‘मेयरमा मन छ, पार्टी उपमेयरमा जाउ भन्छ’

  प्रकाशित मिति
२७ चैत्र २०७३, आईतवार ०८:०१


mahila neta 1काँकरभिट्टा । मेचीनगरका महिला नेतृहरुले मेयर पदमा उठ्ने इच्छा भए पनि आफुसम्बद्ध राजनीतिक दलले उपमेयरमा मात्र उम्मेद्वार बन्न दवाव दिएको भन्दै गुनासो गरेका छन् ।

रिडर्स झापाले शनिवार यहाँ आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा महिला सहभागिता’ विषयक वहस कार्यक्रममा महिला नेतृहरुले त्यस्तो साझा गुनासो व्यक्त गरेका हुन् ।

पुरुषलाई मात्र मेयरको प्रमुख पदमा पुर्याउने प्रयास भइरहेको, महिलालाई मेयरको उम्मेद्वार बन्न योग्य नदेखेको, दलहरुमा पितृसत्तात्मक सोच हावी रहेको र मिडियाले पनि महिलालाई अवसर दिलाउने कार्यमा यथेष्ट सहयोग पुर्याउन नसकेको महिला वक्ताहरुको गुनासो थियो ।

‘मैले त मेयरमै उठ्छु भन्दै आएकी थिएँ’, राप्रपाबाट उपमेयर पदमा उम्मेद्वार चयन भइसकेकी सबिना बजगाईले कार्यक्रमा बोल्ने क्रममा भनिन्–‘म काठमाडौँमा थिएँ, यता उपमेयरमा पो मेरो उम्मेद्वारी तय गरिएछ ।’

महिलाले मेयरको जिम्मेवारी सजिलै सम्हाल्न सक्ने बताउँदै राप्रपा नेतृ बजगाइँले मेचीनगरमा आफ्नो पार्टीले जनजाति समुदायको मागलाई सम्बोधन गर्दै अशोक सुब्बालाई मेयरमा उम्मेद्वार बनाएको जानकारी दिइन् ।

नेकपा माओबादी केन्द्रकी नेतृ इन्दिरा कार्की भण्डारीले आफु मेचीनगरको मेयर पदमा पार्टीको तर्फबाट उम्मेद्वार बन्न इच्छुक रहेको र सो कुरा पार्टीमा जानकारी गराइसकेको बताइन् ।

माओबादीकै सङ्घर्ष र एजेन्डाबाट आज सिंहदरवारको अधिकार गाउँ तहसम्म आएको उल्लेख गर्दै उनले महिलाहरु आफैले पनि हक नखोजेसम्म अरुले नदिने धारणा राखिन् ।

नेपाली काङ्ग्रेसकी नेतृ दुर्गा खतिवडाले महिलाहरु हरेक किसिमले मेयर बन्न सक्षम भइसकेको भए पनि दलहरुले उपमेयरको रुपमा मात्र भाग लगाइदिने गरेको गुनासो व्यक्त गरेकी छन् ।

दलहरुमा पुरुष नेतृत्व रहेको कारण महिलालाई पहिलो पदमा जान नदिएको उनको ठम्याई थियो । महिलालाई उपमेयरको उम्मेद्वारको रुपमा मात्र चर्चा गरिदिएको भन्दै उनले स्थानीय मिडियाप्रति पनि आपत्ति जनाइन् । ‘मिडियाले पनि मेयरको रुपमा चर्चा गरिदिएन’–उनले भनिन् ।
मेयरमा नामै चर्चामा नआएको र उपमेयरको उम्मेद्वार बन्ने अवसर पनि गुम्ला भनेर आफुले पार्टीको औपचारिक कार्यक्रममा उपमेयरको उम्मेद्वारको रुपमा प्रस्तुत हुन बाध्य हुनु परेको उनको गुनासो थियो ।

नेकपा एमाले र नयाँ शक्ति पार्टीका नेतृहरुले स्थानीय चुनावमा महिला उम्मेद्वारलाई मेयर र उपमेयर दुबै पदमा हराउने तिकडम हुन सक्नेतर्फ सचेत गराएका छन् ।

mahila neta‘विभिन्न दलहरुले भित्री साँठगाँठ गरेर महिला उम्मेद्वारहरुलाई उठाइदिने अनि हराइदिने गर्न सक्छन्’, नयाँ शक्ति पार्टीबाट मेयर पदको उम्मेद्वार दावी गरिरहेकी पनिता अधिकारीले कार्यक्रममा अरु दलका नेतृहरुलाई पनि आह्वान गर्दै भनिन्–‘तपाईहरु कसैले पनि खुट्टा कमाउन जरुरी छैन, सबै पार्टीबाट उपमेयरमा होयन, मेयरमै उम्मेद्वारी दिनु पर्छ ।’

एमाले नेतृ मीना उप्रेतीले महिलालाई मेयर पदमा स्थापित गर्ने सुनौलो अवसर आएको उल्लेख गर्दै सबै पार्टीबाट महिला नै उम्मेद्वार बन्न सके मेयर पदमा महिला निर्वाचित हुने बताइन् । तर पुरुष उम्मेद्वारहरु मिलेर महिलालाई हराउन सक्ने तर्फ सबै महिला चनाखो हुनु पर्ने उनको धारणा थियो ।

उप्रेतीले नेकपा एमालेमा आफुले मेयरकै टिकट पाउनु पर्ने दावी प्रस्तुत गरेको पनि उनले बताइन् । महिलालाई मेयरको टिकट दिन दलहरु उदार हुनु पर्ने उनको सुझाव थियो ।

महिलालाई स्थानीय निर्वाचनमा अगाडि बढाउन दलहरु सकारात्मक भए पनि महिला आफु पनि मुख्य पदमा आकांक्षी बन्न अग्रसर हुनु पर्ने नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलको सुझाव छ ।

‘दलहरुले दिदैनन् भन्ने पछि हट्ने होइन’, एमाले अध्यक्ष पोखरेलले कार्यक्रममा भने–‘महिलाहरुले पनि त मलाई मेयर चाहियो भनेर बोल्नु पर्यो नि ।’

Mahila-Teacherरिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेल, सचिव सौरभ मैनाली, सदस्य सागर शिवाकोटी, सदस्य हरि तिम्सिना लगायतले टिप्पणीमूलक धारणा व्यक्त गरेको सो कार्यक्रममा महिला नेतृहरु रेणुका डाँगी, सुमित्रा विमली, अर्पणा प्रसाई, कलाकार छितेन शेर्पा, पत्रकार ज्ञानेन्द्र निरौला र मोहन काजीले समेत धारणा व्यक्त गरेका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: