मेयरमा म्याडम पनिताको दावी

  प्रकाशित मिति
२७ बैशाख २०७४, बुधबार १२:१२


panita 2मेचीनगर । ‘मैले जित्नु भनेको सिङ्गो मेचीनगरका महिलाले जित्नु हो, अन्य राजनीतिक दलले महिलालाई मुख्य पदका लागि योग्य नदेखिरहेको अवस्थामा म विकल्प बनेर आएकी छुँ, त्यसैले मैले जितेर आम महिलाको शीर उचो राख्नु छ ।’

नयाँ शक्ति पार्टीबाट मेचीनगरको मेयर पदमा उम्मेद्वार बनेकी म्याडम पनिता ढकालको भनाई हो यो । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र राप्रपाबाट महिलालाई उपमेयरको उम्मेद्वारमा सीमित पार्ने निश्चित जस्तै भएको बेला पनिता नयाँ पार्टीबाट मेयर पदकै दावेदार बन्दै चुनावी सङ्ग्राममा उत्रिएकी छन् ।

आफ्ना दृष्टिकोणलाई प्रष्ट र खरो रुपमा राख्न सक्ने खुवी भएकी पनिता नयाँ शक्ति पार्टीमा लाग्नु अघि नेकपा माओबादीबाट नगरकै उपल्लो नेतृको रुपमा स्थापित भइसकेकी थिइन् ।

झापाको सबैभन्दा बढी जनसङ्ख्या भएको र मुलुककै उपल्लो स्तरका नेताहरु विश्वप्रकाश शर्मा, रविन कोइराला, उषा गुरुङ लगायतको गृहनगर भएका कारण मेचीनगर नगरपालिका जेठ ३१ आउन निकै समय बाँकी छँदै चर्चाको केन्द्रमा छ ।

राप्रपाबाट अशोक सुब्बा, काङ्ग्रेसबाट विमल आचार्य, एमालेबाट विष्णु प्रसाई लगायतका तगडा नेताहरुको नाम मेयरको सम्भावित उम्मेद्वारको रुपमा चर्चामा आइरहेको छ । यहि बेला अरु पार्टीका जस्तोसुकै उम्मेद्वार खडा भए पनि आफुलाई फरक नपर्ने बताउँदै नेतृत्वमा महिला पुग्नु पर्ने नाराका साथ पनिता चुनावी प्रचारमा ओर्लिसकेकी छन् ।

काठमाडौँमा विवेकशील नेपाली पार्टीबाट मेयरमा उम्मेद्वार बनेकी रञ्जु दर्शना जसरी आज चर्चाको शिखरमा छिन्, त्यति धेरै त होइन, पनिता मेयरमा उठेको चर्चा मेचीनगरमा सामान्य रुपमा फैलिएको भने छैन । मेचीनगरको मेयर बन्ने अठोट बोकेर पुरुषहरुसँग प्रतिष्पर्धामा उत्रिएकी पनिताको चोकचोक र घरघरमा चर्चा हुनु स्वाभाविकै हो ।

मेचीनगर–६ घर भएकी उनी २०५६ सालदेखि निरन्तर नेकपा एमाओवादीमा रहेकी थिइन् । माओबादीमा रहँदा उनले नगरको महिला समन्वय समितिको नेतृत्व समेत सम्हालेकी थिइन् । एक बर्ष अघि मात्र उनी नयाँ शक्ति पार्टीको स्थापना अवधिमा प्रवेश गरेकी हुन् ।

पार्टीप्रतिको लगनशीलता, निडरता र क्षमताको मूल्याङ्कन गरेर नै पार्टीले मेयरमा उनको नाम प्रस्ताव गरेको पार्टीका जिल्ला संयोजक कुमार क्षेत्री बताउँछन् ।

सङ्घर्षबाट राजनीतिमा उदाएकी ३४ बर्षीया पनिता राजनीतिले नै मुलुकलाई समृद्ध र शक्तिशाली बनाउने बताउने भएकाले महिलाले स्थानीय तहको चुनावमा सक्रिय हस्तक्षेप गर्न जरुरी रहेको ठान्छिन् ।

‘महिलालाई नै मेयरमा पुर्याउन सकिने अवसर आएको’ बताउने उनी मुलुकको राष्ट्रपति, सभामुख र प्रधान्यायाधीश पदमा महिला नै भएको अहिलेको समयमा आम नागरिकले मेयरमा पनि महिलालाई नै हेर्न चाहेको दावी गरिन् ।

२०५६ सालमा काँकरभिट्टा क्याम्पसबाट राजनीतिक करियर सुरु गरेकी पनिताले परिवारबाट पनि सहयोग र प्रेरणा पाएकी छिन् । उनले राजनीतिसँगै जीविकोपार्जनका लागि घरेलु उद्योगजन्य व्यवसाय सञ्चालन गर्दै आएकी छन् ।

