।। अर्जुन कार्की ।।
मेचीनगर, १८ भदौ । नेपाल र भारत सरकारलाई मेची पुलको फोटो पठाउन ड्रोन क्यामेराको प्रयोग गरिने भएको छ ।
करिव एक महिनामा नेपाल सरकारलाई हस्तान्तरण हुने मेची पुलको फोटो लिन ड्रोन क्यामेराको प्रयोग गरिने भएको हो ।
ड्रोन क्यामेराबाट खिचिएको मेची पुलको फोटो भारत र नेपाल सरकारलाई पठाईसकेपछि मात्र हस्तान्तरणको प्रकृयामा जाने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।
उनका अनुसार यत्रो लामो पुल र सडक सामान्य क्यामेराले फोटो खिच्दा पुरै कभर नर्गने भएकोले ड्रोन क्यामेराको सहायताले फोटो खिचिने नगरप्रमुख आचार्यको भनाइ छ ।
ड्रोन क्यामेराबाट मेची पुलको फोटो खिच्ने तयारी भइरहेको उनले बताए ।
उनका अनुसार भारत र नेपाल सरकारको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिले पुलको फोटो हेरेपछि स्थलगत अनुगमन गर्नेछन् ।
उनीहरुले स्थलगत अनुगमन गरेपछि मात्र हस्तान्तरण प्रकृया सुरु हुने उनको भनाइ छ ।
पुलसँगै डेढ किलो मिटरको एशियन हाइवेको सडकसमेत निर्माण कार्य भईसकेको छ ।