मेचीनगर । काँकरभिट्टा सोसाईटीले पाँच दिनमा नाकामा अलपत्र परेका २५०० मानिसलाई निःशुल्क खाना खुवाएको छ ।
शुक्रबारदेखि मङ्गलबारसम्म सोसाईटीले उक्त संख्यामा मानिसहरुलाई खाना खुवाएको हो ।
मङ्गलबार विहान मात्र मेचीपुलका १६० र काँकरभिट्टा बसपार्कमा अलपत्र परेका १६० जना भारत तथा नेपालका नागरिकहरुलाई खाना खुवाइएको सोसाईटीका सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
काँकरभिट्टा खानेपानी कार्यालय परिसरको चमेना गृहमा सोसाईटीका युवाहरुले खाना पकाएर, पेकेजिङ गरेर अलपत्र परेकालाई मेचीपुल र बसपार्कमा लगेर खुवाउने गरिएको उनले बताए ।
सोसाईटीका सदस्यहरु गोपाल तामाङ, राजु कार्की, दिपक पोखरेल, शुशिल आचार्य, राजकुमार पराजुली, शुभद्रा भट्टराई अर्याल, रविन भट्टराई, नेत्र कार्की लगायतका युवाहरु खटिरहेका छन् ।
सोमबार राति दुई पटक खाना पकाउनु परेको मेचीनगर नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष नविन बरालले बताए ।
उनले काँकरभिट्टा होल्डिङ प्वोइन्टमा बसेका ५४ जना नेपाली नागरिकहरुलाई राति १२ वजे पकाएर खाना खुवाइएको बताए ।
।। अर्जुन कार्की ।।