मेयरले मोवाइल किन्दा फेसबुकमा खल्बली

  प्रकाशित मिति
९ श्रावण २०७४, सोमबार १६:३१


jeevan shrestha
सरकारी कोषबाट मोबाइल किनेपछि भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ आफैले फेसबकुमा पोस्ट गरेको फोटो । जसमा मेयर एक युवासँग सेल्फीमा देखिएका छन् ।

भद्रपुर । भद्रपुर नगरपालिकाका नगर प्रमुख (मेयर) जीवनकुमार श्रेष्ठले नगरपालिकाको कोषबाट मोबाइल खरिद गरेपछि सामाजिक सञ्जालमा उनको तीब्र आलोचना भएको छ ।

तर मेयर श्रेष्ठले भने आजको सञ्चार युगमा मेयरले नयाँ मोवाइल वा ल्यापटप किनेर बोक्नु सामान्य भएको बताएका छन् ।

मेयर श्रेष्ठले शनिवार ‘नयाँ मोवाइल खरिद भयो आज’ भन्दै आफ्नै फेसबुक वालमा मोवाइल दोकानको फोटो पोस्ट गरेका थिए ।

प्रत्युत्तरमा फेसबुकबाटै मेयर श्रेष्ठलाई नगरवासी तथा शुभचिन्तकहरुले तीब्र आलोचना गरेका हुन् ।
मेयर श्रेष्ठले नगरपालिकाकै तर्फबाट २२ हजार ७ सय रुपैयाँमा सामसुङको सबैभन्दा नयाँ भर्सन ‘जे सेभेन प्राइम’ मोवाइल खरिद गरेको लोकतन्त्र पोस्टलाई बताए ।

g7
शुभचिन्तकहरुको प्रश्न–‘किनिहाल्नु पर्ने बाध्यता हो र ?’

उनले आफुले कुनै अपराध हुने गरी गल्ती नगरेको हुँदा फेसबुकमा आएका प्रतिक्रियाको केही जवाफ नदिएको समेत बताए ।
तर शुभचिन्तक तथा नगरवासीहरुले मेयर श्रेष्ठको मोवाइल मोह देखेर रुष्ट भएको जनाउ दिएका छन् ।

भद्रपुरकै नरेश सञ्जेल फेसबुकमा लेख्छन्–‘यही त हो प्रमुख हुनुको मजा, काठमाडौँमा आइफोन भद्रपुरमा जे सेभेन ।’
लोकनाथ भट्टराई बुइपालीले मोवाइल किन्ने काम नगरेको हुन्थ्यो भन्दै लेखेका छन्–‘नगरेको भा हुन्थ्यो कि हामीले नै ल्याउनु पर्ने !’

कृष्ण नेपाल लेख्छन्–‘व्यक्तिगत खरिद गर्नु भएको भए बधाइ, लामो समय नबिग्रियोस् चलोस्, सरकारी भए चैँ अहिले नै नकिन्दा राम्रो हुन्थ्यो दाइ ।’

गणेश बर्माले ‘अलि मिलेन दाइ’, प्रकाश कार्कीले ‘सबै वार्ड सभापतिलाई पनि हो ?’, जमुना न्यौपानेले ‘मोवाइलबाट सुरु भयो, साह्रै खुशी लाग्यो’, हरि कोइरालाले ‘जमात ठूलो छ त कतिवटा किन्नु भयो ?’ र विजय डालमियाले ‘ल बधाइ छ क्रान्तिकारी निर्णय’ भन्दै प्रतिक्रिया पोस्ट गरेका छन् ।

त्यसैगरी, गुरु प्रसादले ‘स्थानीय सरकारको खर्चमा कि आफ्नै जेबको खर्चमा हो त्यो पनि खुलाउनु भएको भा ताली या गाली गर्न हामी जस्ता सर्वसाधारणलाई सजिलो हुने थियो’ भनेका छन् ।

‘मेयर हुने वित्तिकै नयाँ फोन, मान्छेले के भन्छ होला’–शिव श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

चुनावमा प्रतिष्पर्धी रहेका शिव राजभण्डारीले फेसबुकबाटै सोधेका छन्–‘बधाइ छ, कति पर्यो ?’

कतिपय शुभचिन्तकहरुले मेयर श्रेष्ठलाई यस्तो जानकारी फेसबुकमा नराखेको भए राम्रो हुन्थ्यो भन्ने पनि सुझाव दिएका छन् ।

‘अलिक सस्तो जानकारी भयो कि ? अब हामी सार्वजनिक र सम्मानित भैसकेका छौँ’–विर्तामोडका मनोज उप्रेतीले लेखेका छन् ।

‘निर्वाचित हुनासाथ नयाँ मोवाइल किनिहाल्नु पर्ने बाध्यता परिहालेको हो र ?’, चन्द्रगढीका गोपाल भट्टराई फेसबुकमा लेख्छन्–‘मैले चाहिँ यति सानो कामको लागि बधाइ भनिन, शुभचिन्तकहरुमा नकारात्मक सोच नपरोस् है ।’

मेयर श्रेष्ठको यो कार्य साहित्यकार देवीचरण भण्डारीलाई पनि मन परेको रहेनछ । उनले लेखेका छन्–‘व्यक्तिगत आवश्यकता भएर व्यक्तिगत खर्चमा किनेको हो भने पनि यसरी जाबो एउटा मोवाइल किनेको खबर विकास निर्माणकै काम गरे जसरी सामाजिक सञ्जालमा राख्नु शायद मेयर पदको गरिमा महत्वलाई नबुझेर त हैन होला । सामाजिक सञ्जालमा के राख्न हुने, के नहुने निकै सोचेर राख्नु पर्ला कमरेड । तपाईको सामाजिक सञ्जालमा राखेका कुराले आम मतदाताको शिर झुक्ने काम किमार्थ नहोस् । यो सुझाव हो, आलोचन होइन । बाँकी तपाइँकै जिम्मा ।’

गोविन्द कोइरालाले अङ्ग्रेजीमा लेखेका छन्–‘वि डन्ट वन्ट लाइक सच स्टाटस एन्ड मेसेज फ्रम दी रेस्पेक्टेड पब्लिक फिगर इन सोसियल मिडिया इन फ्युचर !’
लता खरेल लेख्छिन्–‘सबैले ठूलो सोचेका र मानेका मानिसले सानोतिनो कुरा गर्न सुहाउला र ?’

व्यक्तिगत जीवनमा सादा र सरल स्वाभाव भएका मेयर श्रेष्ठले कसको सल्लाह र बहकाउमा आएर पहिला आफैलाई सुविधा थप्ने यस्तो निर्णय गरे, त्यसको पनि खोजी हुन थालेको छ ।

जबकि, नगरपालिकाबाट उनले पहिलो निर्णयको रुपमा सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउने भनेर लोकप्रियता बढाएका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७४ साउन ९ गते प्रकाशित)
…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: