झापा, १२ कार्तिक । कोरोना सङ्क्रमणको थप उपचारका लागि भारतको सिलिगुडीमा लगिएका मेचीनगर प्रमुख विमल आचार्यको छातीमा सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।
नगरपालिकाकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीका अनुसार मंगलवार साँझ सिलिगुडीको किन्स हस्पिटलमा भर्ना गरिएका आचार्यको डा. शेखर चक्रवर्तीको टिमले उपचार गरिरहेको छ ।
डा. चक्रवर्तीलाई उद्धृत गर्दै सल्लाहकार उप्रेतीले हिजो राति नै नर्मल परीक्षणहरु गरिएको तर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।
नगरप्रमुख आचार्यको पीसीआर टेस्ट र थप परीक्षणहरु आज गरिने भएको छ । हस्प्टिलको ३०५ नम्बर क्याबिनमा उनको उपचार भइरहेको छ ।
‘उहाँ निक्कै फ्रेस हुनुहुन्छ, स्वास्थ्य अवस्था पनि सामान्य छ,’ सल्लाहकार उप्रेतीले नगरप्रमुख आचार्यका भाइ सन्तोष आचार्यसँग भएको कुराकानी उल्लेख गर्दै भने–‘सबै ठिक छ, डाक्टरहरुले राम्रै रेखदेख गरिरहनु भएको छ, यही निको हुन्छ भनेका छन् ।’
सिलिगुडीबाट थप उपचारका लागि दिल्ली लैजाने भन्ने हल्ला असत्य रहेको सल्लाहकार उप्रेतीले बताएका छन् । उनले भने–‘दिल्ली लैजाने भन्ने कुरा अहिलेसम्म भएको छैन ।’