साझेदार भित्राउँदा जनस्तरबाट बिरोध हुँदै आएको थियो । निजी संस्थाले जिम्मेवारी लिएपछि सेवा प्रभावकारी हुन नसकेको, कर्मचारीले समयमै तलब नपाएको लगायतका गुनासो आइरहेकै समयमा स्वास्थ्य मन्त्रालयले साझेदार हटाउन निर्देशन पठाएको छ ।

झापामा मिर्गौला रोगीका लागि डाइलासिस सेवा दिने एक मात्र सरकारी अस्पताल हो मेची प्रादेशिक अस्पताल । यसबाहेक निजी क्षेत्रका ओमसाई पाथिभरा, बिर्तासिटी र मनमोहन अस्पतालले पनि हेमोडाइलासिस सेवा दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: