मेनपावर व्यवसायी भागाभाग

  प्रकाशित मिति
२ चैत्र २०७४, शुक्रबार १०:३५


बिर्तामोड । नयाँ सरकार बनेसँगै वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीको अनुगमन गर्न थालेको छ ।

गत सोमबारदेखि मोफसलमा रहेका मेनपावरका शाखा र सम्पर्क कार्यालयको अनुगमन सुरु गरिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए ।

उनका अनुसार वैदेशिक रोजगार विभागका शाखा अधिकृतद्वय अनुज गौतम र टङ्कप्रसाद चम्लागाई नेतृत्वको टोलीले झापाका मेनपावरको अनुगमन गरेको छ ।

फ्री भिषा, फ्री टिकटको निर्णय भएको लामो समयसम्म पनि व्यवसायीले न्यूनतम् रकमको रसिद दिएर प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी लिने गरेको गुनासो आएपछि स्थानीय प्रशासनको सहयोगमा मोफसलमा रहेका मेनपावरको अनुगमन सुरु गरिएको हो ।

मोफसलमा रहेका मेनपावरको अनुगमन गरिसकिएपछि मेनपावरका हेड अफिसको समेत अनुगमन गरिने उनले जानकारी दिए । २० हजार रुपैयाँ लिनुपर्ने ठाउँमा १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको विभागमा गुनासो आएको अधिकारीले बताए ।

लामो समयदेखि हुन नसकेको मेनपावर कम्पनीको अनुगमन सुरु भएपछि व्यवसायीहरु अत्तालिएका छन् । सोमबारबाट झापाका मेनपावरको अनुगमन हुने सुइँको पाएपछि अधिकांश व्यवसायीले बोर्ड लुकाएर अफिस बन्द गरे ।

अनुगमनपश्चात व्यवसायीबीच खैलाबैला मच्चिएको छ । धरौटी रकम फिर्ता लिएर पनि लामो समयदेखि अफिस सञ्चालन गरेर विदेशिने युवाबाट मोटो रकम असुल्दै आएका व्यवसायी यतिबेला भने वैधानिकता खोज्दै भौँतारिएका छन् ।

उनीहरुले अनुगमनमा आएको टोलीलाई आर्थिक प्रलोभनमा परी गल्ती ढाकछोप गर्न रकम समेत सङ्कलन गरेको स्रोतको दाबी छ । यस पटकको अनुगमन भिन्न खालको रहेको एक व्यवसायीले बताए । धरौटी रकम नराखिकन सञ्चालनमा रहेका मेनपावरलाई अब जिल्ला प्रशासन कार्यालयको सहयोगमा बन्द गरिने वैदेशिक रोजगार विभाग स्रोतले बताएको छ ।

वैदेशिक रोजगार विभागमा राखिएको धरौटी रकम फिर्ता लिएर एजेन्ट नवीकरण समेत नगरेका मेनपावर व्यवसायीको भागाभाग भयो ।

झापामा सञ्चालित ६० प्रतिशतभन्दा बढी मेनपावर अवैधानिक रुपले सञ्चालन भएको स्रोतको दाबी छ । अनुगमनको क्रममा खटिएको टोलीले रिपोर्ट नआएसम्म आफूले केही बोल्न नमिल्ने जनाए पनि ६० प्रतिशतभन्दा बढी मेनपावरका कार्यालयले धरौटी रकम फिर्ता लिएको स्रोतको दाबी छ ।

विभागका प्रवक्ता अधिकारीले अनुगमनको रिपोर्ट आएपछि प्रशासनको सहयोगमा अवैधानिक रुपमा सञ्चालनमा रहेका मेनपावरलाई कारबाही गरिने बताए ।

प्रवक्ता अधिकारीले वैदेशिक रोजगार ऐन र कानुनले एजेन्ट खारेजी नगरेको प्रष्ट्याए । वैदेशिक रोजगार व्यवसायी संघले २ वर्षअघि नै एजेन्ट खारेजी भएको सूचना सार्वजनिक गरेपछि धेरै व्यवसायीले विभागमा जम्मा गरेको धरौटी रकम फिर्ता लिएका छन् ।

केहीले धरौटी रकम फिर्ता लिएका छैनन् । धरौटी रकम फिता लिने अवैधानिक ठहरिएको स्रोतको भनाइ छ ।

झापामा करिब १६५ वटा मेनपावरका शाखा र सम्पर्क कार्यालय सञ्चालनमा छन् । तीमध्ये ६० प्रतिशत बढीले धरौटी रकम फिर्ता लिएको एक व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: