मेचीनगर । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउन र राख्नका लागि झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ ।
जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने हुँदा उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो ।
कोरोना संक्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको छ ।
उनले भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति प्राप्त हुन साथ त्यही ल्याएर राखिने बताउनुभयो ।
नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा एकसय वटा बेड तयार भइसकेको उनले बताए ।
‘स्थानीय पालिकाहरुले बाहिरका मान्छे राख्न सक्दैनौँ भन्छन’, उनले भने,‘संक्रमित छ या छैन जाँच नगरी टाढा पठाउन मिल्दैन । त्यही भएर छुट्टै राख्न क्वारेन्टाइन निर्माण गरिरहेका छौँ ।’
तीन सय बेडको क्वारेन्टाइन तत्काल निर्माण गरिने र आवश्यक परे थप बेडको समेत व्यवस्था गरिने उनले बताए ।
यस अघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुलाई राखिएको छ ।
क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, म्याटे«स, तन्ना, माक्सलगायतका दुई दुई सयका दरले सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ ।
सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले सोमबार प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सो सामग्री हस्तान्तरण गरेको हो ।
झापाका १५ वटा पालिकामा स्कूल, सामुदायिक वन, स्वास्थ्य चौकी लगायतमा ७ सय ९२ जना अटाउने २७ वटा क्वारेन्टाइन छन् ।