।। अर्जुन कार्की ।।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरभित्रका सबै चिया बगान बन्द गर्न निर्देशन दिएका छन् ।
मेयर आचार्यले आइतबार बगानको अनुगमन गरेपछि पत्रकारसँगको भेटघाटमा चिया उद्यागीहरुलाई चिया बगान बन्द गर्न निर्देशन दिइएको बताएका हुन् ।
मेयर आचार्य, उपमेयर मिना पोखरेल उप्रेती, सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली लगायतको टोलीले टोक्ला चिया बगानको आइतबार स्थलगत अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा चिया उद्योगी टोक्ला चिया बगानका सञ्चालक सुभाष संघाईलाई चिया बगान बन्द गर्न सांसद्, मेयर, उपमेयरले आग्रह गरेका थिए ।
नगरपालिकाको नीति र नियम पालना नगर्ने चिया बगानका सञ्चालकलाई कारवाहीसम्म गरिने चेतावनी मेयर आचार्यले पत्रकार भेटघाटमा गरेका थिए ।
सञ्चालक संघाईले मेयर आचार्यलाई चिया बगान बन्द गर्ने बताएका थिए । तर संघाईको तीन वटा शर्त नगरपालिकाले मान्नु पर्नेछ । जस्मा पहिलो चिया बगानमा थोरै संख्यामा रहेका मजदुरहरुले पानी हाल्न पाउनु पर्ने ।
दोस्रो चिया बगानमा विषादी छिट्न पाउनु पर्ने र तेस्रो कुरा झ्याङ पलाइसकेका चिया पत्तीको माथिको भाग काट्न पाउनु पर्ने शर्त तेर्स्याएका थिए ।
नगरपालिकाले सञ्चालक संघाईको तीन वटा शर्त मानेपछि चिया बगान बन्द गर्ने सहमति भएको मेयर आचार्यले पत्रकारलाई जानकारी दिए ।
चिया बगानका मजदुरको सुरक्षाका निम्ती बगान बन्द गर्न बाध्य भएको उनले बताए ।
‘कृषि मन्त्रालय प्रदेश सरकारले चिया उद्योग खुलाउन नगरपालिकालाई परिपत्र गरेको थियो’, मेयर आचार्यले भने–‘प्रदेश सरकारको अनुरोधमा हामीले चिया बगान खुलाएका थियौँ ।
तर, चौतर्फि विरोध र त्यहाँ काम गर्ने मजदुरको सुरक्षाका लागि पनि बाध्य भएर प्रदेश सरकारको परिपत्रलाई मिचेरै चिया बगान बन्द गर्न निर्देशन दिइयो ।’
यसैवीच नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनका बेला चिया बगान खुला गरेर मजदुरहरुलाई काममा लगाउनु आपत्तिजनक भएको जनाउँदै त्यसलाई रोक्न आग्रह गरेका थिए ।
नेपाल सरकारले नै प्रदेश र स्थानीय सरकारहरुलाई निर्देशन दिएर चिया बगान खोल्न अनुमति दिएको थियो ।
आइतवारदेखि झापा र इलामका चिया बगानहरु आंशिक रुपमा खुलेका थिए ।
लकडाउनका बेला मजदुरलाई काममा पठाउने निर्देशन जसले दिएको भए पनि गम्भीर भएको बताउँदै प्रवक्ता शर्माले आइतवार नै फेसबुकमा धारणा पोस्ट गरेका थिए ।