‘राजनीति व्यवसाय होइन, सामाजिक सेवा हो’ भन्न रुचाउने उनले जीविकाका लागि घरमै झोला उद्योग सञ्चालनमा ल्याएकी छन् । बाख्रापालन गरेर पनि उनी एकताका निकै चर्चामा थिइन् ।

उनी अहिलेसम्म राजनीति शासनमुखी मात्र भएको तर सेवामुखी हुन नसकेको बताउँछिन् । राजनीति गर्ने व्यक्ति उत्पादनमा जोडिन सके भ्रष्टाचार न्यूनीकरण हुने उनी बताउँछिन् । उनले आफूलाई चाहिने खर्च आफैंले जोहो गर्ने गरेको समेत बताइन् । उनका पति केदार ढकाल बैङ्कका जागिरे छन् ।

मेचीनगरमै जन्मिएर यहीको माटोमा हुर्किएकी उनलाई नगरको समस्या र सम्भाव्यताका बारेमा राम्रोसँग ज्ञान छ । उनी मेचीनगर भौगोलिक रुपमा ठूलो भए पनि विकासमा धेरै पछि परेको बताउँछिन् ।

उनले यही ठाउँको विकासका लागि पनि आफ्नो मेयरमा दाबी रहेको बताउँदै भन्छिन्–‘मेरो उम्मेद्वारी आर्थिक समृद्धि र सुशासनका लागि हो ।’ केही दिनमै स्थानीय चुनावी प्रतिबद्धता बाहिर ल्याउने उनको योजना छ ।

नागरिकले विश्वासको मत दिएर विजयी गराएपछि आफुले केही वर्षमै नगरको विकासमा काँचुली फेर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

ठूला भनिएका दलका सम्भावित हेभिवेट उम्मेद्वारहरुसँग सहजै भिड्ने उनको सोचलाई चुनावी अभियानका क्रममा आम नागरिकले मन पराएको उनको दावी छ । ठूला दलका उम्मेद्वारहरुसँग खोक्रो आश्वासन मात्र भएको र नयाँ बैकल्पिक शक्तिको रुपमा उदाएको नयाँ शक्ति पार्टीका उम्मेद्वारहरुसँग ५, १० र २० वर्षभित्रमा समृद्धि हासिल गर्ने प्रष्ट मार्गचित्र रहेको उनी बताउँछिन् ।

पार्टी नयाँ र सङ्गठन भर्खर बन्दै गरेको अवस्था भए पनि मुलुकलाई विकास, निकास र आफ्नै पालामा समृद्धि दिने योजना भएका कारण नयाँ शक्तिले मतदाताको विश्वास जित्ने उनको जिकीर छ । मतदाताले यसपाली ठूला दलले सोच्दै नसोचेको परिणाम चखाइदिने उनको दावी छ ।
ठूला दलले महिलाको क्षमताको कदर गर्न नसकेको अवस्थामा अन्य पार्टीका मतदाताले पनि मेयर पदमा महिला उठेको भन्दै सघाउने बचन दिइरहेको उनको भनाई छ ।

मेचीनगर नगरपालिकाको नगर समन्वय समितिमा बसेर नगरपालिकाको कामको समेत अनुभव गरिसकेकी पनिताले नगरलाई ‘नमूना नगर’को रुपमा विकास गर्ने योजना बनाएको सुनाइन् । शिक्षा स्वास्थ्यसँगै यहाँका पर्यटकीय स्थलहरुको संरक्षण र सम्वर्धन गर्दै पर्यटकीय केन्द्र निर्माण गर्ने र पर्यटनलाई आर्थिक विकाससँग जोडेर समृद्ध र समुन्नत नगर निर्माण गर्ने, नगरलाई जोड्ने सडक निर्माण, ढल, स्वच्छ खानेपानी, सरसफाइ जस्ता विषयमा प्राथमिकता रहने पर्ने उनले सुनाइन् ।

भ्रष्टाचार शुन्यमा झार्ने र हाल बढाइएको एकीकृत सम्पत्तिकर घटाउने उनको योजना रहेको छ । महिलाले भ्रष्टाचार गर्र्दैनन् भन्ने आम विश्वास आफ्ना लागि चुनाव जित्ने बलियो आधार भएको उनलै दावी गरेकी छन् ।

उनले पछिल्लो समय ठूला दलले चुनावी गठबन्धनका कारण महिलालाई उपमेयरबाट समेत पन्छाउने गरेको बताउँदै यस्तो अवस्थामा आफुले विकल्पको रुपमा सबैको मत पाउने अपेक्षा गरेको सुनाइन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: